२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

उज्यालो दिनको पर्खाइमा...

लकडाउन डायरी

लकडाउनका बेला ललितपुरको चक्रपथमा फूलेको ज्याकरण्डा । तस्बिर: अमृत भादगाउँले

अमर बहादुर शाही  

महासचिव

नेपाल एशोसियसन अफ टुर अपरेटर्स (नाटो)  

जहाँ प्राकृतिक सौन्दर्य, आध्यात्मिक गरिमा, इतिहास, संस्कृति र भूगोलका रमणीय छटा छन् त्यहाँ नविन ज्ञानसहित आनन्द लिन गरिने घुमफिर नै पर्यटन हो । पर्यटन व्यवसायमा न भूगोलको सीमा छ न समयको । २४ सै घन्टा पर्यटकको सुरक्षा र सुविधाप्रति सोचिराख्नु पर्ने, सजग भइरहनु पर्ने हुन्छ । त्यतिले मात्र नपुगेर भिन्न महादेशका विभिन्न देशका एजेन्ट अनि नेपाल घुम्न चाहने अतिथिको इमेल र जिज्ञासा आदानप्रदान गर्नुपर्छ पर्यटन व्यवसायीले । त्यसैले त भन्नु पर्ने हुन्छ–पर्यटन यस्तो व्यवसाय हो जसको न भूगोलको सीमा छ न समयको ।  

अमर बहादुर शाही 

पर्यटनमा मैले ३ दशक समय कुन रुपमा, कसरी विताएँ पत्तै भएन । जीवनमा आरोह, अवरोह आइराख्छन् । हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भएका बिभिन्न प्राकृतिक र दैवी प्रकोप, महामारी, राजनैतिक आन्दोलन र अस्थिरता अनि आर्थिक मन्दी (चाहे त्यो माओवादी बिद्रोह होस वा भारतीय आर्थिक नाकाबन्दी), २०७२ को भूकम्प र अमेरिका माथिको आतङ्कवादी हमलाको असर र प्रभाव भोगिसकेका छौं ।  

कुनैकुनै देशमा देखिएको आर्थिक मन्दी, सार्स र इबोला जस्ता महामारी जसले नेपालको पर्यटनमा धेरथोर अवरोध गरि नै रह्यो, नराम्रो असर पु¥याइरह्यो र विभिन्न समस्यासँग जुधियो । असहज परिस्थतिमा पनि पर्यटन व्यवसायलाई कसरी अघि बढाउन सकिन्छ भन्ने सोच विजारोपण भइ नै रह्यो । समय बित्दै जाँदा सहज÷असहज रुपमा ती बाधा व्यवधान माथि पार पाउँदै अनेकौं उतार चढाबका बीच पर्यटन व्यवसायको यात्रा निरन्तर रहिरह्यो, अगाडि बढिरह्यो । अनेकौं समस्या हुँदाहुँदै नेपालको पर्यटन चलि नै रह्यो, अगाडि बढिरह्यो र अन्ततः नेपाल सरकारबाट २० लाख पर्यटक भित्र्याउने महत्वाकांंक्षी योजनाका साथ नेपाल भ्रमण वर्ष २०२० घोषणा भयो ।

कोभिड–१९ ले घरपरिवारका सबै सदस्य पर्यटक जत्तिकै महत्वपूर्ण हुन् भन्ने पाठ सिकायो । परिवारलाई हिजोसम्म दिन नसकिएको समयको कुरा गर्दा आज व्याज सहित दिइँदैछ । 

हामीले भ्रमण वर्षमा पाइला नटेक्दै डिसेम्बर २०१९ मा चीनको बुहानबाट विश्वभर कोभिड–१९ को संक्रमण फैलियो । यसबाट बच्न सरकारले चैत ११ देखि गरेको बन्दाबन्दीको घोषणाको अवस्थासम्म पनि हामीले हाम्रो व्यवसाय यति छिट्टै धराशायी भैहाल्ला भन्ने कल्पना गरेका थिएनौं । नेपालको प्रमुख पर्यटन सिजन असोजबाट केही न केही र कुनै न कुनै रुपमा पर्यटनको सुरुवात भैहाल्ला भन्ने आशा थियो । तर, कोरोनाले संसारकै अर्थतन्त्रलाई नराम्रोसँग गाँज्यो ।  

