महेशविक्रम शाह-
मेरो कुनै कथासंग्रहले नबिकेर प्रकाशक र सम्पादकको स्टोरमा थन्किनुपरेन, न त वितरकको दराजमा सड्नु नै पर्यो। मैले कहिल्यै आफ्ना कृतिको स्टक सिध्याउन चिनेजानेकालाई बाँड्दै हिँड्नु पनि परेन
मैले सक्रिय रूपमा कथा लेख्न थालेको २४ वर्ष भयो। हुन त मेरो पहिलो कथा 'आमा' २०३७ सालमा महेन्द्रनगर, कञ्चनपुरबाट निस्कने 'साप्ताहिक वार्ता' मा छापिएको हो। तर २०४५ सालमा 'अनुराग' त्रैमासिक पत्रिकामा निस्केको मेरो कथा 'सटाहा' बाटै मेरो सक्रिय कथालेखन यात्रा थालनी भएको हो। यही कथा 'सटाहा' पछि मेरो पहिलो कथासंग्रह 'सटाहा' (२०५३) को शीर्षक कथाका रूपमा रह्यो।
मेरो पहिलो कथा 'आमा' को रचनासमय ३० को दशकमा म मूलतः कवि थिएँ। दर्जनौं कविता लेखेको थिएँ र फुटकर प्रकाशित पनि भएका थिए। छन्दोबद्ध कवितालेखनमा विशेष अभिरुचि थियो र पछि गद्य कवितातिर पनि आकर्षित भएँ। फलस्वरुप छन्दमा 'कौशल्या' र गद्य शैलीमा 'मेरो विपनाहरू' नामक दुई खण्डकाव्य लेखिभ्याएको थिएँ। स्कुलको नोटबुकका पाना कविता र गीतले भरिएका हुन्थे।
पछि निबन्धतर्फ आकर्षित भएँ। देवकोटाको 'लक्ष्मी निबन्धसंग्रह' मेरो प्रिय पुस्तक थियो। म देवकोटाको शैलीमा भावपरक निबन्ध लेेख्न थालेँ। यसरी कविको उपमासँगसँगै निबन्धकार बन्ने हुटहुटी जाग्यो।
स्कुलको ठिटो छँदादेखि नै मेरो साहित्यकार बन्ने सपना थियो। प्रवेशिका पास गरेपछि म काठमाडौं आएँ। मेरा बुबाको धोको मलाई डाक्टर बनाउने थियो। मैले अमृत साइन्स कलेजबाट आइएस्सी, बिएस्सी गरेँ, तर बुबाको धोको पूरा गर्न सकिनँ। स्नातक पूरा गरेपछि २०४६ सालमा बुबाको सल्लाहमै प्रहरी निरीक्षकमा भर्ना भएँ। तर आफ्नो 'साहित्यकार बन्ने सपना' लाई भने मैले मर्न दिइनँ। आफू जहाँ गए पनि त्यो सपना बोकेरै गएँ। मेरो अभिरुचि साहित्य, जीवनको लक्ष्य साहित्यकार बन्ने, अध्ययनको क्षेत्र रह्यो विज्ञान र पेसा अँगालेँ प्रहरी! मेरो जीवन बन्यो विभिन्न रङको फ्युजन जहाँ सम्पूर्ण रङ एकाकार भएर सेतो प्रकाश छर्छन् र वस्तुलाई दृश्य बनाउँछन्।
२०४५ सालमा 'सटाहा' कथा लेख्नुभन्दा पहिले मैले २०४१/४२ सालतिर आइएस्सी पढ्दा एउटा कथा लेखेको थिएँ, साँढेको हुँकार। हुन त मैले कैलाली-टिकापुरबाट काठमाडौं पढ्न आउँदा 'मेरा विपनाहरू' खण्डकाव्यसँगै एक नोटबुक कथा पनि ल्याएको थिएँ। यी दुवै पुस्तक छाप्ने सोच थियो। तर विज्ञानको विद्यार्थी भएपछि मैले यतातिर सोच्ने फुर्सद पाइनँ र काठमाडौंको वातावरण बुझेपछि आफूले गर्वसाथ प्रकाशित गर्न भनी ल्याएका पाण्डुलिपि कुन स्तरका रहेछन् भन्ने पनि ज्ञान भयो।
