उनी पशुपति गुठीमै जन्मे। पशुपतिका मन्दिरहरूमा लुकामारी खेल्दै हुर्किए। बागमतीको पानीमा पौडी खेेले। त्यसैले उनी पशुपतिलाई चटक्कै छोडेर जान सक्दैनन्। 'यहाँको परिवेशको माया लाग्छ,' उनी टोलाउँदै भन्छन्, 'आफ्नो जन्मथलो छाड्न कसलाई मन लाग्छ र!'
गुठीलाई अहिले पशुपति विकास कोषले अधिग्रहण गरिसकेको छ। गुठीमार्फत उनी पनि पशुपतिसँग जोडिन आइपुगे। लाग्छ– उनी पनि यहीँको एक 'सम्पदा'जत्तिकै हुन्। 'मेरो घर–सम्पत्ति भन्नु नै यही हो,' सेवा केन्द्रका 'डाक्टर' भारती भन्छन्।
अस्पतालबाट रिफर गरिएका, अन्तिम अवस्थाका बिरामी आइपुग्ने आशाको केन्द्र हो यो ठाउँ। 'कति जना त निको भएर फर्केर पनि जान्छन्,' उनी भन्छन्, 'बिरामीको निःशुल्क उपचारका लागि अन्तिम अवस्थासम्म प्रयास गर्ने गरेका छौं।'
सानैदेखि उनको इच्छा थियो– भविष्यमा डाक्टर बन्ने। केटाकेटी हँुदै उनले साथीहरूसँग मिलेर 'असहाय कल्याण क्लब' खोलेका थिए। क्लबमा काम गर्दागर्दै उनमा मानवीय सेवाको भावना पलायो। बिस्तारै अभिभावकहरूको साथ पाए। क्लबमार्फत नै उनीहरू पशुपति क्षेत्र, अन्य सडकपेटीमा भेटिएका बिरामी र असहायका लागि उपचारको व्यवस्था गर्थे। विभिन्न हस्पिटलमा लगेर उपचार गराउँथे।
पहिले पशुपतिमा आर्यघाटमा बिरामी हेर्ने व्यवस्था राम्रो थिएन। घाटमा अन्तिम अवस्थाका बिरामी ल्याइन्थ्यो तर, उपचारमा कसैले चासो देखाउँदैनथे। क्लबमार्फत नै भारती र उनका साथी सेवामा जुट्थे।
आठ कक्षा पढ्दैगर्दा भारतीले आफ्नो भित्री इच्छा दबाइराख्न सकेनन्। 'पढाइले साथ दियो भने डाक्टर बन्छु, नभए पनि दक्ष स्वास्थ्यकर्मी'– फ्याट्टै यही कुरा सुनाए ओम हस्पिटलकी नर्सिङ निर्देशक धनदेवी भण्डारीलाई। पहिलेदेखि नै भारतीको सेवा र लगाव नियाल्दै आएकी भण्डारीले 'सिएसडब्लु' पढ्नको लागि स्कलरसिप मिलाइदिइन्। आठ पास गरेपछि नै उनले स्वास्थ क्षेत्रमा प्रवेश गर्ने मौका पाए। पछि सिएमए, हेल्थ असिस्टेन्ट पनि गरे। आइएससी सकेर डाक्टर पढ्नका लागि परीक्षा दिए तर यसमा भने उनी सफल हुन सकेनन्।
...
सानैदेखि पशुपति क्षेत्रमा कर्मशील बन्दै आएका भारती र सुवर्ण वैद्यको सक्रियतामा ०५४ सालको जेठदेखि 'पशुपतिनाथ आर्यघाट सेवा केन्द्र' सुरु भएको हो। केन्द्रमा भारतीसहित श्रीमती र छोराछोरी छन्।
पशुपति गुठी गोश्वाराले भवन, आनन्द थेरा फ्यामिली विथ फ्रेन्ड ट्रस्टबाट विभिन्न उपकरण दिएपछि भारतीलाई सजिलो भएको छ। खानेपानी, टेलिफोन र विद्युत पनि निःशुल्क पाएका छन्। 'यहाँबाट मैले एकसुका तलब लिएको छैन,' उनी भन्छन्, 'सेवा नै सबैभन्दा ठूलो धर्म हो।'
दरबार हत्याकाण्डका बेला तत्कालीन मन्त्री, प्रधानमन्त्रीसँग उनले नजिक हुने मौका पाएका थिए। मन्त्रीहरूको बस्ने र चिया खाने ठाउँ त्यहीँ भएको थियो। भारतीको सेवाभाव देखेर उनीहरूले आश्वासन दिन बिर्सिएका रहेनछन्, 'तिमी डाक्टर बन्नुपर्छ। हामी सहयोग गर्छौं।' तर त्यस्ता मन्त्री धेरै फेरिए, भारतीले पाएको आश्वासन आजसम्म पूरा हुन सकेको छैन।
एकपटक भारतका प्रोफेसर पशुपतिनाथको दर्शन गर्न आएका थिए। भारतीको काम र डकुमेन्ट सबैपछि उनले डाक्टरी पढ्ने व्यवस्था मिलाइदिए। यहीँ बसीबसी डाक्टर पढे। परीक्षा दिन गएमात्र पुग्ने। ती प्रोफेसरकै कारण उनले दुई वर्षअघि नेसनल युनिभर्सिटी अफ मेडिकल साइन्स कलकत्ताबाट एमबिबिएस पूरा गरे। अहिले उनी एमडीको लागि कोसिस गरिरहेको बताउँछन्। तर एमडी गर्नका लागि मान्यताप्राप्त हस्पिटलमा काम गरेको अनुभव चाहिन्छ। यसमा उनको गुनासो छ, 'यदि म अर्को हस्पिटलमा काम गर्न गएँ भने यहाँ कसले सेवाचाहिँ कसले गर्छ?'
