२८ श्रावण २०७७ बुधबार
अन्य

तपाईंहरूजस्तै म

बालकथा

शर्मिला खड्का (दाहाल)

शर्मिला खड्का (दाहाल)

भाइबहिनीहरू हो ! तपाईँहरूले मलाई चिन्नुभएको छ होला । धेरैजसो त ममाथि चढ्नु पनि भएको छ ।  

म दुईवटा पाङ्ग्राले गुड्ने र इन्जिनबाट चल्ने मेसिन हुँ । म को हुँ  , अब त तपाईहरू सबैले मलाई चिनिसक्नुभयो होला, हगि ? 

हो, मलाई सबैले मोटरबाइक अथवा मोटरसाइकल भन्छन् । म साइकलको दाजु हुँ ।

तपाईँहरू सबैजना आआफ्ना घरमा आमाबुबासँग बस्नुहुन्छ, होइन ? हो, म पनि मेरा मालिकको घरको ग्यारेजमा बस्छु । मालिक मलाई आफ्नो व्यापारको क्रममा बिहानै लिएर हिँड्नुहुन्छ । दिनभरि म मालिकलाई सहयोग गर्छु । मालिकलाई सामान बेच्न धेरै ठाउँ जानुपर्ने हुन्छ । मालिक ममाथि सामान राखेर विभिन्न ठाउँमा सामान बेच्न लानुहुन्छ । मालिकलाई म निकै मद्दत गर्छु । मालिक पनि मलाई निकै माया गर्नुहुन्छ ।

तिमीहरूले जस्तै मैले पनि खानेकुरा खानुपर्छ । मेरो खानेकुरा पेट्रोल र मोबिल हो । यदि मैले मेरो यो खानेकुरा खान पाइनँ भने म हिँड्न सक्तिनँ । म भोकाएको मालिकले थाहा पाइहाल्नुहुन्छ र मलाई खानेकुरा खुवाउन पेट्रोलपम्पसम्म लिएर लिएर जानुहुन्छ ।

कोही बेला पेट्रोलपम्पमा पेट्रोलको अभाव भएको हुन्छ । किन यस्तो अभाव भएको होला भन्ने लाग्छ मलाई । जाडो महिनामा चाहिँ मलाई दौडन धेरै गाह्रो हुन्छ । जाडोले गर्दा मेरो शरीर नै कक्र्याककुक्रुक हुन्छ ।

कोही बेला त म बिमारी पनि हुन्छु । म बिमारी भएको मालिकले थाहा पाइहाल्नुहुन्छ । अनि मालिकले मलाई उपचार गर्ने ठाउँमा लानुहुन्छ । तपाईँहरू बिमारी हुँदा जँचाउन अस्पताल गएजस्तै म पनि बिमारी हुँदा जाने ठाउँ छ । मालिकले मलाई वर्कसपमा लानुहुन्छ । त्यो मलाई मर्मत गर्ने ठाउँ हो । वर्कसपमा मेरो पार्टपुर्जा मिलाउने मिस्त्री बस्नुहुन्छ । उहाँहरूले मेरा शरीरमा कहाँ खराबी भएको हो थाहा पाइहाल्नुहुन्छ । थाहा पाएपछि मेरो औषधि–उपचार गर्नुहुन्छ । त्यसपछि म ठीक हुन्छु ।

मेरा मालिक मलाई व्यापार गर्नमा मात्र नभई परिवारलाई घुमाउन लैजान पनि प्रयोग गर्नुहुन्छ । बिदाको दिन आफ्नी श्रीमती र दुई छोरालाई ममाथि चढाएर कहिले चिडियाखाना त कहिले सिनेमा हल लिएर जानुहुन्छ । मेरो शरीर ठीक छ र मलाई समयमा नै खानेकुरा खान दिइएको छ भने मलाई खुसी लाग्छ । म काम गर्न कहिल्यै अल्छी मान्दिनँ  तर मेरा मालिकले श्रीमती र दुई छोरालाई ममाथि लिएर हिँडेको पटक्कै मन पर्दैन । मेरी मालिक्नी निकै मोटी हुनुहुन्छ र छोराहरू पनि हुर्केका छन् । मलाई चारजनाको भार थाम्न निकै गाह्रो हुन्छ । तर यो कुरा मेरा मालिक पटक्कै बुझ्दैनन् ।

एकपल्ट के भयो थाहा छ ? मेरी मालिक्नीले भन्नुभयो, ‘राकेशको बाबा, आज हामी फिल्म हेर्न जाने, है ?’