हिजोको कारणबाट उब्जेको समस्याको नतिजा आज देखिँदैन, भोलि मात्र देखिन्छ । र, त्यो समस्याबाट पार पाउन पर्सीसम्म कुर्नुपर्ने हुन्छ । विश्वका २ सयभन्दा बढी मुलुकमा फैलिएको कोभिड–१९ ले निम्त्याउने आर्थिक र सामाजिक समस्यालाई सहज रुपमा आँकलन गर्न सकिँदैन । कुनै चमत्कारिक अवस्थामा बाहेक नेपालको पर्यटनलाई सहज रुपमा अगाडि बढ्न सन् २०२२ भन्दा अगाडीको समय सजिलो छैन । आशा गरौं चाँडो भन्दा चाँडो नेपाली पर्यटन व्यवसायले सहि दिशा लिनेछ ।  

कोभिड–१९ नआउनु आइहाल्यो  । गर्नु ग¥यो, नगर्नु ग¥यो । न यसको ठेगान छ, न त टुङ्गिने छाँटकाट नै । पर्यटन व्यवसाय जस्तै यसको पनि न समयको सीमा छ न भूगोलको । सीमाविहिन पर्यटन, सीमाविहिन कोभिड–१९ । तर पनि कोभिड–१९ शक्तिशाली, विनाशकारी, महामारीका रुपमा देखाप¥यो र केही वर्षका लागि पर्यटन व्यवसायलाई तहसनहस पारी सुताएर जाने भयो ।  

यति हुँदाहुँदै पनि यसले केही सकारात्मक पाठ पढायो । विदेशिएकामा आफ्नो देश र जन्मघरको याद दिलायो । पर्यटक मात्र नभई घरपरिवारका सबै सदस्य पर्यटक जत्तिकै महत्वपूर्ण हुन् भन्ने पाठ पर्यटन व्यवसायीलाई सिकायो । जुन आवश्यक पनि थियो । घरपरिवारलाई अहिलेसम्म दिन नसकिएको समयको कुरा गर्दा व्याज सहित दिइयो । परदेशीएकामा घरदेशमै केही गर्नु पर्छ भन्ने भावना पनि पलाइरहेको खवर सुनिँदैछ दिनप्रतिदिन । यो पनि निकै सकारात्मक पक्ष हो ।  

निश्चय नै हाम्रो पर्यटन छिट्टै फर्कि आउन सजिलो छैन । अझै अर्को डायरीको पालो छँदैछ । यो हो कोभिड–१९ को बन्दाबन्दीको सुरुवातको सदुपयोग मात्र । त्यही पर्यटन व्यवसायीको विगतका भोगाई र गराइको संस्मरण अनि घरपरिवारका सदस्यका साथ समय बिताऔं । घरमै बसौं सुरक्षित रहौं भन्दै लकडाउन डायरीको पहिलो शृङ्खलालाई बिट मार्न खोज्दैछु । कदापि बिट मार्ने छैनन् आउँदो समयका लागि बनाइने योजनाका लहरले । सोच्ने छन् घर, समाज र राष्ट्रको ममता र श्रद्धाका छाल मुटुभरि बोकेर घरआँगनमा पुगेका पाइलाले अब आफ्नै भूमिमा केही गर्नुपर्छ भनी ।  

रोग व्याधि र महामारीले विनाश र निराशा मात्रै सुम्पिँदैन आउने दिनमा भावि पिढीँका लागि शालिन र सिर्जनात्मक गोरेटो तय गर्ने सोचका साथै माया, प्रेम, सद्भाव र आफ्नोपनको विकासमा तरक्की समेत गर्न लगाउँछ । न आउनु थियो आइहाल्यो अब कामना गरौं । दुई वर्ष थला पारे पनि तत्पश्चात यसले पर्यटन क्षेत्रको विकासमा नयाँनयाँ सोच र पद्धतिका साथ नौलो तरंग ल्याउन सिकाओस् ।  

प्रकाशित: १० जेष्ठ २०७७ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App