७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

गैंडाको चोरी शिकार शून्य

काठमाडौं- नेपालमा एक वर्ष अवधिमा देशभरका कुनै पनि वनजंगल, निकुञ्ज एवं आरक्षबाट गैंडाको शिकार तथा चोरी हुन पाएन। गत वर्षको फागनु ५ यताको अवधिमा चितवन लगायत कुनै पनि निकुञ्ज, आरक्ष र जिल्ला वन कार्यालयको क्षेत्र तथा समुदायद्वारा व्यवस्थापन गरिएका वनमा गैंडाको शून्य चोरी शिकार भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।विभागले गैंडाको शून्य चोरी शिकार ३ सय ६५ दिन एवं विश्व वन्यजन्तु दिवसको अवसरमा उक्त जानकारी दिएको हो। विभागले गैंडाको शून्य चोरी शिकार वर्षलाई 'जिरो पोचिङ ३६५ डेज' भनेर मनाएको छ। एक वर्ष अवधिभर गैंडा संरक्षण गर्न सफल भएको भन्दै मनाइएको दिवसमा विभागले यो अवधिमा पक्राउ गरिएका वन्यजन्तु तथा वन पैदावारको तथ्यांक सार्वजनिक गरेको छ।
विभागका अनुसार एक वर्ष अवधिमा बाघको हड्डी १ हजार २ सय ग्राम, गैंडा खाग २ थान, खुर १ थान, चितुवाको छाला ६ थान, रेडपान्डा छाला ११ थान, २ थान भरुवा बन्दुक, राइफल १ थान, गोली ४ थान लगायतका समान बरामद गरेको छ। 
हाल विश्वमा करिब ३२ सय संख्यामा रहेको एकसिंगे गैंडा नेपाल र भारतको सीमित निकुञ्ज, आरक्ष र वरिपरि क्षेत्रमा मात्र पाइने विभागले जनाएको छ। नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरंगा राष्ट्रिय निकुञ्ज गैंडाको मुख्य वासस्थान हो। विभागले गैंडा संरक्षणका लागि केन्द्रीय स्तरदेखि क्षेत्रीय स्तरका इकाइ खडा गरी कार्य अगाडि बढाइरहेको छ। सन् २०११ को गणना अनुसार नेपालमा गैंडा संख्या ५ सय ३४ छ।
दिवसका अवसरमा विभागले वन्यजन्तु तथा वन पैदावारसम्बन्धी चोरी शिकार, निकासी तथा अवैध व्यापारमा संलग्न ७ सयभन्दा बढी अभियुक्त पक्राउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, ०२९ अनुसार कानुनी दायरामा ल्याएको जनाएको छ। तर यस्ता अपराधमा रहेका ३ सय ५० भन्दा बढी फरारको सूचीमा रहेको विभागले तिनको खोजीकार्य तीव्र रुपमा भइरहेको जनाएको छ।
विभागका अनुसार वन्यजन्तुको अपराधसम्बन्धी सूचना र तथ्यांक विश्लेषण गर्दा काठमाडौं उपत्यका प्रमुख व्यापारिक केन्द्रका रुपमा छ। उपत्यकापछि धनगढी, नेपालगन्ज, नारायणगढ, हेटौंडा, पोखरा लगायत सहरी क्षेत्रमा पनि कारोबार हुने गरेको पाइएको छ।

प्रकाशित: १९ फाल्गुन २०७० २३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App