हलेसीबाट फर्केर हामी (रञ्जन राजभण्डारी, गोपाल श्रेष्ठ र म) पनि २२ फागुनमा त्यहाँ पुग्यौं। जयरामघाटबाट सुनिल राईले हामीलाई बाटो देखाए। एक घन्टा उकालो चढेपछि डाँडाको थाप्लोमा बस्ती भेटियो। त्यहाँबाट अर्का गाइड थपिए, यामबहादुर मगर।
वस्तीबाट तेरपाय तेरपाय गुफा पुग्यौं। सुरुमा धुप बाल्नु पर्ने रहेछ। बाल्यौं। जुत्ता फुकालेर गुफामा पस्यौं। घन्टी बजाउनु पर्ने नियम रहेछ। बजायौं। अहो! कति धेरै देवता! गाइड भाइहरुले देवता चिनाउँदै गए, गणेश, पार्वती, कुमार, कृष्ण, किरातेश्वर, सातभैया, साइबाबा, जिम्बादेवी, सुमेरु पर्वत आदि।
जे सम्झेर हेर्यो, त्यस्तै लाग्दो रहेछ। शंख, कमलको फूल, साडी, गाइका थुन, नरिवल, हात्ती, दाहिने हात आदिका चिनाए भाइहरुले। सयौं आकृति। कतै खाली ठाउँ छैन। दुई तले घर जत्तिकै अग्लो गुफा। भुइँ, भित्ता, छत सबैतिर देवतै देवता। चुन ढुँगाबाट बनेका।
‘यहाँ ३३ कोटी देवता छन्', गुफाका पूजारी बेलबहादुर मगरले भने, ‘जिम्बादेवीलाई वर्सौंदेखि पुज्दै आएका छौं।' गुफा दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास छ। गुफामा उहिल्यै सात भाई झाँक्री बसेको कथा सुनाए उनले। गुफा मुन्तिर स्यानो गुफामा दुध कुण्ड छ। त्यहाँ डाडु राखिएको छ। हातले पानी झिक्न हुँदैन। डाडुले झिक्नु पर्छ रे। त्यहाँ सेल रोटी आकारको कला छ। त्यो चाहिँ सात भाई झाँक्रिको भान्छा घर।
जिम्बादेवीलाई चुरा, पोते र काइँयो चढाइएको थियो। किरातेश्वरलाई कपडाले बेरिएको थियो। हलेसी महादेवमा हामीले सन्तान मान्ने शीला हेरेका थियौं। यहाँ पनि त्यस्तै शीला रहेछ। ‘यो सन्तान माग्ने ठाउँ हो', मगर भाइ हाँसे, ‘भगवानसँग माग्नुस् इच्छा पुरा हुन्छ।'
गुफा चर्चामा आएको धेरै भएको छैन। अस्ती असारमा गाउँलेले तल्लो रिचुवालाई धार्मिक पर्यटन धाम बनाउन गंगा राईको अध्यक्षतामा किरातेश्वर झाँक्रीबाबा मन्दिर व्यबस्थापन समिति गठन गरेपछि प्रचार बढ्दैछ। साउनमा बोलबम यात्री पनि आइपुगे।
‘काठमाडौंदेखिका तिर्थालु आउँछन्', पूजारी बेलबहादुरले भने, ‘किरातेश्वरको दर्शनले पुण्य मिल्छ।'
गाउँमा राई र मगरका ३८ घर छन्। गाउँबाट गुफासम्म जाने गोरेटोलाई उनीहरुले भर्खरै घोडेटोमा रुपान्तरण गरेका छन्। ‘हामीले ६ दिन श्रमदान गरेर बाटो खन्यौंैं', उनले भने, ‘पहिले गोरेटो निकै अफठेरो थियो।'
गुफा क्षेत्रमा भैसे ओडार छ। त्यसको छुट्टै कथा छ। गुफा घुम्न पैसा तिर्नु पर्दैन। दान दिन सकिन्छ। गाउँमा कोही घुम्न आइपुगे समितिका प्रतिनिधिले सोलार बत्तिको उज्यालोमा घुमाइदिन्छन्।
गुफा सुनसान छ। ढुँगामा इनामेलले गुफा जाने बाटो संकेत गरिएको छ। किरातेश्वरमा राम नवमी, वाला चर्तुदशी, शिवरात्री, तिज, उभौली र उधौलीमा मेला लाग्छ।
दुःखको कुरा बाँदरे प्रबृत्तिका व्यक्तिले भित्र जथाभावी लेखेका छन्। कतिपय आकृति तोडमोड गरिएको छ। हलेसी यात्राको प्याकेजमै किरातेश्वर घुम्न सके राम्रो हुन्छ। गज्जबै छ गुफा। गाविस, जिविस र पर्यटन बोर्डले गाउँलेको होस्टेमा हैंसे गर्नु पर्छ।
गाउँमा खान/बस्न होटल, लज छैन। सहयात्री राजभण्डारीले गाउँमा होमस्टे गराउन सुझाब दिए। गुफा घुमेर जयरामघाटमै बस्न सकिन्छ। घाटमा खान/बस्न लज छन्। फर्कंदा मस्याङ, भट्मास, खुर्सानी, बदाम, गुन्द्रुक, मास आदि कोसेली ल्याउन सकिन्छ।
कसरी पुग्ने?
काठमाडौंबाट वनेपा–वर्दिवास सडकको खुर्कोट खण्डबाट मध्य पहाडी लोकमार्ग हुँदै घुर्मिबाट जयरामघाट पुग्न १८४ किमि। सडक कतै पक्कि, कतै कच्चि छ। काठमाडौंको चाबहिल र कोटेश्वरबाट जयरामघाटहुँदै हलेसी जाने बस र जिप छुट्छन्। घाटबाट गुफासम्म ४ किमि पदयात्रा।
प्रकाशित: २३ फाल्गुन २०७० २१:०५ शुक्रबार





