७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

राजनीतिको चौबीसघन्टे ड्युटी

आरजु देउवाको राजनीतियात्रा कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग विवाहपछि सुरु भएको हो, २०५१ सालपछि। आमा राजनीतिज्ञ नै भए पनि विभिन्न संघसंस्थामार्फत सामाजिक काममा जुटेकी उनलाई त्यसअघि यतातिर उति चासो थिएन।‘राजनीतिक व्यक्तित्वसँग विवाह नगरेको भए सायद अन्य क्षेत्रमै हुन्थेँ,' आफैं स्विकार्छिन्। नेपाली नारीको परम्पराजन्य जिम्मेवारी पति–सहयोगलाई कर्तव्य ठान्दै विवाहपछिको मध्यावधि निर्वाचनमा पतिकै लागि निकै खटिन् उनी। सम्झन्छिन्, ‘सुदूरपश्चिमको भाषा बुझ्न निकै गाह्रो परेको थियो। सोसल वर्कमा छुट्टी लिन पाइन्थ्यो, राजनीतिमा त चौबीसै घन्टा खटेको खट्यै।' 
पार्टीभित्र अहिलेसम्म आफूले पदासक्ति नदेखाएको दाबी उनी गर्छिन्। राजनीतिबाहेक ‘सुरक्षित मातृत्व सञ्जाल महासंघ,' ‘ग्रामीण विकास तथा एकता केन्द्र' को नेतृत्व पनि डोहोर्यांइरहेकी छिन्। महिलाहिंसाविरुद्धको अभियान त २०४८ सालमै ‘साथी' संस्था स्थापनाबाट सुरु गरिसकेकी थिइन्। 
१९ वर्षदेखि कांग्रेसी राजनीतिमा सक्रिय उनी १५ वर्षदेखि महासमिति समिति सदस्य छिन्। २०६४ र २०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनिन्। संविधानसभाका राज्य पुनःसंरचना, राष्ट्रिय अनुसन्धान समितिमा काम गरेको अनुभव सँगालेकी छन्। 
राजनीतिमा महिलाको अवस्थाप्रति उनी सन्तुष्ट छैनन्। भन्छिन्, ‘सुधार गर्नुपर्ने ठाउँ छन्। पदभार, समितिमा भेदभाव हुन्छ। पुरुष जो पनि राम्रो, महिला कोही पनि सक्षम छैनन् भन्ने सोचाइ गलत छ।' 
नेतृत्वले देश, संरचना बुझ्न आवश्यक देख्छिन्, ‘राष्ट्र कसरी चल्छ? संविधानमा के लेखिनुपर्छ? सबैमा ध्यान दिनुपर्छ।' हरेक क्षेत्र समावेशी बनाउन सुझाउँछिन्। 
अहिले भने नेतापत्नी हुनुको सहजताले नभई आफ्नै क्षमताले राजनीतिक उचाइ निर्माण गरिरहेको बताउँछिन्। सम्भ्रान्त परिवारबाट राजनीतिमा प्रवेश गरेकी उनी। भन्छिन्, ‘हरेक क्षेत्रमा सबैले संघर्ष गर्नुपर्छ। जुन वर्गको प्रतिनिधित्व छ, त्यसलाई बुझ्न आवश्यक छ। धेरै नेताका श्रीमती छन्, सबै मजस्तै सक्रिय त छैनन् नि!'

प्रकाशित: २४ फाल्गुन २०७० ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App