२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

आयुमा जीवन थप्ने चाड

तिहारलाई हामी यमपञ्चक भन्छौं । कात्तिक कृष्ण त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनको यो पञ्चक पर्व काग तिहारबाट प्रारम्भ भएर कुकुर तिहार, गाई तिहार (लक्ष्मी पूजा), गोरु तिहार ( गोवद्र्धन पूजा) एवं म्ह पूजा–आत्म पूजा र पाँचौं दिनमा भाइटीकासँगै सम्पन्न हुन्छ । यो पर्वमा यमराज अर्थात् धर्मराजको अधिक चर्चा हुन्छ । मत्र्यलोक उपरान्तको यमलोक यात्राका बारेका सोच्ने काम हुन्छ । त्यसैले यमराजको सन्देश लिएर आउने पन्छी कागलाई हामी पूजा गर्छाैं, यमपञ्चकको पहिलो दिन । समुद्र मन्थनबाट निस्केको अमृतको घडामा चुच्चो डुबाएर आएको हुनाले काग अजम्बर हुन्छ भनिन्छ । कागले आफ्नो पुछेको घाँस दूबो पनि त्यस्तै अजम्बरी वनस्पति हो भनिन्छ।

पौराणिक मान्यताले जे जस्तो विश्वास स्थापित गराएको भए तापनि काग दीर्घायु हुन्छ । रोगले ग्रस्त वा वृद्धावस्थाले अशक्त काग हामी देख्दैनौं । मानौं कागलाई बूढो हुने वा बिरामी हुने फुर्सदै हुँदैन । कागलाई सधैं चिल्लो र चनाखो देखिन्छ । कागहरू आफ्नै समाजमा बस्छन् र सामाजिक सहयोगका अद्भूत उदाहरण प्रस्तुत गर्छन् । उनीहरू आपसमा झगडा गर्दैनन् । कुनै एउटा बच्चो काग रूखबाट झरेर असुरक्षित ठाउँमा पर्न गयो भने सयौं काग मिलेर त्यसको उद्धारमा जुट्छन् । एउटा मरेको काग छ भने त्यसलाई सयौंले घेरेर आलाप–विलाप गर्छन् । काग गाउँ–बस्ती र सहरमा मानिसकै नजिक बस्छन् तर मानिससँग रत्तिँदैनन् । कागलाई रत्याउन सकिन्न । त्यसले मान्छेको व्यक्तित्व चिन्छ तर मान्छेलाई विश्वास गर्दैन । कागलाई शंका लाग्छ– मान्छे विश्वासघाती प्राणी हो भनेर । गाउँघरमा नौलो मान्छे आयो भने त्यसको जनाउ कागले दिन्छ । काग करायो भने पाहुना आइपुग्छ । बारी–बगैंचामा सर्प, बिरालो वा अरू हिंस्रक प्राणी देखियो भने काग कराउन थाल्छ । भुइँचालोको धक्का हामीले भन्दा पहिले कागले चाल पाउँछ र हल्ला गर्छ । वस्तुतः काग सन्देशवाहक पन्छी हो । यमराजको सन्देश पनि यसैले ल्याउँछ भन्ने विश्वास गरिन्छ । राम्रो सन्देश ल्याओस् भनेर तिनको पूजा हुन्छ । र, काग तिहार मनाएपछि अरू तिहारतिर उन्मुख हुन्छौं– लामो आयुको अनुभूत गरेर ।

