१९ श्रावण २०७७ सोमबार
अन्य

आशामा बाँच्नुपर्छ युवा वर्ग

युवामत

राजन बस्नेत

विश्वका हरेक परिवर्तनमा युवाको महत्वपूर्ण योगदान हुन्छ । राज्यको उदयसँगै राष्ट्र निर्माण तथा समाजको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पनि युवाको भूमिका सधैं अग्रणी रहँदै आएको छ । युवा नै परिवर्तनका वाहक हुन् र समाजलाई नेतृत्व दिने शक्ति हुन् । नेपालमा सानाठूला सबै आन्दोलनमा युवाको महत्वपूर्ण भूमिका  रहँदै आएको छ । राणा शासन कालको अन्त्य गर्दा होस् या २०४६ र २०६३ सालको जनआन्दोलनमा युवाको महत्वपूर्ण सहभागिता थियो । २००७ साल र २०४६ सालको आन्दोलनबाट परिवर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक परिवर्तन संस्थागत हुन नसक्दा आज नेपालको विकासको गति सुस्त छ ।

हामीसँगै राजनीतिक परिवर्तन भएका चीन र भारत तीव्र गतिमा आर्थिक र सामाजिक विकासतिर लम्किदाँ हामी भने कछुवा गतिमा पनि हिँड्न सकेका छैनौं । २००७ सालदेखि अहिलेसम्मका परिवर्तनको मसिनो ढंगले अनुसन्धान र विश्लेषण गर्ने हो भने युवाको विगत जति कष्टप्रद थियो वर्तमान पनि उत्तिकै निसासिँदो र भविष्य झनै अन्योलग्रस्त रहने अशुभ संकेत देखापरेका छन् । विगतमा हामीले उठाएका मुद्धा, माग, नारा र योजना ठीक थिए कि थिएनन् भनेर समीक्षा गर्ने जिम्मेवारी हामी युवाको काँधमा आएको छ ।

देश आज निकै जटिल र असहज परिस्थितिबाट गुज्रिरहेको बेलामा हामी युवा चिन्तित र निराश हुनु स्वाभाविकै हो । एकातिर भूकम्पले ध्वस्त संरचनाको पुनःनिर्माण अपेक्षित ढंगले अघि बढ्न नसकेको अवस्था र कोरोना महामारीले विश्वलाई  आक्रन्त पारिरहेको बेला देशले नयाँ संविधान पाए पनि राजनीतिक अस्थिरताका कारण जनजीवन कष्टकर बन्न पुगेको छ । यस्तो अप्ठेरो परिस्थितिमा पनि यहाँका युवाले संगठित तवरबाट पुनःनिर्माणमा मात्र नभई सामाजिक, आर्थिक र सांस्कृतिक संरचनाको पुनःनिर्माणमा स्थानीय तहदेखि केन्द्रीय तहसम्म ज्ञान निर्माण र नीतिगत सुधारका लागि गरेका गतिविधि प्रशंसनीय छ । नेपाली समाज शताब्दीयौंदेखि आपसी सद्भाव र एकतामा अडिएको समाज हो ।

यस जटिल अवस्थामा हामी आफ्ना व्यक्तिगत समस्याबाट माथि उठेर एक आपसमा सद्भाव राख्दैं देश निर्माणमा लाग्नु आजको आवश्यकता हो । आपसी सद्भावको यही भावलाई आत्मसात् गर्दै तथा सीमित स्रोतको अधिकतम प्रयोग गरी देश विकासमा लाग्नु आजका युवाको जिम्मेवारी हो । युवा देशका कर्णधार हुन् तर देशको अन्योलपूर्ण परिस्थितिले गर्दा आज नेपाल लगभग युवाशून्य देश बन्दै छ । युवाको मनस्थितिमा विदेसिनुबाहेकको कुनै विकल्प र सिर्जनशीलता देखिँदैन  । यस्तो स्थितिबाट मुक्ति दिलाउन र देशको समग्र विकासको निम्ति राजनीतिक दलका युवा लागि नपर्दासम्म केही हुँदैन । युवाले चाहे भने जस्तोसुकै परिवर्तन पनि सम्भव छ ।