उनले सेवा केन्द्रमा आएका हजारौं बिरामी हेरेका छन्। अहिले पनि उनीसँग पाँच हजारभन्दा धेरै 'केस स्टडी'का फाइल छन्। पुस महिनामा मात्र ४२ जना बिरामी दर्ता भएको रेकर्ड फाइलमा छ। तीमध्ये तीनजना निको भएर फर्केको उनी बताउँछन्। बेडमा रहेका छ जना बिरामी छन्। ती सबै फर्कने अवस्थामा रहेको उनले जानकारी दिए। हरेक प्रकृतिका बिरामी केन्द्रसम्म आइपुग्छन्। भारती उपचारमा खुसीसाथ जुट्छन्। कैयन् बिरामी निको भएर फर्केका छन्। स्वस्थ भए फर्किएका कहिलेकाहीँ चिनी र चियापत्ती बोकेर भेट्न आउँछन्।
सेवा केन्द्रमा अहिले २५ बेड छन्। हत्तपत्त उनले आएका बिरामीलाई फर्काउँदैनन्। चाहिएको बेला मध्यरात नभनी उनी बिरामीको छेउ पुगिहाल्छन्। उनीहरूलाई के चाहिएको छ ख्याल गर्छन्। भएसम्म चिनी, चियापत्ती, बिस्कुट बिरामीका लागि राखिदिन्छन्।
पहिले सेवा केन्द्रमा अन्य दुईजना सहयोगी पनि थिए। तर सेवाभन्दा 'मेवा' खोज्न थालेपछि उनीहरू टिक्न नसकेको उनी सुनाउँछन् ।
बाहिरबाट आउने बिरामीमात्र होइन, पशुपति क्षेत्रभित्र आइपर्ने आपतकालीन समस्या पनि उनीसँगै ठोक्किन आइपुग्छ। आर्यघाटमा आइलाग्ने अर्को समस्या लास जलाएपछि उड्ने धुवाँमा मिसिएका हड्डीका टुक्रा हुन्। लास जलिसकेपछि खरानीमा पानी हाल्दा उडेका स–साना हड्डीका टुक्रा कतिपय मलामीका आखाँमा बि‰ने भारती बताउँछन्। यसो भयो भने तुरुन्तै उपचारको आवश्यकता पर्छ। नभए आँखाको नानी नै गुम्न सक्छ।
बाहिरबाट आएका पर्यटकलाई फोटो खिच्ने क्रममा चोटपटक लाग्छ, बिरामी पर्छन्। उनीहरूलाई मल्हमपट्टी गर्ने पनि भारती नै हुन्। पशुपति क्षेत्रमा बाँदरको समस्या पनि उत्तिकै छ। कतिपय पर्यटक बाँदरले आक्रमणमा परिसकेका छन्। धेरै पहिले तीन दिनमै थुपै्र पर्यटकलाई बाँदरले दुःख दिएका थिए। 'पहिलो दिन ८४, दोस्रो दिन ४४ र तेस्रो दिन २५ जना पर्यटकलाई बाँदरले चिथोर्न भ्याएछन्,' उनले सुनाए। यस्ता समस्या त उनकहाँ आइरहन्छन्। घाइतेलाई तत्काल टिटानसको औषधि र कतिलाई टाँका नै लगाउनुपर्छ। कतिपयलाई हस्पिटल रिफर गर्नुपर्छ।
सेवा केन्द्रमा काम गर्न सजिलो होस् भनेर अन्य हस्पिटलको अनुभव पनि लिएका छन्। ओम हस्पिटलमा डेढ वर्ष, वीरमा सात महिना, टेकुमा दुई महिना र फ्रेन्ड्स अफ शान्त भवनमा पनि अनुभव लिने मौका पाएका छन्।
सभासद नवीन्द्रराज जोशीले दिएको वचनले उनलाई हौसला दिएको छ। 'अन्तिम अवस्थाका बिरामीको अध्ययनको राम्रो रिसर्च किताब निकाल्नुस्। यसलाई चाहिने सबै खर्च म बेहोर्छु,' जोशीले भनेको सुनाउँछन्, 'सायद मेरो काम उहाँलाई चित्त बुझेको छ होला।'
कति डाक्टर त फोन गरेर सोध्छन् रे, 'त्यो बिरामीलाई कसरी फर्काउनुभयो?' यस कुराले उनलाइै खुसी बनाएको छ। हौसला बढाउनेको साथ र सहयोगले उनमा 'म पनि केही गर्न सक्ने रहेछु' भन्ने भावना पलाउँछ रे।
प्रकाशित: १६ फाल्गुन २०७० २३:१६ शुक्रबार