त्यसपछि मैले छाप्ने सपना छोडिदिएँ। त्यसको धेरै समय पछि मैले उपर्युक्त कथा लेखेँ। 'गरिमा' मा छपाउन भनी लेखेको थिएँ। कवि विष्णु घिमिरेको सम्पादनमा 'गरिमा' मासिक नयाँ साजसज्जामा साझा प्रकाशनबाट निस्कन थालेको थियो। म एक दिन कथा बोकेर साझातिर हान्निएँ। सम्पादक थिएनन्। मैले तत्कालीन साझाका महाप्रबन्धक कृष्णचन्द्रसिंह प्रधानको टेबुलमा छोडेर आएँ।
करिब दुई हप्तापछि कथाबारे बुझ्न सम्पादक भेट्न गएँ। उनीसँग सजिलै भेट भयो। तर उनले कूटनीतिक पारामा मलाई सम्झाउँदै भने, 'तपाईंको लेखनशैली मनपर्यो, तर अझै मिहिनेत गर्नुपर्यो। हामी त्यस्ता प्रतिभालाई मात्र 'गरिमा' मा स्थान दिन्छौं जो वास्तवमै साहित्यकार बन्ने आकांक्षा राख्छन्। र, सँगसँगै उनीहरूमा प्रतिभा पनि हुन्छ।'
मैले उनलाई आफूले पनि साहित्यकार बन्ने चाहना राखेको बताएँ। उनले यस कथालाई अझ परिष्कृत गरेर ल्याउने आग्रह गरेँ। आफ्नो कथा नछापिने भएपछि म उदास भएर फकर्ें। मलाई पहिलो पटक आफ्नो प्रतिभामाथि शंका लागेर आयो। मलाई त्यो कथा परिमार्जन गर्ने जाँगर चलेन। त्यसपछि मैले लामो समयपछि 'सटाहा' कथा लेखेँ। वास्तवमा यो कथा मैले कथाकार बन्ने उद्देश्यले लेखेको थिइनँ। कवि ललिजन रावल र म सम्मिलित 'अनुराग' साहित्यिक त्रैमासिकका केही पाना भर्न मात्र मैले यो कथा लेखेको थिएँ। यस कथामा कैलालीमा रहेको मेरो गाउँ भगरैयामा मैले अनुभव गरेको थारू संस्कृतिको झलक प्रस्तुत गरिएको छ। कथालाई धेरैले मन पराए। अर्को अंकमा मैले 'पाटु' शीर्षकमा अर्को कथा लेखेँ। यस कथाको पारिजात दिदीले समेत प्रशंसा गर्नुभयो।
२०४८ सालमा मेरो 'तृष्णा' कथा 'मधुपर्क' मा छापिएपछि यसले अत्यधिक चर्चा पायो। त्यसलगत्तै 'गरिमा' मा 'संस्कार' कथा छापियो। 'समकालीन साहित्य' मा 'चम्पी' कथा निस्केपछि म उदियमान कथाकारमा दरिन थालेँ। सबैबाट मैले स्याबासी र प्रशंसा पाएँ। यो मेरा लागि साँच्चिकै गौरवको विषय थियो। छोटो समयमा मैले जोडदार पुनरागमन गरेको थिएँ। नेपाली कथाजगतमा मेरो हस्तक्षेपलाई अग्रजले मेरो पिठ्युँमा धाप दिँदै स्वागत गरेका थिए।
मेरा कथा जुन आञ्चलिक विषयवस्तुसँग सम्बन्धित थिए, ती कथा वास्तवमै मेरो अनुभव र अनुभूतिका अंश थिए जुन मैले आफ्नो थारू बस्तीको गाउँमा सँगालेको थिएँ। 'तृष्णा' कथा एउटा युवक र एउटी विवाहित थारू युवतीबीचको मौन प्रेमसँग सम्बन्धित छ। युवती विवाहित भए पनि उसको लोग्ने बालक छ। युवक सधैं स्कुल जाने बेला युवतीको घरनिर पुगेपछि साइकलको घन्टी बजाउँछ, युवती लोटामा पानी ल्याएर उसलाई पियाउँछे। दुवै जना पानी पियाएर र पिएर सन्तुष्ट हुन्छन्। कथाको सार यही हो, तर त्यो कथाको युवक पात्र म आफैं हुँ। आफ्नो जीवनको यस मधुर स्मृतिलाई म कथामा ढालेर कथाकी पात्रालाई अमर बनाउन चाहन्थेँ। त्यो पूर्वस्मृति यति सजीव र सघन बनेर आयो कि म कथा नलेखी चैनसँग सुत्न पनि सकिनँ। कथा पूरा भएपछि मैले लामो सास फेरेँ, मानौं कुनै स्वास्नीमान्छेले प्रसवपीडाबाट भर्खर उन्मुक्ति पाएकी छे। त्यस्तै 'चम्पी' कथाको 'म' पात्र स्वयं म आफैं थिएँ। मेरो कथाकी चम्पी जो पहिले मेरो कमैयाकी छोरी थिई, ऊ अहिले मुक्त कमैयाको बस्तीमा आफ्नो परिवारसँग सुखपूर्वक बस्छे र साइकल चलाएर मजदुरी गर्न सहर जान्छे।