लोकतन्त्रको स्थापना र यसको विकासको निम्ति राजनीतिक चेतना र संस्कार अपरिहार्य हुन्छ । यसैले राजनीतिक पार्टीका युवा यसका लागि सबैभन्दा बढी उपयोगी हुनसक्छन् । तर आज निष्ठाको राजनीति गर्न चाहने युवा पार्टीभित्रको गुट र उपगुटको शिकार भइराखेका छन् । यसले गर्दा धेरै युवामा नैराश्य उत्पन्न भएको छ । यसैले पनि हो बर्सेनि लाखौं युवाको विदेश पलायन हुने गरेको ।

राजनीतिक रूपले देशलाई बाटो देखाउने विचार र सिद्धान्त कृष्णप्रसाद, गणेशमान, वीपी र पुष्पलालले नेपाल र नेपालीलाई दिएर गएका हुन् । मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरेका हुन् । यी नेताले हामीलाई छाडेर गएका सिद्धान्तलाई हामी युवाहरूले भित्रैदेखि बुझ्न जरुरी छ ।

पुराना सोच र दिमागबाट नयाँ नेपालको परिकल्पना गर्न सकिँदैन । चाहेर होस् या नचाहेर अब नेपाली युवाको काँधमा जिम्मेवारी आउदैँछ र त्यो केही युवा नेताले कुनै न कुनै रूपमा बहन गरिसकेका छन् । समयसँगै युवा पनि बदलिनुपर्छ र आफूसँगै देशलाई पनि बदल्नुपर्छ । आर्थिक क्रान्तिको दिशामा मुलुकलाई लैजान विकासका निमित्त सर्वत्र दबाब सिर्जना गर्नुपर्छ । युवा समूह अन्य उमेर समूहभन्दा चेतनशील र उर्जावान् हुन्छ । तसर्थ आफ्नो तन, मन, वचन र कर्मले राष्ट्रिय विकासका निमित्त युवा लाग्न जरुरी छ । तब मात्र हामी सुन्दर भविष्यको कल्पना गर्न सक्छौं ।

नत्र अब पनि प्रत्येक दिन भोको पेट लिएर दैनिक १५ सयका दरले रोजगारीको खोजीमा युवा पलायन भइरहने हो र तिनलाई स्वदेशमै काम दिन सकिएन भने नेपालको नियति गरीब देशको नाममा भिख मागेर बस्नुबाहेक अरू हुने छैन । विश्वमा आफ्नो अस्तित्वको पुरानो र लामो इतिहास बोक्ने राष्ट्रहरूमध्येको एक हो नेपाल । लगभग ५ हजार वर्ष पुरानो सामरिक इतिहास बोकेको र विश्वलाई नै कुनै समय कला र सभ्यताको पाठ सिकाएको राष्ट्रले नेपाल आज पनि विकासका सपनाहरू बुनेर समृद्धिको बाटो कुरेर बस्न बाध्य छ ।

अथाह स्रोत साधन हुँदाहुँदै पनि हाम्रो समृद्धिको सपना पूरा हुन सकेन जबकि विश्व समुदायमा हामीसँगै आधुनिक इतिहासमा प्रवेश गरेका कोरिया, सिंगापुर, मलेसिया, भारत जस्ता राष्ट्र समृद्धिका मामिलामा निकै अगाडि बढिसक्दा हामी समृद्ध राष्ट्र त परै जावस्, समाजका हरेक पक्षमा समस्याग्रस्त राष्ट्रका रूपमा खडा भएका छौं । सर्वमान्य राजनीतिक पद्धति र स्थिरता हामी नेपाली जनताले देखेकै छैनौ । दूरदर्शी र क्षमतावान् नेतृत्व हामी नेपाली जनताको तिर्सनामा नै सीमित भएको छ । हाम्रो विकासका पूर्वाधार निर्माण, स्तरीय जीवनशैली, सुविधायुक्त गाउँबस्ती, स्वच्छ सफा शहर, स्तरीय शैक्षिक र स्वास्थ्य संस्थाका सपना त सपना मै सीमित भएका छन् ।

हाम्रा अनगिन्ती सम्भावनाहरू उपयोग हुन नसकेर थन्किएका छन् । संसारका अन्य देशको तुलनामा सभ्यताको यति लामो इतिहास बोक्दाबोक्दै पनि समाज विकासको दृष्टिकोणबाट किन नकारात्मक छ नेपाल ? आखिर के कारणले सम्भव हुन सकेन त वर्षाैंदेखि समृद्ध नेपालको परिकल्पना ? यो प्रश्नबारे बहस हुन अझै बाँकी छ । स्वामी विवेकानन्दले भनेका थिए, ‘कुनै पनि देशको समृद्धि त्यो देशको युवा शक्तिले निर्धारण गर्दछ । युवा नै देशको शक्ति हो भने कतै नेपालले वर्षाैंदेखि युवाशक्तिलाई आजसम्म मुलुकको समृद्धिमा लगाउन नसक्नु नै त कारण होइन ? विश्व इतिहासका पाना केलाउँदा सन् १९५० अर्थात् दोस्रो विश्व युद्ध पछाडि मात्र देशहरू विकास हुँदै समृद्ध राष्ट्रका रूपमा स्थापित भएका छन् ।

