बांग्लादेशमा शेख हसिना नेतृत्वको सरकार अपदस्थ भएसँगै भारत र बांग्लादेशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ। बांग्लादेश फेब्रुअरी १२ मा नयाँ सरकार चयन गर्न मतदान गर्ने तयारीमा जुटिरहेको बेला भारतले महत्वपूर्ण कदम उठाएको छ।
निर्वाचनअघि भारत सरकारले ढाकास्थित आफ्नो उच्चायोग र अन्य मिसनका अधिकारीहरूका परिवारलाई भारत फिर्ता बोलाएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
भारत सरकारले दूतावासका अधिकारी र कर्मचारीका परिवारलाई फर्कन आग्रह गरेको हो। बांग्लादेशको वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको बताइएको छ। सुरक्षा चिन्ताका आधारमा उच्चायोग र अन्य भारतीय नियोगहरूमा तैनाथ अधिकारीका परिवारलाई भारत फर्कन भनिएको स्रोतहरूले बताएका छन्।
यद्यपि, यसले भारतीय उच्चायोग वा अन्य कुनै मिसनको काममा नकारात्मक असर पार्ने छैन। अधिकारीहरूले बांग्लादेशमा रहेका सबै भारतीय मिसनहरू सामान्य रूपमा खुला रहने र सञ्चालन भइरहने स्पष्ट पारेका छन्।
यो निर्णय बांग्लादेशमा संसदीय चुनाव नजिकिँदै गर्दा आएको छ। मतदान अगाडि अल्पसंख्यक हिन्दुविरुद्ध हिंसाका घटनाहरू बढेका छन्। चुनावमा भारत विरोधी बयानबाजी पनि लोकप्रिय छ।
हालै भारतको विदेश मन्त्रालयले हिंसात्मक घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता घटनामा द्रुत र कडा कारबाही आवश्यक रहेको भनेको थियो। जवाफमा बांग्लादेशको अन्तरिम सरकारले हालै अल्पसंख्यकहरूविरुद्धका घटनाहरूको तथ्यांक जारी गर्दै अधिकांश घटना साम्प्रदायिक नभई आपराधिक भएको दाबी गरेको थियो। भारतीय सञ्चारमाध्यमको सहयोगमा
प्रकाशित: ७ माघ २०८२ १३:३२ बुधबार