मलाई अहिले आएर आफ्ना प्रारम्भिक कथाहरू विश्लेषण गर्दै सोध्न मन लाग्छ- मेरो कथा 'साँढेको हुँकार' किन अस्वीकृत भयो र 'तृष्णा' ले कसरी र किन रातारात चर्चा बटुल्यो? यसको जवाफ मसँग नै छ सायद। 'साँढेको हुँकार' कथा कल्पना मात्र थियो। त्यसमा मान्छेको कथा संवेदनाको गहिराइ छुने गरी जोडिएको थिएन। तर 'तृष्णा' कथा मेरो आफ्नो अनुभव र अनुभूति थियो जसमा मान्छेको संवेदना रसाएको थियो। मलाई लाग्छ- कथा अनुभव र अनुभूतिको एक सरल, सूक्ष्म, सुरुचिपूर्ण र सुललित अभिव्यक्ति हो। कथा संवेदना हो, जुन कथामा संवेदना हुँदैन, वास्तवमा त्यो कथा कथा होइन।
कथाको परिभाषामा देवकोटाको भनाइ सर्वप्रिय छ- 'कथा एक सानो झ्याल हो जहाँबाट सानो संसार चियाइन्छ।' अहिलेको विश्वजगतमा जसले साना र सूक्ष्म कुराको विश्लेषण गर्ने सामर्थ्य राख्छ त्यो झन् महŒवपूर्ण हुन्छ। एउटा सानो प्वालबाट घरभित्र छिरेको प्रकाशमा हामी सूर्यका सप्तरंगी किरण देख्न सक्छौं। ती किरण खुला ढोकाबाट दृष्टिगोचर हुन सक्दैनन्। कथा पनि सानो प्वालबाट छिरेको प्रकाशजस्तै हो जसले पाठकलाई समाज र मान्छेका सूक्ष्म प्रवृत्ति दर्शन गराउँछ। अहिले साहित्य लेखनको समय, सन्दर्भ र उद्देश्य फेरिएको छ। वर्तमान विश्वमा साहित्य लेखनको उद्देश्य मान्छे र समाजका प्रवृत्तिको चिरफार गर्नु मात्र होइन, ती प्रवृत्तिको सुत्रधारका रूपमा रहेका अदृश्य जीवाणुको खोजी गर्नु पनि रहेको छ।
क्यामेराको सामान्य लेन्स तथा वाइड एंगल लेन्सले विहंगम दृश्य देखाए पनि ती लेन्सले दृश्यचित्रभित्र रहेका विभिन्न वस्तुको सूक्ष्म दृश्य देखाउन सक्दैनन्। उक्त कार्य क्लोज अप लेन्सले मात्र गर्न सक्छ। आजको 'कथा' संसारको विहंगम दृश्य देखाउने क्यामेराको 'वाइड एंगल लेन्स' नभई दृश्यभित्रको सूक्ष्म दृश्य देखाउन सक्ने 'क्लोज अप लेन्स' हुनुपर्छ जहाँबाट मान्छेले समाजलाई रोगी बनाउने सूक्ष्म जीवाणु देख्न सक्छ।
२०५३ मा मेरो पहिलो कथासंग्रह 'सटाहा' छापियो। यसमा विशेष गरी आञ्चलिक कथा र केही विदेशी पृष्ठभूमिमा लेखिएका कथा संग्रहित छन्। यो कथासंग्रह आञ्चलिक रङ र ग्रामीण माटाको सुवासका कारण लोकप्रिय बन्यो। यो कथासंग्रह २०६८ सालमा साझा प्रकाशनबाट निस्केको छ। यस संग्रहमा मेरा आफ्ना अनुभव र अनुभूति प्रकट भएका छन्। त्यसको ६ वर्षपछि २०५९ मा मेरो दोस्रो कथासंग्रह 'सिपाहीकी स्वास्नी' निस्कियो। यो कथासंग्रह छापिने बेला नेपालमा सशस्त्र द्वन्द्व जारी थियो। यस संग्रहमा द्वन्द्वकथा समावेश गरिएका छन्। 