गलकोट–घुम्टेलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न काठमान्डौं–घुम्टे साइकलयात्राको टोलीले सातौं दिनमा घुम्टेको टाकुरा चुम्यो। पर्यटन बोर्डको आँगनबाट घुम्टेसम्म यात्राको रोमान्चले मन त्यसैत्यसै घुम्टेका हिमालको चिसोमा पुगेर टाँसिन्छ। चौध जनाले छातिमा आँट जमाएकै हुन्। त्यति टाढासम्म साइकलका प्याडल घुमाउनु चानचुने कुरा थिएन।
प्राचीन समयमा राजा जितारी मल्लदेखि जतगबम मल्लको समयसम्म बागलुङको गलकोट चौबीसे राज्यमध्ये शक्तिशाली राज्यका रूपमा परिचित थियो। त्यसपछि राजा भरतबम मल्लको समयसम्म यो स्वतन्त्र राज्य थियो। पहिले गलकोट बागलुङको सदरमुकाम थियोे। विसं २०१९ पछि जिल्ला प्रशासनिक कार्यालय यहाँबाट हट्यो। त्यो विभाजनापछि गलकोट एउटा भेगमा सिमित बन्यो। २०४६ को परिर्वतनपछि गलकोट र घुम्टेलाई शासकहरुले तीन क्षेत्रका रुपमा विभाजन गरिदिए। यसपछि गलकोट क्षेत्र भूगोल र प्रशासनिक एकाइका हिसाबले फरक क्षेत्रसँग आबद्ध भयो। परिणामः यहाँका सम्भावना विभाजित भए।यस क्षेत्रलाई पुनः एकीकृत गर्नुपर्छ भनि गलकोट–घुम्टे पर्यटन विकास केन्द्र लागिपरेको छ। बागलुङ बजारदेखि दस कोस दक्षिण–पश्चिममा अवस्थित गलकोट ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक, धार्मिक र सामाजिक महत्वका साथै प्रकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ। यसको पर्यटकीय आकर्षण र प्राकृतिक बरदान भनेकै तीनवटा क्षेत्रको केन्द्रविन्दु घुम्टे पहाड (३,१२० मिटर) हो। घुम्टे पूर्वमा बिहुँ, काठेखोला दक्षिणमा सल्यान, सुखौरा, दुधिलाभाटी, नरेठाँटी, अमरभूमी, अर्गल, तारा, हरिचौर, हटिया, मल्म, पाण्डवखानी, उत्तरमा दरौखोला एवं पश्चिममा ढोरपाटनसम्म फैलिएको छ।
सूर्य घुम्टेको डाँडामै उदाउँछ। सूर्यको लालीले यहाँका रुख पाखा नुहाएझैं हुन्छन्। जाडो महिनामा लाग्ने मधुरो कुहिरोमै लुकेझैं लाग्छ घुम्टे। बादलको घुम्टोले यसलाई बेहुलीझैं शृङ्गारिदिएको हुन्छ। बादलको घुम्टोमै लुक्ने भएकाले यसलाई घुम्टे भनियो कि?
घुम्टेलाई पर्यटकीय केन्द्र बनाउन थुप्रै प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, सम्पदाका साथै जीवजन्तु, चरा तथा जडिबुटी छन्। वरपर मनाइने पर्वमा पाहुना रमाउन सक्छन्। घुम्टे क्षेत्रमा डाँफे, मुनाल, काँडेभ्याकुर लगायत सयौं थरि चरा, कस्तुरी, मृग, घोरल, चित्तल, थार, बाघ, भालु लगायत वन्यजन्तु पाइने स्थानीय बताउँछन्। हुक्केनली, गलकोटका डोका, नाङ्ला, सोली, भकारी भनेपछि यो क्षेत्र आफैंमा प्रख्यात छ। यसै क्षेत्रलाई गुराँस हबका रूपमा विकास गर्न केन्द्रले चैत २१ र २२ गते घुम्टेमा गुराँस महोत्सव गर्दैछ।
मुलुकमा चलेको दसवर्षे द्वन्द्वले पनि घुम्टे निस्सासियो। त्यसबेला सरकारी र माओवादीतर्फका दुई बन्दुकको चेपमा घुम्टे पर्योद। अहिले घुम्टे फर्किएको जवानी सबैलाई देखाउन आतुर छ।
घुम्टेको महत्व धार्मिक र पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ। घुम्टेमा प्राकृतिक दुई चुचुरा एवं मन्दिर छन्, जुन उत्तर फर्किएको मामा सिद्धको मन्दिर र दक्षिण फर्किएको भान्जा कालभैरबको मूर्ति हो। यिनै सिद्ध र भैरब पूजा गर्नाले मनोकामना पुरा हुने विश्वास छ। सिद्धभैरबप्रति आस्थाले गलकोटका प्राय गाउँमा वर्षको दुईपटक बालि र पानीको पूजा गर्ने चलन छ। प्रत्येक वर्ष वैशाख चण्डिपूर्णिमा एवं बुद्धपूर्णिको अघिल्लो दिन घुम्टेमा सिद्ध र भैरबको पुजा हुने स्थानीय डा. दिलबहादुर थापाले बताए।
घुम्टेको धुरीबाट पर्वत, कास्की, बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँचीका प्राय गाउँ प्रत्यक्ष अवलोकन गर्न सकिन्छ भने अन्नपूर्ण हिमशृङ्खला अर्न्तगतका १६ हिमाल हाम्रै स्वागतमा उभिएझैं लाग्छन्।
घुम्टे क्षेत्रमा सानो घुम्टे पनि छ। साथै सिद्धेश्वर गुफा, राम्चे ओढार, गोठथरी, बहुलाबाबाको आश्रम, भिसेनलौरी, दमाहा ढुङ्गा, नाउगेभीर, दहपानी, हात्तीसुँढे, हिउँका गल्छी, पहिराको सोतो, तलेगुफा, शालीग्राम पत्थर, गलकोट दरबार, हरिचौर बजार, गाइघाटको झरना, गाँजाको दह, गौंदी र दरमखोला, मजुवाफाँट, भुजुङ स्लेटखानी लगायत सम्पदा छन्।
घुम्टे गलकोट क्षेत्रको पहिचान गर्न राज्यले पनि कन्जुस्याईं गर्नुहुँदैन। गुराँस महोत्सवले गलकोटलाई विश्वसामु चिनाउने छ। अब गलकोटले विश्वसामु भन्नेछ– हाम्रा छातिमा पनि छन् राता गुराँस, सुनौलो घाम र न्यानो आँखै टाँसिने चित्ताकर्षक हरिया वन। दन्तेलहर लिएर हाँसिरहेका हिमाल। हिउँदमा प्राय हिउँ पर्ने र वर्षामा पनि हुस्सु र कुहिरो लाग्ने हुँदा फागुन–चैतदेखि मंसिरसम्म यस क्षेत्रको यात्रा गर्न सकिन्छ। तपाईं पनि आउने होइन त गलकोट?
कसरी पुग्ने?
काठमाडौं–पोखरा–बागलुङ हुँदै ४२० किमी बसयात्रामा गलकोट। मल्म, पाण्डवखानी, हिल र हरिचौरमध्ये कुनैपनि बाटोमा तीनघन्टा पदयात्रा गरे घुम्टे पुगिन्छ।
प्रकाशित: २३ फाल्गुन २०७० २१:३४ शुक्रबार





