वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक निर्माणमा स्वदेशमा नै उत्पादन हुने सिमेन्टलाई प्रवर्धन गर्दै आयातित अलकत्राको प्रयोग घटाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
उनले भने, “ दिगो विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी कच्चा पदार्थको प्रयोग अपरिहार्य छ। अलकत्राको विस्थापन गर्नु भनेको सिमेन्ट उद्योगको प्रवर्धन मात्र नभई देशको समग्र व्यापार घाटा न्यूनीकरण गर्नु हो।”
नेपाल सिमेन्ट उत्पादक सङ्घद्वारा आयोजित तथा आइपिटिएम नेपाल प्रालिको सहजीकरणमा आयोजित सडक पूर्वाधारको दिगो विकासलाई लक्षित गर्दै सडकका लागि कठोर पक्कीकरणको डिजाइन तथा निर्माण सम्बन्धी एकदिने तालिमको शुभारम्भ गर्दै उनले बागमती प्रदेश सरकार र सिमेन्ट उद्योगबीच सहकार्य गरी आगामी बजेटमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिने जानकारी दिए।
सिमेन्टको अधिकतम खपतका लागि पनि कालोपत्रे सडकको सट्टा कङ्क्रिट (ढलान) सडक निर्माणतर्फ जानुपर्ने उनको भनाइ थियो। नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघुनन्द मारुले हाल नेपालमा ९० प्रतिशतभन्दा बढी मालसामान तथा यात्रु ढुवानी सडक यातायात मार्फत हुँदै आएको अवस्थामा दिगो सडक पूर्वाधार विकास अत्यावश्यकता रहेको छ भने।
कालोपत्रे सडकको तुलनामा प्रारम्भिक लागत केही बढी भए पनि कङ्क्रिट पक्कीकरण दीर्घकालीन रूपमा कम मर्मतसम्भार खर्च, उच्च टिकाउपन र विश्वसनीयता हुने उनले बताए।
उनका अनुसार नेपालमा बर्सेनि रुपैयाँ ११ अर्बभन्दा बढीको विटुमिन आयात हुने गर्दछ। यसलाई प्रतिस्थापना गर्न स्वदेशी सिमेन्टमार्फत कङ्क्रिट सडक निर्माण आवश्यकता हुने जनाइएको छ।
कार्यक्रममा कङ्क्रिट सडक प्रविधिको महत्त्व,डिजाइन अवधारणा, प्रकार, छनोटका आधार, डिजाइन सिद्धान्त, संरचनात्मक तत्त्व, जोइन्ट तथा रिइनफोर्समेन्टको भूमिका र निर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। यसबाट नीति निर्माण, योजना, डिजाइन, सुपरिवेक्षण तथा निर्माणमा संलग्न प्राविधिक जनशक्ति लाभान्वित भएका जनाइएको छ।
कार्यक्रममा इन्जिनियर अर्जुनजङ्ग थापाले ‘कठोर पक्कीकरणको परिचय तथा नेपालमा यसको सान्दर्भिकता’ विषयमा प्रस्तुतीकरण गरेका थिए।
उनले नेपालको भौगोलिक बनावट, मौसमीय अवस्था, कमजोर सबग्रेड, बढ्दो सवारी चाप तथा भारी ढुवानीका कारण सडकको दिगोपनामा देखिएका चुनौतीहरू उल्लेख गर्दै कङ्क्रिट सडक दीर्घकालीन रूपमा भरपर्दो विकल्प भएको स्पष्ट पारे।
आइपिटिएम नेपालका कार्यकारी निर्देशक चुमनबाबु श्रेष्ठले तालिमको महत्त्वबारे जानकारी दिएका थिए।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–२ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, पूर्वाधार विकास योजना कार्यालय मकवानपुरका सुपरिटेन्डेन्ट इन्जिनियर दीपककुमार दास, नेपाल सिमेन्ट उत्पादक सङ्घका पूर्वअध्यक्ष ईश्वर थापा लगायत विभिन्न निकायका प्रतिनिधि तथा प्रदेशका प्राविधिकहरूको उपस्थिति थियो।
प्रकाशित: ७ माघ २०८२ १३:३४ बुधबार





