७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

सडक संसद सञ्चालिका

२०२२ सालमा सिराहा, नवराजपुरमा जन्मेकी चित्रलेखा यादव अहिले शिक्षामन्त्री छिन्। २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेका बेला उनी उपसभामुख थिइन्। यादव खुलेरै राजाको कदमविरुद्ध उत्रिइन्। विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै उनी सडक आन्दोलनमा सक्रिय भइन्। २०६२ साल जेठ २० गते पाटन दरबार स्क्वायरभित्र उनको सहभागितामा भएको सांकेतिक विरोधले निकै चर्चा पाएको थियो।उपसभामुख यादवले सडकमै प्रतिनिधिसभा बैठक बोलाएर राजाको कदमको सांकेतिक विरोध गरेकी थिइन्। विघटित संसदका धेरै सदस्यले सडकमा उनलाई साथ दिएका थिए। 
कन्यामन्दिर जनकपुरमा ९ कक्षा पढ्दाताका उनी राजनीतिमा आकर्षित भएकी थिइन्। नेपाल विद्यार्थी संघका केही नेताले उनलाई संगठनमा आबद्ध हुन आग्रह गरेका थिए। सोही क्रममा लोकतान्त्रिक व्यवस्थासम्बन्धी पुस्तक उनको हात पर्यो । पञ्चायतकालमा खुला रूपमा यस्ता किताब पढ्न नपाइने भएकाले लुकीछिपी अध्यनन गरिन्। बिस्तारै नेपाल विद्यार्थी संघको बैठकमा उपस्थित हुन थालिन्। 
स्कुले जीवनमा सुरु भएको राजनीतिक सक्रियता कलेजमा पनि निरन्तर रह्यो। त्रिभुवन विश्वविद्यालयमा स्नातक पढ्दै गर्दा स्ववियु कोषाध्यक्ष बनिन्। 
स्नातकोत्तर सकेर फर्केपछि सिराहा क्याम्पसमा डेढ वर्ष अंग्रेजी विषय अध्यापन गरिन्। नेपाली कांग्रेस सिराहाको जिल्ला सदस्यका रूपमा राजनीतिक यात्रा पनि निरन्तर राखिन्। मधेसी समुदायकी महिलाको राजनीतिक सक्रियतालाई मूल्यांकन गर्दै पार्टीले २०५६ सालको आमचुनावमा उनलाई उम्मेदवार बनायो, जितिन् पनि। त्यसै बेला नेपाली कांग्रेसका तर्फबाट उपसभामुख भइन्। २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भएकी थिइन्।

प्रकाशित: २४ फाल्गुन २०७० ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App