८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

ब्याजका नाममा रकम असुल्ने सिंह पक्राउ

काठमाडौं– चर्को ब्याजमा ऋण दिएर जबर्जस्ती असुल गर्ने विवादमा तानिँदै आएका महेशबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सिंहलाई कलंकीबाट पक्राउ गरेको हो।

शुक्रबारै सिंहको ललितपुरस्थित घरमा छापा मारेको प्रहरीले उनको नाममा लाइसेन्ससमेत रहेको छ थान हतियार बरामद गरेको छ। बरामद हतियारमा प्वाइन्ट टुटु अटो तीन थान, बार बोरको बन्दुक दुई थान र एउटा एयरगन छन्।
काठमाडौं र ललितपुर परिसरको संयुक्त प्रहरी टोलीले छापा हान्दा सिंहको घरबाट विभिन्न व्यक्तिका नाममा रहेको ३० करोड बराबरको चेकसमेत बरामद भएको छ। प्रहरीका अनुसार उनको घरमा पाँच थान जरायोको सिंग पनि भेटिएको छ।
काठमाडौं परिसरका प्रहरी नायब उपरीक्षक अर्जुन चन्दले जबर्जस्ती रकम असुल गर्ने, बढी ब्याजदरमा रकम लगानी गर्ने, धाकधम्की दिई लेनदेन कागज गराउने र नमाने अपहरणसमेत गर्ने कार्यमा संलग्न पीडितको सूचनाका आधारमा सिंहलाई अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिए। 
उनका अनुसार सिंहको घरमा अवैध हतियार र पैसा रहेको सूचनाका आधारमा छापा हान्दा उक्त परिमाणमा रकम तथा हतियार बरामद भएको हो। सिंहले क्यासिनो जाने लत लागेका, घरजग्गा र हाउजिङ व्यवसायी, बैंकका पदाधिकारी, फिल्म उद्योगी, होटल व्यवसायीलगायतलाई दिएको ऋणको चर्को ब्याज धम्क्याएर उठाउने गरेको भन्दै दुई वर्षअघि नै उनीविरुद्ध प्रहरीमा सूचना आएको थियो। त्यतिबेलादेखि नै प्रहरीले सिंहमाथि निगरानी बढाएको थियो।
कुनै निश्चित आर्थिक स्रोत नदेखिएका सिंहले ललितपुर जिल्ला अदालतमा पुगेको चेक बाउन्सको मुद्दामा कुल रकममात्र ३५ करोडभन्दा बढी रहेको देखिएपछि उनी विवादमा तानिएका थिए। सिंहमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि छानबिन थालेको थियो। विभाग स्रोतका अनुसार छानबिन टुंगिएको छैन।
अनुसन्धान अधिकारीका अनुसार सिंहले क्यासिनो जाने तथा आर्थिक मन्दीका कारण नगद अभावले आक्रान्त व्यवसायीलाई ऋण दिएर सय प्रतिशतसम्म ब्याज लिँदै आएका थिए। उनको चर्को ब्याजको मारमा परेका अधिकांश ऋणी विदेश पलायन भएका छन्।

प्रकाशित: २३ फाल्गुन २०७० १९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App