'सिपाहीकी स्वास्नी' सशस्त्र द्वन्द्वको मारमा परेका सम्पूर्ण पीडित नारीहरूकी महिला पात्र हुन्। यो कथासंग्रहले पनि राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चा बटुल्यो। संग्रहबारे आएको उत्साहजनक प्रतिक्रियाले मलाई आश्चर्यचकित बनायो। अब साँच्चिकै मलाई नेपाली साहित्यको धरतीमा पाइला गाड्न सफल भएछु भन्ने लाग्न थाल्यो। मेरो उत्साह बढ्दै गयो। २०६० मा मेरो तेस्रो कथासंग्रह 'अफ्रिकन अमिगो' तत्कालीन एकेडेमीबाट छापियो। यो संग्रहले आख्यानपुरुष ध्रुवचन्द्र गौतम र उपन्यासकार धनुषचन्द्र गौतमले आफ्ना मातापिताको स्मृतिमा खडा गरेको पहिलो आख्यान पुरस्कार (२०६०) पायो। संग्रहमा तीन परिवेशका कथा संग्रहित छन्- विदेश पृष्ठभूमि, आञ्चलिक र सहरी परिवेश। २०६० मा छापिए पनि यस संग्रहमा द्वन्द्वकथा नहुनुको खास कारण के भने यो संग्रह 'सिपाहीकी स्वास्नी' छापिनुभन्दा पहिले नै छाप्नका लागि दिइएको थियो जुन दिइएको करिब पाँच वर्षपछि मात्र छापियो। त्यसैले यो कथासंग्रह 'सिपाहीकी स्वास्नी' भन्दा कान्छो हुन पुग्यो।
मैले २०६० मा मैनाली कथा पुरस्कार पाएँ र यो पुरस्कार पाउने मेरा अग्रज कथाकारको लाममा लागेँ म पनि। यस पुरस्कारले मेरो कथायात्रालाई गरिमा र उचाइ दियो। यसपछि पनि थुप्रै पुरस्कार र सम्मान पाएँ।
देशमा सशस्त्र द्वन्द्व उच्चतम विन्दुमा पुगेका बेला (२०५७/५८) म रोल्पामा पदस्थापन भई गएँ। रोल्पा म आफ्नै चाहनाले गएको थिएँ। रोल्पामा एक वर्षको बसाइक्रममा मैले माओवादी सशस्त्र द्वन्द्वलाई धेरै नजिकबाट बुझ्ने अवसर पाएँ। एक कथाकारका लागि यो एक महŒवपूर्ण पाटो थियो। 'छापामारको छोरो' कथाको रचनागर्भ रोल्पामै अंकुरित भएको थियो। रोल्पा बसाइका क्रममा पनि मैले द्वन्द्वसम्बन्धी केही कथा लेखेँ। तर कुनै कथा पनि एउटै बसाइमा लेख्न भ्याइनँ। कहिले बमविस्फोट हुन्थ्यो त कहिले विद्रोही फायर खोल्थे। जवाफमा प्रहरी पनि पूरै लिवाङ थर्किने गरी बम पड्काउने र राइफलबाट फायर गर्थे। यिनै अनुभव र अनुभूतिको परिणामस्वरुप मेरो चौथो कथासंग्रहका रूपमा साझा प्रकाशनबाट २०६३ मा 'छापामारको छोरो' छापियो। यो संग्रहका सम्पूर्ण कथा सशस्त्र द्वन्द्वका साक्षी हुन्। यी कथामा समयको आवाज घन्केको थियो। यस संग्रहमार्फत मैले मानवीय संवेदनालाई उठाउने जमर्काे गरेको थिएँ। यिनै कारण होला, 'छापामारको छोरो' २०६३ सालको मदन पुरस्कार पायो। मदन पुरस्कार पाएपछि चारैतिरबाट ममाथि सम्मान र पुरस्कारको वर्षा भयो जसलाई थेग्न पनि मलाई गाह्रो भयो।
