ढल्को तेक्वान्दो डोजाङ काठमाडौं महानगरपालिका वडा-८ अध्यक्ष तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन भएको छ।
काठमाडौं महानगरपालिका वडा नं. ८ को सहयोग तथा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा ढल्को कुल तीन स्वर्ण, दुई रजत र दुई कांस्यसहित टिम च्याम्पियन भएको हो। तीन स्वर्णसाथ लायन मार्सल आर्ट दोस्रो भयो। तेस्रो स्थानको दिलीप स्मृति तेक्वान्दो डोजाङले १ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो। विजेतालाई नेपाली कांग्रेस क्षेत्र–४ का अध्यक्ष श्यामकृष्ण संगत, वडा–८ का अध्यक्ष आशामान संगत, वडा सदस्य सरस्वती राजभण्डारी र शेखर देउलालगायतले विजेतालाई पुरस्कृत गरेका थिए।
त्यसअघि एकदिने प्रतियोगिताको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले उद्घाटन गरेकी थिइन्। जयवागेश्वरीस्थित गोल्डेन दरबार बैंक्युटमा भएको प्रतियोगितामा विभिन्न १३ स्पर्धामा २ सय १० खेलाडी प्रतिस्पर्धा गरेका थिए। हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरे।
प्रकाशित: ४ माघ २०८२ ०८:२३ आइतबार





