६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

जसले महिलालाई हतियार बोक्न सिकाइन्

नानी जन्माएकै दिन घाँसदाउरा खेप्ने आमाका कहर देखेरै उनी सानैदेखि समाज र राजनीतिप्रति जिज्ञासु बनिन्। कक्षा ६–७ सम्म पढ्दा उनमा राजनीतिक चेतना पैदा भइसकेको थियो।

रोल्पामा स्थानीय क्लबमा सक्रिय वर्षमान पुन, नवल घर्ती, गिरमान पुनले उनलाई नाचगानमा लगाए। ‘आमाले सुत्केरी हुँदा काम गरेको देखेर म आँटिली बनेँ', राजनीतिक यात्राको प्रारम्भिक पाइला स्मरण गर्छिन् संविधानसभा उपाध्यक्ष (उपसभामुख) ३९ वर्षीया ओनसरी घर्तीमगर।
२०४६ सालमा बालसंगठन मानिने अखिलको सहइकाइमा आबद्ध भएर राजनीतिक पाइला के उचालेकी थिइन्, त्यही वर्ष सार्वजनिक मुद्दा लाग्यो उनलाई। ‘मुद्दा लाग्यो, अरू साथी तारेख बुझ्न थाले, मैले अर्धभूमिगत भएर गाउँमा राजनीति थालेँ,' ती दिन सम्भि्कइन् उनले।
रोल्पा, जंककोटमा मादीचौरमा पढेलेखेका युवा कमै थिए त्यसताक। पढालिखा वर्षमान, गिरमान र नवलहरूबाटै उनी राजनीतिमा खारिइन। क्लब हुँदै २०४८ बाट तत्कालीन संयुक्त जनमोर्चाको कलाकार टोलीमा संलग्न भएर उनले अर्धभूमिगत राजनीतिक यात्रा तय गरिन्। २०४८ पछि पुनहरूसँगै वाइसिएलमा आबद्ध भइन्। २०५० सालतिर ४७ जनाको एउटा दस्ता बन्यो।
त्यही दस्ता थियो, २०५२ फागुन १ गते रोल्पाको होलरी प्रहरीचौकी हान्ने जसमा ओनसरी पनि थिइन्। त्यो दस्तामा तारा घर्ती र उनी मात्रै महिला थिए। कमान्डर थिए उनकै श्रीमान वर्षमान। एउटा थि्रनट थ्री, एउटा पेस्तोल, हाते बम र पेट्रोल बमका भरमा उनीहरू होलरी जाने तयारी गरे। दस्तालाई आदेश थियो– ‘महिलाले कासन (आक्रमण) नगर्ने। प्रहरीचौकीको झ्याल, ढोका ताकेर गोली, बम हान्ने नीति थियो। अचानक बैंकतर्फबाट बन्दुकसहितका गार्ड अघि बढेको देखिन्। ‘हामीले प्रहरीलाई हानेका हौं। बैंकलाई होइन, तिमी नआऊ भनेर चिच्याएँ। बाटोमा पेट्रोल बम हानेँ,' कमान्डरको आदेश उल्लघंन गर्दै आक्रमणमा होमिएको सम्भि्कइन् उनले। 
कासन गरेकै कारण समीक्षा बैठकमा उनको आलोचना भयो। ‘मेरो आलोचना भयो। अहिले गर्व लाग्छ, त्यसपछि गाउँका गाउँ महिला जनयुद्धमा लामबद्ध भए। मैले त्यो कासन नगरेको भए त्यति धेरै महिला छापामार हुने थिएनन्। पछि प्रहरी, सेनामा समेत महिलाको सहभागी उल्लेख्य गराउनुपर्यो।,' उनले सुनाइन्। 