जनसंख्या थोरै भएको राष्ट्र, पहिलो विश्वयुद्धमा करीब साढे दुई लाख र दोस्रो विश्वयुद्धमा करीब ४ लाख नेपाली युवा अरूकै झन्डामुनि गोर्खा सैनिकका रूपमा पठायौं, मलायाको जंगलमा १८,००० सैनिकलाई लड्न भनेर यसै छाडियो । मलेसिया सरकारले दिएको ४५० मलेसियन डलरमा ४२ मलेसियन डलर लिएर ४०८ बेलायतीलाई दिँदै हामीमार्फत् उसलाई पैसा कमाउने जरिया बनायौं । तथ्यांकलाई हेर्दा विश्व युद्धमा ३५५ हताहतीमा परे, बचेका ६५५ मध्ये अधिकांश विदेशमै हराए ।

यसरी संसारका हरेक देश युवा शक्तिलाई परिचालन गरी देश विकासमा लाग्दा नेपालमा त राजनीति र विकासमा लाग्ने युवा शक्ति नै थिएनन् । हामी युवालाई नै परिवर्तनका संवाहक मान्छौं, युवालाई नै समृद्धिको मेरुदण्ड मान्छौं अनि फेरि तिनै युवाको पसीना बाहिर बेचेपछि कसरी सम्भव हुन्थ्यो त समृद्ध देशको परिकल्पना ? युवा आफ्नै देशमा जागरूक र क्रियाशील भएमा त्यो राष्ट्र विकास नभएको कुनै अपवाद छैन । आज पनि दैनिक हाम्रा १५०० युवा विदेशिन बाध्य छन्, ४५ लाख युवा विदेशी सकेका छन् । देशमा भएका अधिकांश युवा सजिलै देश छोडेर जान तयार हुन्छन् । विदेश बस्न पाउनुलाई सबैभन्दा ठूलो सफलता मान्छन् ।

देशलाई आज विदेशीका लागि जनशक्ति उत्पादन गर्ने थलो बनाइँदै छ । आज सानो उमेरदेखि नै एउटा बालकलाई उसको अस्तित्व यो देशमा नभई बाहिर देखाइन्छ, विद्यालय जाँदा उसको कार्यस्थल यहाँ नभई विदेशमा खोज्न सिकाइन्छ । हामी श्रमको सम्मान गर्न हिच्किचाउँछौ, एउटा श्रमिकलाई सम्मानित नजरले हेर्दैनौं । त्यसैले यहाँ काम गर्नुको सट्टा ऊ विदेशलाई नै आफ्नो कर्मथलो ठान्छ । यस्तो अवस्थामा देशले समृद्धितर्फ कोल्टो फेर्ने अवस्था आउन अझै केही समय पर्खिनुपर्ने देखिन्छ । यद्यपि युवाको सक्रियतामा यस्तो मानसिकता चिर्न सकेमा समृद्ध नेपाल निर्माण गर्न असम्भव भने होइन ।

परिवर्तनका सम्वाहक, समाजको समृद्धिको मेरुदण्ड भनेको त्यो समाजको युवा शक्ति नै हो । युवा उमेर मात्र होइन, युवा प्रवृत्ति हो, दृष्टिकोण, जोश, जाँगर र हिम्मत हो । यो कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पूँजी हो । युवा शक्तिकै बलमा मात्र देश, दुनियाँ र समाज अगाडि बढ्न सक्छ । चाहे त्यो विश्वम युद्धताका हिटलरको पालामा होस् वा प्रविधिको युगमा होस्, युवा वर्ग नै हो युद्धमा होमिएर आफ्नो देशको अस्तित्व बचाउने, युवा वर्ग नै हो नयाँ प्रविधिको खोज अनुसन्धान गरेर विश्वमाझ आफू र आफ्नो राष्ट्रलाई चिनाउने । समृद्ध नेपालको सपना असम्भव होइन, युवाले चाहेमा समृद्ध नेपाल सम्भव बन्नेछ ।

