परिसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी रमेश खरेलले सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा अनुसन्धान सुरु गरिएको जानकारी दिए। अदालतले पहिलोपटक सिंहलाई चार दिन न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ।
'पावर सेन्टरमा कनेक्सन छ भन्दै धम्क्याएर गुन्डागर्दी शैलीमा पैसा उठाउने गरेको देखिन्छ,' खरेलले पत्रकार सम्मेलनमा भने, 'उनी धेरै आपराधिक गतिविधिमा संलग्न रहेको सूचना आएको छ, त्यसबारे विस्तृत अनुसन्धान भइरहेको छ।'
आर्थिक समस्यामा परेका व्यवसायी र सर्वसाधारणलाई प्रारम्भमा सस्तो दरमा ऋण दिएर पछि चक्रीय प्रणालीमा १ सय २० प्रतिशतसम्म ब्याज लगाउने र दिन आनाकानी गरे व्यक्तिगत सम्पत्ति नियन्त्रण गर्नेदेखि अपहरणसम्मै गरेर पैसा असुल्न सक्रिय रहेको भन्दै काठमाडौं प्रहरीको विशेष टोलीले सिंहलाई शुक्रबार कलंकीबाट पक्राउ गरेको थियो।
काठमाडौं परिसरका एसपी नारायणसिंह खड्काका अनुसार सिंहले प्रारम्भमा चर्को दरमा ऋण दिने र यातना दिएर भए पनि ब्याज असुल्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। सिंहले प्रायः हाउजिङ कम्पनीलाई रकम दिँदै आएको खड्काले जानकारी दिए।
प्रारम्भमा रकम दिँदा नै खाली चेकमा हस्ताक्षर गराएर राख्ने, ब्याजलाई सावाँमा जोडेर ब्याजको स्याजसमेत निकाल्ने, तोकेको समयभित्र पैसा नआए कब्जामा लिएर बन्धक बनाई घर, गाडीजस्ता व्यक्तिगत सम्पत्ति कब्जाका लागि कागज गराउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्।
प्रहरीले सिंह पक्राउ परेलगत्तै ललितपुरको भनिमण्डलस्थित उनको घरमा छापा मार्दा विभिन्न व्यक्तिले उनको नाममा काटिदिएको ३५ करोडको चेक फेला पारेको थियो। फेला परेका चेकमध्ये ११ वटामा हस्ताक्षर थियो तर रकम उल्लेख गरिएको थिएन।
प्रहरीले फेला पारेका अधिकांश चेक ओरियन्टल, कन्फर्टटेवल, रिलायवल डेभलपमेन्टलगायत हाउजिङ कम्पनीका छन्। व्यक्तिगत चेकको संख्या पनि उस्तै रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले सिंहको घरमा बा४च ४५३० नम्बरको गाडीसमेत फेला पारेको थियो। अनुसन्धानमा सो गाडी सिंहको नभएको खुलेपछि कुनै ऋणीसँग जबर्जस्ती लिएको आशंका प्रहरीले गरेको छ।
पत्रकार सम्मेलनमै सिंहले आफूसँग ऋण लिनेले ब्याज नदिएपछि उसैको उजुरीमा आफूलाई पक्राउ गरी अपहरण आरोप लगाएको दाबी गर्दै प्रहरीलाई आरोप प्रमाणित गर्न चुनौती दिए। 'मैले कसको कहाँ अपहरण गरें, प्रहरीले प्रमाणित गर्नुपर्छ,' उनले भने।
एकै घरमा सात हतियार
प्रहरीले शुक्रबार बेलुका सिंहको घरमा छापा मार्दा सातवटा हतियार फेला पारेको थियो। टुटु, बाह्र बोर र एयरगनसँगै प्रहरीले ९७ वटा कारतुस, ३९ वटा १२ बोरको गोली र चारवटा म्याग्जिनसमेत भेटेको थियो।
अनुसन्धान क्रममा सिंह र उनकी श्रीमतीको नाममा जिल्ला प्रशासन कार्यालय ललितपुर र काठमाडौंले ती हतियार राख्न इजाजत दिएको पाइएपछि प्रहरी अहिले 'शंकास्पद गतिविधिमा' नाम जोडिएका व्यक्तिले कसरी त्यत्रो संख्याको हतियार राख्ने अनुमति पाए भन्नेमा केन्द्रित बनेको छ।
हातहतियार तथा खरखजाना नियमावलीअनुसार एक व्यक्तिले तीनवटासम्म र सगोलमा एक घरमा ६ वटासम्म हतियार राख्न पाउने कानुनी प्रावधान छ। फेला परेका हतियारमध्ये तीनवटा उनकी श्रीमतीको नाममा र तीनवटा उनकै नाममा दर्ता भएको छ। एयरगनको अनुमतिपत्र फेला परेको छैन। कानुनअनुसार टुटु राख्ने अनुमति पाएकाले एयरगन राख्न पाउने कानुनी प्रावधानले समेत सिंहको घरमा फेला परेका हतियार अवैध पुष्टि हुँदैनन्।
प्रहरीले हतियारबारे अनुसन्धान जारी रहेको बताएको छ भने सिंहले आफूलाई मार्ने धम्की आएकाले सुरक्षाका लागि हतियार राखेको दाबी गरेका छन्। सिंहको घरबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले प्रतिबन्ध गरेका जरायोको सिङलगायत वन्यजन्तु अंगसमेत फेला परेकाले उनीविरुद्ध सो विषयमा समेत अनुसन्धान अगाडि बढाउने एसपी खड्काले जानकारी दिए।
प्रकाशित: २५ फाल्गुन २०७० २१:१८ आइतबार





