९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

कोरोनाकी माई

लघुकथा

डा. कपिल लामिछाने

मध्यान्हका घाम चर्कन थालेका थिए र क्रमशः फसल पोटिलो हुँदै थियो । यो २०७७ सालको फागुन महिनाको दिउँसोतिरको कुरा हो । उनी ओसारामा बसेर आफूलाई मन पर्ने होराहा (पोलेको चना) र हरियो धनियाको चटनी खाँदै थिए ।  

गाउँमा गत वर्ष कोरोना भाइरसले जनजीवनमा पारेको प्रभावको अध्ययन गर्न काठमाडौंबाट आठदस जनाको एक टोली खटियो । टोली घरघरमा गएर प्रश्नावली भराउने क्रममा उनको घरमा पुग्यो ।  

टोली प्रमुखले भने, “काका नमस्कार, हामी गत वर्षको महामारीबाट परेको प्रभावको अध्ययन गर्न आएका हौं । सहयोग गरिदिनुहोस् है ।”

उनले उठेर नमस्कार गरे । आँगनमा रहेको डोरीले बुनेको खटिया र केही प्लास्टिकका कुर्सी राखिदिए र बस्न भने ।  

टोलीका सदस्यमध्ये कसैले क्यामेरा, कसैले कापीकलम र कसैले फारम निकाले ।  

“पहिले पानी खाऊँ ।” उनले दैलाभित्र हेर्दै भने, “अरे हो कोरोनाकी माई ! यहाँ पाहुनाहरूलाई पानी ल्याइदेऊ त ।”  

यो पनि पढ्नुहोस्

दीपिकाको माई च्वाइसलाई जवाफ (भिडियोसहित)

टोलीका सदस्यहरूले एक आपसमा मुखामुख गरे ।  

‘कोरोनाकी माई माने कोरोनाकी आमा !’ एक सदस्यको मुटुको धडकन बढ्यो । उसले अरूका मुखमा हे¥यो । सबैको त्यस्तै अवस्था देख्यो ।  

एक्कासि उनीहरू जुरुक्क उठे र हिंडिहाले । एकछिन त उनले केही बुझेनन् अनि भने, “ए भाइ, ए बहिनी, रोक्नुस् । कुरा त बुझ्नुस् ।”

उनी उनीहरूतिरै लागे । उनीहरू झन् पर दगुरे ।  

उनले चर्को गरी कराएर भने, “रोक्नुस् । यहाँ आउनुस् । सुन्नुस् । पढेलेखका मान्छे कुरै नबुझी त्यत्तिकै भाग्ने !”  

उनीहरू रोकिए । बिस्तारै आँगनका छेउछाउतिर आए र डराईडराई उभिए ।  

ओसारामा काखमा शिशु लिएकी एक महिला देखापरिन् ।  

उनले भने, “कोरोना मेरी नन्ही बिटिया हो र कोरोनाकी माई मेरी मेहरारु ! ...”  

प्रकाशित: १० जेष्ठ २०७७ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App