महिलामाथि हुने चरम उत्पीडनले जयपुरी घर्तीलाई राजनीतिमा लाग्न उक्सायो। उनी जहाँ समस्या देख्थिन्, त्यसको समाधान राजनीतिले मात्र गर्न सक्छ भन्ने सोच्थिन्।पुरुषले पाँचवटीसम्म श्रीमती थुपार्थे, उनीहरुलाई कजाएर आफू मालिक बन्न खोज्थे।
घर–समाजका यस्ता व्यवहार देख्दा तीव्र असन्तुष्टि रहन्थ्यो उनमा। गरिबी र वर्गीय उत्पीडनले उनमा क्रान्तिको ज्वाला दन्काउँथ्यो। नन्दकिशोर पुन (पासाङ) ले सामाजिक विभेद र अत्याचारको जड पञ्चायती व्यवस्था हो भनेर बुझाउँदा जयपुरी स्कुले विद्यार्थी थिइन्। त्यो व्यवस्थाको जरो उखेल्ने अझियानमा सघाउन उनीहरु चन्दा उठाउँथे। उनका काका प्रधानपञ्च थिए, निर्दलीय व्यवस्थाका सारथि। पासाङहरु बहुदलको पक्षमा आन्दोलन हाँक्थे। प्रधानपञ्चकी भतिजी भए पनि जयपुरीलाई बहुदलीय राजनीति नै ठीक लाग्यो।२०४६ पछि उनी जनमोर्चामा लागिन्, त्यसपछि एकता केन्द्र। १० कक्षा पढ्दै गर्दा सार्वजनिक मुद्दा लाग्यो। त्यसपछि भूमिगत भएकी उनी २०५१ सालमा माओवादीमा लागिन्। उनलाई माओवादी जनयुद्धले किन आकर्षित गर्यो१ भने यो पार्टीले महिलालाई थिचोमिचोबाट अघि बढाउने नारा बोकेको थियो। ‘अलिअलि उत्पीडन त जनयुद्धकै क्रममा पनि झेलिएको हो। तर, समाजकै जस्तो जकडिएको भने थिएन,' उनी काखे बच्चा साथमा लिएर युद्धमा होमिएकी थिइन्।
दिन–रात, भीरपाखा, भोको पेट, जंगल, सुरक्षाकर्मीको घेरा जयपुरीको जीवनमा कति आए, कति। ‘तर, संघर्षको मैदानमा डटेरै लागिरहेँ। छोरी बोकेर युद्धमा हिँड्दा बरु पीडा भएको थिएन, त्यो संघर्षले ल्याएको उपलब्धि संविधानसभा विघटन हुँदा, प्रतिगमन हुँदा साह्रै पीडा भएको छ,' नेकपा–माओवादी नेतृ जयपुरी भन्छिन्।
आफ्नो दुःख संस्थागत हुन नसकेकोमा उनी गुनासो गर्छिन्।
जनयुद्धमा ब्युरो इन्चार्ज भएर काम गरेकी जयपुरी पार्टी खुला राजनीतिमा आएपछि सभासद भइन्, महिला संगठनको जिम्मेवारी लिइन्, दलीय सचेतक भइन् र एक महिना मन्त्री पनि बनिन्।
गुनासाबीच एउटा पक्षले भने उनलाई खुसी दिन्छ, ‘पहिला घरानिया महिला मात्र राजनीतिसँग जोडिन्थे। हाम्रो आन्दोलनले गाउँघरका निम्नवर्गीय महिलामा पनि राजनीतिक चेतना फैलाएको छ।'
प्रकाशित: २४ फाल्गुन २०७० ०३:४७ शनिबार