‘जनयुद्ध' सुरु हुनु छ महिनाअघि मात्र उनको बिहे भएको थियो वर्षमानसँग। लगत्तै उनीहरूको कार्यक्षेत्र अलग्गियो। २०५५ मा ओनसरी गर्भवती बनिन्, तर आमालाई सम्झँदै डाँडा, भीरपखेरा गर्न छाडिनन्। पेटमा सात महिनाको छोरी हुँदा पाखापानीमा उनी प्रहरी घेरामा परिन्। ‘आधा घन्टा दौडिएँ। प्रहरी घेरा कस्दै आए। मलाई बचाउन आएका साथीहरुलाई इशारा गरेर अर्को बाटो लाग्न अह्राएँ। म मान्छे नहिँडेको बाटो लागेँ। अचानक ठूलो छाँगो आयो। फर्किउँ, प्रहरीले मारिहाल्छ। हामफालौं, बाँचिने हो–होइन। दोधारबीच हामफालेँ। तल बलौटे माटो र पातपतिङ्गर रहेछ, धन्न केही भएन,' उनले भनिन्। 
राति बल्लबल्ल गाउँ पुगिन्। ‘हामफालेको ११ दिनमा छोरी जन्मिई। गाउँलेले बचाए। त्यसको एक साता नबित्दै फेरि गाउँबाट प्रहरीले लखेट्यो', उनले युद्धका सम्झना सुनाइन्। 
युद्धकालमा उनले चार महिनासम्म श्रीमानको मुख देख्न पाइनन्। त्यसैले उनलाई श्रीमानको आडले राजनीतिमा सफलता कमाएको भन्नेहरुदेखि दुःख लाग्छ। ‘श्रीमानबाट राजनीतिक प्रेरणा पाएकी हुँ, यहाँसम्म आफ्नै क्षमताले। मसँग केही नभएको भए कसरी आउँथेँ र?,' उनले भनिन्। 
२०५२ मा एरिया सदस्य हुँदै २०५४ मा उनी रोल्पा–प्युठान जिल्ला सदस्य बनिन्। २०५७ सम्म रोल्पामै बसिन्। त्यतिबेला उनी क्षेत्रीय समिति सदस्य र महिला संघको केन्द्रीय सदस्य थिइन्, २०५७ को अन्त्यतिरबाट २०५९ सम्म दाङ इन्चार्ज बनिन्। २३ महिनाको छोरी गाउँमै छाडेर उनले जिल्ला छाडिन्। २०५९ मा दाङबाट पूर्वी क्षेत्र आइन्। बटालियन कमिसार बनेर उनले सिन्धुली, उदयपुर, खोटाङ, भोजपुर, सोलु र ओखलढुंगाको जिम्मेवारी सम्हालिन्। त्यही साल उनी केन्द्रीय सदस्य बनिन्। २०६० मा पूर्वी क्षेत्रको ‘सिलिचुङ' आधार क्षेत्र बनाइयो। सोलु, संखुवासभा, खोटाङ, भोजपुर, रामेछाप समेटिएको सिलिचुङको कमान्ड ओनसरीको हातमा आयो।
नेताहरु भारतमा पक्राउ परेपछि २०६१ मा काठमाडौं भ्याली खाली भयो।। उनी भ्याली आइन् र त्यही बेला रामेछाप इन्चार्ज बनिन्। २०६२/६३ मा उनी काभ्रे इन्चार्ज बनिन्। ‘१९ दिने जनआन्दोलनमा सबैभन्दा बढी मान्छे हामीले काभ्रेबाट पठायौं, स्याउला हातमा बोकाएर,' उनले भनिन्। शान्ति प्रक्रियामा आएलगत्तै उनी सिन्धुपाल्चोक इन्चार्ज हुँदै ललितपुरको इन्चार्ज सम्हालिन्।
अघिल्लो संविधानसभामा समानुपातिक सभासद बनेकी ओनसरी त्यसबेला युवा तथा खेलकुद मन्त्री बनेकी थिइन्। सशस्त्र युद्धको पहिलो दिन हतियार उठाएकी ओनसरी पछिल्लो सिन्धुपाल्चोक सदरमुकाम चौतरा आक्रमण (२०६३ वैशाख ९ गते) मा सहभागी एकमात्र महिला थिइन्।

प्रकाशित: २४ फाल्गुन २०७० ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App