यमपञ्चकको दोस्रो दिन यमराजको द्वारपाल मानिने कुकुरको पूजा गर्छौं । कुकुरको इमान्दारीबारे प्रशस्त कथा पाइन्छ । पाँच पाण्डव स्वर्गको यात्रामा लाग्दा उनीहरूलाई कुकुरले साथ दिएको प्रसंग पनि यमलोकसँग सम्बन्ध भएर आउँछ । मानिसको सबभन्दा इमान्दार मित्र कुकुर हो । मानव सम्यताको १० हजार वर्ष पुरानो इतिहासमा कुकुरको साथ–सेवा घनिष्ट र घनिभूत हुँदै आएको छ । घरको रक्षा गर्ने, गोठालालाई साथ दिने, सिकारीको सहयोग गर्नेदेखि सुराकी र अपराध नियन्त्रण गर्ने काममा समेत कुकुरको भूमिका छ । त्यसैले यो पूजनीय प्राणी हो र नेपालीहरु तिनलाई पूजा गरेर कुकुर तिहार मनाउँदछन् । यो एक दिनको माया हैन । कुकुर र मानिसको माया अघात हुन्छ । वृद्धावस्थाको एक्लोपनमा माया साटासाट गर्न काखैमा कुकुर हुर्काउनेहरूको कमी छैन धनिमानी समाजमा । अपांगता भएकालाई साथ दिने काममा पनि कुकुरको उपयोगिता बढ्दो छ । त्यसको अतिरिक्त अधिक हृदयगति हुने तथा उच्च रक्तचाप भएकाहरू पनि कुकुरसँग माया गरेर, मन बहलाएर आफ्नो व्यथा कम गर्ने गर्छन् । यो पूजनीय प्राणीलाई आजै पूजा गरौं ।

पञ्चकको तेस्रो दिन बिहान गाईको पूजाआराधना गरेर साँझमा लक्ष्मीको पूजा हुन्छ । हिन्दु धर्मालम्बी गाईलाई आमा मान्छन् । गाईको दूधमात्र होइन गौमुत्र र गोबरलाई पनि पवित्र कार्यमा प्रयोग गरिन्छ । गोबध सबैभन्दा ठूलो पाप मानिन्छ । गाई तिहारपछि लगत्तै अर्को दिन गोवद्र्धन पूजा हुन्छ । कृषिप्रधान देश भएकाले गाई र गोरु हाम्रो अर्थ व्यवस्थाको अभिन्न अंगका रूपमा देखा पर्छन् । आजभोलि कृत्रिम रसायनले कृषिमा ल्याएको विकृतिलाई सुधार्न गोबरको महŒव पुनः स्थापित हुने क्रम बढेको छ । अर्गानिक उत्पादनले बजारको आकर्षण थप्दै लगेको छ । स्वस्थ कृषिमा गाई र गोबरको विशेष भूमिकालाई सराहना गर्दै परलोक अर्थात् यमलोक यात्रामा वैतरणी तर्नुपर्दा गाईबाट पाउनुपर्ने सेवाका लागि समेत यसको विशेष पूजा गरिन्छ । मत्र्यलोक र यमलोक दुवैमा हाम्रो कल्याण गर्ने प्राणीको पूजा आराधनाको चाड हो तिहार ।

कात्तिकको यो औंसीले अँध्यारोको गहिराइ बोकेर ल्याउँछ । चन्द्रमाविनाको अँध्यारो आकाशमा तारागण विशेष चहकिला हुन्छन् । तिनकै प्रतिस्पर्धाका पृथ्वीतलका मानिसहरू दीपावली गर्छन्, घरघरमा बत्ती बालेर । धनधान्यकी देवी लक्ष्मीको पूजा हुन्छ । कृषि बालीलाई रातमा पहरा दिने लाटोकोसेरोलाई लक्ष्मीको वाहन भनिन्छ । लक्ष्मी पूजामा तिनको पनि पूजा हुन्छ ।

दीपावलीको रातपछि कात्तिक शुक्ल प्रतिपदाको बिहानी नेपाल संवतको नयाँ वर्ष लिएर सूर्य उदाउँछ । यो वर्ष नेपाल संवत ११३४ को प्रारम्भ हुन्छ । र, नेपालका नेवार समुदायले नयाँ वर्ष 'न्हु दँ' को शुभकामना 'भिन्तुना' सबै नेपालीसँग साटासाट गर्छन् । त्यसदिन नेवारहरू आफ्नो शरीरको पूजा गर्छन् देवता मानेर । शरीरलाई 'म्ह' भनिन्छ । म्ह पूजा शरीर पूजा भनिए तापनि त्यहाँ आत्मतŒवको सम्पूर्णतातिर अभिमुख भएर पूजाआजा गरिन्छ । मानव शरीरलाई पूजा गर्ने यो परम्पराको सार्थकतालाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो 'यात्री' कवितामा उजागर गरिदिएका छन्, यसरी ः