मालिकलाई सिनेमा हेर्न जान मन थिएन  ।  त्यसैले बहाना बनाएर भन्नुभयो, ‘हुन्न, मोटरबाइकको ब्रेक राम्रो लाग्दैन । हिँडेर जान टाढा छ ।’

मालिक्नीले पटक्क मान्नुभएन र भन्नुभयो, ‘बिदाको दिन पनि यसो घुम्न जान पाइन्न ? म त घुम्ने साथी खोजेर जान्छु । तपाईँ छोराहरू हेरेर बस्नुहोस् ।’

मालिक्नी रिसाएको देखेर मालिकले फकाउँदै भन्नुभयो, ‘लौ ठीक छ, तयार होऊ । हामी सबै फिल्म हेर्न जाऔँला ।’ 

मालिक्नी सिँगारपटार गरेर राम्री हुनुभयो । दुवै छोराहरू पनि राम्रो लुगा लगाएर तयार भए । चारैजना ममाथि बसेपछि मालिकले मलाई किक हान्नुभयो । मलाई त आज घरै बस्न मन थियो तर के गर्ने, मेरो कुरा कसले सुन्छ र ?

मालिकले मेरो इन्जिन स्टार्ट गरेर कुदाउनुभयो । बाटामा मसँगै अरू साथीहरू पनि कुदिरहेका थिए । उनीहरू मेरो हालत देखेर मलाई मायालाग्दो अनुहारले हेरिरहेका थिए । मलाई पनि आफ्नो शरीरभन्दा बढी वजनको मानिस बोक्नुपर्दा निकै सकस भएको थियो । तिमीहरूलाई पनि आफूभन्दा धेरै भारी भएको पुस्तकको झोला बोक्न गाह्रो हुन्छ नि, होइन ?

हो, म बाटामा मुस्किलले कुद्दै थिएँ । एउटा सानो खोलो आयो । खोलामा फोहोर पानी बगिरहेको थियो । मालिकले कुदाउँदाकुदाउँदै के भयो कुन्नि म त हुत्तिएर खोलामा पुगेँछु । मेरा मालिक, मालिक्नी र छोराहरू फोहोर पानीमा पछारिए । मलाई निकै चोट लाग्यो तर मैले मेरा मालिक, मालिक्नी र उनका छोराहरूलाई चोट लाग्नबाट जोगाएँछु ।

मालिकले मालिक्निीलाई रिसाउँदै भन्नुभयो, ‘मैले अघि भनेकै थिएँ नि ब्रेक राम्ररी लाग्दैन भनेर, सुनेको होइन ।’ 

मालिक्नी पनि के कम र ! उहाँले जङ्गिँदै भन्नुभयो, ‘चलाउन जानेको भए पो !’

मेरी मालिक्नीको हालत हेर्नलायक थियो । उनको सिँगारपटार सबै बिग्रेर अनुहार कार्टुनजस्तो देखिएको थियो । जे हुनु भइगयो, अब झगडा गरेर के हुन्छ र ? मलाई दुवै जनालाई सम्झाउन मन थियो तर मेरो कुरा बुझे पो ! मालिक्नी छोराहरू लिएर घर फर्कनुभयो । मलाई चाहिँ मालिकले अरू मानिसहरूको सहयोग लिएर खोलाबाट झिक्नुभयो । त्यसपछि मलाई मर्मत गर्ने ठाउँ वर्कसपमा लानुभयो । वर्कसपमा मजस्तै अरू घाइते साथीहरू थिए ।

तिनीहरूका आआफ्नै कथा थिए । एउटा साथीलाई चोरले चोरेर लगेर सबै पार्टपुर्जा निकालेर बाटामा फ्याँकिदिएको रहेछ । अर्को एउटा साथीलाईचाहिँ चोरी गरेर पर  पुरयाएर चोरले मालिकसँग पैसा मागेछ अनि पुलिसको मद्दतले फर्काइएको रहेछ ।

उसका मालिक उसलाई एउटा पसलको अगाडि अड्याएर पसलमा सामान किन्दै थिए रे । चोरले चाबी मिलाएर स्टार्ट गरेर अर्कै ठाउँमा लुकाएर राखेछ । चोरले मालिकलाई फोनमा भनेछ, ‘पैसा दिन्छस् भने तेरो मोटरबाइक फर्काइदिन्छु नत्र विष्णुमतीको बगरमा लगेर आगो लाइदिन्छु ।’

पछि मालिकले पुलिस लगाएर मेरो त्यो साथी र त्यस चोरलाई समाएछन् । तर उसले त त्यस साथीको पूरै पार्टपूर्जा बिगासकेको रहेछ । त्यसपछि उसको मालिकले उसलाई यहाँ ल्याएको रहेछ ।

तपाईँहरूलाई पनि हामीहरूलाई जस्तै चोरहरूले चोरेर लान सक्छन् अनि दुःख दिन सक्छन् । त्यस्ता चोरलाई अपहरणकारी भनिन्छ । यस्ता अपहरणकारीले धेरै बालबालिकाको अपहरण गरेका छन् । त्यसैले तपाईँहरू पनि घरबाट बाहिर बजार जाँदा अथवा स्कुल जाँदा होसियार भएर जानुपर्छ है । जो पायो त्यही नचिनेको मानिससँग कतै जान हुँदैन है । तपाईँहरूलाई थाहा छ, म होसियार भएको हुनाले नै अहिलेसम्म मलाई चोरले चोर्न सकेका छैनन् ।

ल भाइबहिनी हो मेरो कथा यति नै हो ।  

प्रकाशित: २२ असार २०७७ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App