खड्काको प्रभाव त्यतिमात्र हैन, यसपाली नेपाली कांग्रेसको टिकट वितरणको प्रक्रियामा पनि शीर्ष नेताहरु पछि उनैको प्रभाव तथा हस्तक्षप रहेको बताइन्छ। त्यतिबेला उनी भ्रष्टाचारको अभियोगमा जेल सजाय काटिरहेका थिए। जेलभित्रबाट उनको हस्तक्षेपका बीच देशभरमा उनको प्रस्तावमा २२ जनाले प्रत्यक्षतर्फ टिकट पाएको कांग्रेस स्रोतले जनाएको छ। तर अहिले खड्का रहस्यमय ढंगले चुनावको प्रचार अभियानभन्दा बाहिर रहेका छन्। उनी कहाँ छन् भन्ने कुरासमेत सबैलाई जानकारी छैन। आफ्नो गृह जिल्लामा उनको हस्तक्षेपमा ३ जनाले टिकट पाए पनि उनी दाङमा अहिलेसम्म आएका छैनन्। उनी समर्थक कार्यकर्ताले 'अनुकूल मिलाएर आउनु हुने' जानकारी त दिन्छन् तर, कहिले आउने भन्न सकिरहेका छैनन्। आधिकारीक रुपमा पार्टीलाई पनि उनी दाङ आउने नआउनेबारे केही जानकारी छैन। 'सुरक्षाका कारणले उनी आउँछु भन्दा भन्दै पनि नआउनुभएको हो, बाहिरबाट गर्नुपर्ने भूमिकामा उहाँ कृयाशिल नै हुनुहुन्छ,' कांग्रेसका एक जिल्ला सदस्यले बताए। तर, कस्तो सुरक्षा 'थ्रेट' भन्नेबारे केही बताइएको छैन।
खुमबहादुर खड्का दाङमा नआउँदा कांग्रेसको प्रचार अभियानमा त निश्चितरुपमा असर परेको छ। उनी नआएको मौको उपयोग गर्दै उनकै निर्वाचन क्षेत्रका कांग्रेसका बागी उम्मेदवारले आफूलाई खड्काको समर्थन रहेको बताइरहेका छन्। उनको यो दाबीलाई आधिकारिकरुपमा कसैले खण्डन गर्न सकेका छैनन्।
खड्काको अनुपस्थितिमा कांग्रेस २०४८ को निर्वाचन यता पहिलो पटक निर्वाचन लड्दैछ। उनको अनुपस्थितिका कारण पार्टीको जिल्ला समितिले चुनाव केन्द्रीत कुनै कार्यक्रम बनाउन सकेको छैन। जिल्ला स्तरीय सभासमेत हुन सकेन। उम्मेदवारहरु र क्षेत्रीय समितिले बनाएका कार्यक्रम बाहेक जिल्लामा कांग्रेसको कुनै प्रचारात्मक कार्यक्रम हुन सकेको छैन। 'जिल्ला नेतृत्वले सामान्य रुपमा नेताहरुकाबीचमा सन्तुलन कायम गर्नेदेखि आर्थिक सहयोगका लागि चन्दा उठाइदिने काम समेत गरेको छैन,' एक उम्मेदवारले भने, 'त्यसका लागि पनि हामी आफैं खटिनुपरेको छ।'
खड्का रहस्यमय रुपमा दाङमा उपस्थित नहुँदा उनलाई नै राजनीतिक क्षति हुने कांग्रेस कार्यकर्ता बताउँछन्। 'सधैं उहाँकै नेतृत्वमा चुनाव लडेको हो, अहिले उहाँ नआए पनि आफ्नो सन्देश पठाइरहनुभएको छ,' कांग्रेसका जिल्ला सहसचिव सुरेन्द्र खड्काले भने, 'अहिले जुन लहर देखिएको छ, यसमा उहाँको भूमिका रहेको भए उहाँलाई नै राम्रो हुने थियो।' विश्लेषकहरुका अनुसार खड्का दाङ नआएको अवस्थामा पार्टीले जिते पनि हारे पनि उनलाई दुबै अवस्थामा क्षति हुनेछ। पुराना कांग्रेस नेता तथा खड्काले राजनीतिक गुरु ठान्ने नेमकान्त दाहालका अनुसार 'दाङमा कांग्रेसले चुनाव हारेमा खड्काले हस्तक्षेप गरेर टिकट वितरण गरेका कारण हारेको दोष उहाँलाई लाग्ने छ।' उनका अनुसार टिकट वितरण गर्दा हस्तक्षेप गर्ने तर, उम्मेदवारलाई जिताउन आफू नलाग्दा खड्काप्रतिको कार्यकर्ताको आशा र विश्वास तोडिन्छ जसले उनैलाई नै क्षति पुर्यावउनेछ।
खड्काको रहस्यमय अनुपस्थितिका बीच पनि कांग्रेसको जित भएमा त्यसले पनि खड्काको राजनीतिलाई फाइदा हुने देखिँदैन। 'उहाँको रहस्यमय अनुपसथितिका बीच कांग्रेसले विजयी हासिल गर्दा उहाँको भूमिका र प्रभाव दाङको विजयीका लागि अनिवार्य रहेनछ भन्ने कुरा स्पष्ट हुने भएकाले त्यसको क्षेती खड्कालाई नै हुनेछ,' पार्टी जिल्ला समितिका एक पदाधिकारीले भने।
खड्काको अनुपस्थितिका बीच चुनाव लड्दा कांग्रेस कार्यकर्तामा तुलनात्मक रुपमा आत्मवलमा कमि आएको पक्कै छ। तर पार्टीले यस पटक दाङमा हार्दा त्यसको दोष उनलाई नै जाने र जित्दा उनको भूमिका बिना पनि कांग्रेस विजय हुने सन्देश जाने भएकाले कांग्रेसको जयमा पनि र पराजयमा पनि खड्कालाई क्षति पुग्ने देखिएको छ।
प्रकाशित: २५ कार्तिक २०७० ०२:०५ सोमबार