हाडहरूका सुन्दर खम्बा

मांसपिण्डका दिवार

मस्तिष्कको यो सुनको छाना

इन्द्रीयहरूका द्वार

नसा नदीका तरल तरंग

मन्दिर आफू अपार

कुन मन्दिरमा जान्छौ यात्री

कुन मन्दिरको द्वार ?

शरीर र आत्मालाई स्वस्थ बनाइसकेपछि पञ्चकको अन्तिम दिन भाइटीका अर्थात् भाइतिहार मनाइन्छ । दाजुभाइलाई दिदीबहिनीहरुले दीर्घायु र सुस्वास्थको कामना गर्दै वैदिक परम्पराअनुसार यो अनुष्ठान सम्पन्न गरिन्छ । मूलतः हिन्दु धर्मालम्बीहरूको चाड भए तापनि यस अनुष्ठानभित्र सबै धर्म र जातजाति अँटेका हुन्छन् । दाजुभाइ र दिदीबहिनीको आत्मीय सम्बन्ध नै यसको मूल कडी हो । जन्मले मात्र होइन कर्मले पनि त्योे सम्बन्ध स्थापना हुन्छ भन्ने यस पूजाको मूल सन्देश हो । हुन पनि काष्ठमण्डपको मन्दिरमा एक नेवार चेली अञ्जली मास्केले केही वर्षदेखि चलाएको भाइटीका पूजामा नेपालका विभिन्न जातजातिका मानिस टीका थाप्छन् । नेपाली चेलीको टीका थाप्ने रहर विदेशी पर्यटकमा पनि बस्न थालेको छ ।

दाजुभाइको दीर्घायुको कामनामा गरिने यो पूजामा दीर्घायु वनस्पति तथा फलफूलको प्रयोग हुन्छ । पूजाका लागि तयार गरिने मण्डपमा तोरीको तेलको एक चक्र हुनछ । तेलको उक्त मण्डप सुकेर जाँदैन । दीर्घायुकालसम्म रहन्छ भन्ने मान्यता त्यसले बोकेको हुन्छ । गलामा मखमली फूलको माला पहिराइदिन्छ । मखमली अरू फूलझैं झर्दैन । ओइलाउँदैन । यसको आयु लामो हुन्छ । त्यस्तै लामो आयुवरण गर्ने फल ओखर र बिमिरा नभई नहुने फल हुन् । पूजा विधिमा यमराजलाई पनि छुट्टै पूजा गरिन्छ । त्यस विधिमा यमराजलाई नुन खुवाएर वाचा गराइन्छ कि, मखमली फूल नओइलाएसम्म, ओखर आफंै नफुटेसम्म, तेलको मण्डप नसुकेसम्म यमदूतलाई भाइ छेउ पठाउने छैन भनेर । यमराजलाई पनि नुनको साझो गर्नेपर्ने हुन्छ । र, काल आइसकेको भाइलाई पनि छोडेर जान कर लाग्छ ।

पञ्चकको पहिलो दिन काग तिहारकै बेला आयुर्वेद शास्त्रका प्रर्वतक धन्वन्तरीको जन्म जयन्ती पनि मनाइन्छ । आयुर्वेद त्यो विधा हो जसले मानिसको जीवनमा आयु थप्ने मात्र हैन मानिसको आयुमा जीवन थप्ने काम समेत गर्दछ । शरदकालीन स्वस्थ वातावरणमा नयाँ वर्षको आगमन हुन्छ । पञ्चकको पाँचैदिन एकातिर दीर्घायुको कामना हुन्छ भने अर्कातिर हर्ष र उल्लासले आयुमा जीवन पनि थप्छ ।

प्रकाशित: १५ कार्तिक २०७० २२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App