२०६५ मा मेरो पाँचौं कृति 'काठमाडौंमा कामरेड' (कथासंग्रह) निस्क्यो। संग्रहमा संक्रमणकालीन नेपालको चरित्रचित्रण गर्ने कथा समेटिएका छन्। मेरा पाँचै कथाकृतिमा मैले विविधता दिने प्रयास गरेको छु। 'सटाहा' मा थारू परिवेशका आञ्चलिक कथाको बाहुल्य छ भने 'सिपाहीकी स्वास्नी' मा सशस्त्र द्वन्द्वबाट आम नागरिकले भोग्नुपरेको पीडाको अभिव्यक्ति छ। साथै यस संग्रहमा विदेशी र स्वदेशी परिवेशका अन्य कथा पनि छन्। तेस्रो कथासंग्रह 'अफ्रिकन अमिगो' मा अफ्रिकी पृष्ठभूमिका कथाका साथै नेपालको तराई र पहाडी परिवेशका आञ्चलिक कथा छन्। 'छापामारको छोरो' भने सम्पूर्ण रूपमा सशस्त्र द्वन्द्वकेन्द्रित कथासंग्रह हो जसमा राज्यपक्षीय सैनिक र प्रहरी, विद्रोही छापामार र आम नागरिकका पीडा सुसाएका छन्।
यो साल मेरो छैटौं कथाकृति पाठकका हातमा आउँदैछ। यो कृतिको विशेषता- यसमा संग्रहित सम्पूर्ण कथा फुटकर रूपमा छापिएका छैनन् र सबै कथा विदेशी पृष्ठभूमि तथा नेपाली डायस्पोरा सम्बद्ध छन्। यस हिसाबले यो मेरो नयाँ प्रयोग हो भन्ने म ठान्छु।
२४ वर्षसम्मको कथायात्राको यस विन्दुबाट पछाडि फर्केर हेर्दा मलाई आफ्नो यात्रा सार्थक दिशातिर उन्मुख छ भन्ने लाग्छ। मेरा कथाकृति जसले आम मान्छेको भावना र संवेदनालाई बोकेका छन्, ती सबै तिनै आम नागरिकको माया पाएर हुर्के। मेरो कुनै कथासंग्रहले नबिकेर प्रकाशक र सम्पादकको स्टोरमा थन्किनुपरेन, न त वितरकको दराजमा सड्नु नै पर्यो। मैले कहिल्यै आफ्ना कृतिको स्टक सिध्याउन चिनेजानेकालाई बाँड्दै हिँड्नु पनि परेन। जति छापिए, सबै हातहातै बिके। प्राविधिक कारणले मात्र समयमै नयाँ संस्करण आउन सकेनन्। तर अब त्यो गल्ती पनि दोहोरिने छैन। नेपाली साहित्यको सम्बर्द्धनका लागि निजी प्रकाशनगृहको सक्रियता सम्मानलायक छ। अहिले राम्रो पुस्तक, उत्कृष्ट छपाइ, कुशल बजार व्यवस्थापन, बौद्धिक र पठित पाठकको जमाना आएको छ जसलाई हामी सबैले हार्दिक स्वागत गर्नुपर्छ।
मदन पुरस्कार विजेता कथाकार बेनेपछि मेरो सानैदेखिको सपना साकार भएको छ, तर के यो प्राप्तिसँगै मेरा सपनामा पूर्णविराम लाग्यो त? अहँ, मलाई त्यस्तो लाग्दैन। जब म आफ्ना अग्रजका कथा पढ्छु, जब म विश्वप्रसिद्ध साहित्यकार लियो टल्सटय, आन्तोन चेखब, म्याक्सिम गोर्की, मोपासाँ, लु सुन, ओ हेनरी, पे्रमचन्दहरूका कथा अध्ययन गर्छु तब म आफूलाई बामपुड्के पाउँछु। मलाई अनुभूत हुन्छ कि मैले केही लेखेकै छैन।
मैले अझै थुप्रै कालजयी कथा लेख्न बाँकी छ। यस आभासले मेरो शरीरमा नयाँ शक्ति र नयाँ ऊर्जाको सञ्चार हुन्छ र म फेरि नयाँ सपना देख्न थाल्छु। वस्तुको पिण्ड शक्तिमा रुपान्तरित भएझैं हामीले देखेका सपना पूरा भए पनि कहिल्यै मर्दैनन्, ती नयाँ सपनामा रुपान्तरित हुन्छन्।
प्रकाशित: २७ वैशाख २०६९ ०६:५६ बुधबार