रसियाका महान मानवतावादी साहित्यकार लियो टोलस्टोयले ‘युद्ध र शान्ति’ नामक पुस्तकको अन्तिम विवरणमा’ क्रान्ति विचारको उपज होइन, यो त युवाको परिवर्तनको चाहना हो’ भनेर लेखेको भनाइले पनि युवा वर्गको समाज रूपान्तरण गर्ने कतिसम्म सामरथ्य हुन्छ भन्ने कुराको पुस्टयाइँ गरेको छ । संसार परिवर्तन गर्न चाहनेले सुरुआत पहिले आफैँबाट गर्नुपर्छ । तसर्थ अब हरेक युवाले यो राष्ट्रप्रतिको दायित्वलाई मनन गर्दै समृद्ध नेपाल निर्माणका लागि अहोरात्र खटिनुपर्छ । हरेक युवाले विदेशिनुलाई गौरव मान्ने मानसिकतालाई तोड्दैं, सबै जनालाई नेपालको समृद्धिको आभास गराउँदै राष्ट्रिय मनोविज्ञानमा रहेको हीनताबोधको रोगलाई हटाएर समृद्ध नेपाल निर्माणमा लाग्नुपपर्छ ।

त्यसकारण युवा वर्गले अब निराशामा होइन, आशामा बाँच्नुपर्छ । विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्न थाल्नुपर्छ अनि मात्र सम्भव हुन्छ समृद्ध राष्ट्रको सपना । समृद्ध नेपालको पूर्वसर्त भनेकै नयाँ सोच र ऊर्जाशील नेतृत्व हो । राजनीतिलाई एउटा फोहोरी खेल भनेर यसबाट पन्छिन खोज्ने युवा मानसिकतालाई तोडेर अब सबै क्षेत्रमा युवा नेतृत्वको आवश्यकता छ र मुलुकको नेतृत्व गर्न आफूलाई विकास गर्दै नयाँ सोच, नयाँ विचार र ऊर्जाशील भएर लाग्नुपर्छ । राष्ट्र निर्माणमा मात्र आवश्यकता छ त युवाको अनुसन्धानको, युवाको सिर्जनाशीलताको, नवीनताको, उद्यमशीलताको र युवाकै नैतिक नेतृत्वको ।

देशमा विद्यमान समस्याको पहिले पहिचान गरेर त्यसको समाधानको बहस अब युवा वर्गले चलाउनुपर्छ । देशलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुराको बहसमा युवा स्वयं संलग्न र क्रियाशील भई विकास र समृद्धिको नयाँ दृष्टिकोण एवं योजना निर्माण गर्नुपर्छ । देशको ऊर्जा, सडक सञ्जाल, सिँचाइ शहरी विकास र आधुनिकीकरण, वन संरक्षण, कृषि जस्ता दीर्घकालीन योजनाको मार्गचित्र तयार गर्न अहिलेबाट शुरू गर्नुपर्छ । चेतनामा आधारित विकासको परिकल्पना युवा वर्ग आफैँले गर्नुपर्छ । बहु–विदेशी निगमको कब्जाबाट देशलाई जोगाउनुपर्छ ।

हरेक श्रमलाई सम्मान गर्दै श्रम गर्ने बानी बसाल्दै विज्ञानको सदुपयोग गर्दै, यही देशमा बसेर भएको अवसरको प्रयोग गर्दै उद्यमशीलता विकास गर्दै गए समृद्ध नेपालको सपना साकार हुनसक्छ । समृद्ध राष्ट्र निर्माणको लागि आधुनिक समयको मागअनुसारको दक्ष र प्रविधियुक्त जनशक्ति पहिलो सर्त हो । अनुशासित, स्वावलम्बी, सिर्जनशील र उद्यमशील युवा जनशक्ति अर्काे महत्वपूर्ण आधार हो । राष्ट्रिय पहिचान, राष्ट्रिय गौरव एवं स्वाभिमानयुक्त नीति र नेतृत्वबाट मात्र युवा वर्गमा आशा, भरोसा र उत्प्रेरणा जगाउन सकिन्छ । यसका लागि मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायत हरेक क्षेत्रमा युवाले नै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्दछ । तसर्थ राष्ट्र निर्माणका लागि अब युवा नै अघि सर्नुपर्छ, युवाले नै यसको नेतृत्व लिनुपर्छ ।

प्रकाशित: ५ श्रावण २०७७ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App