१४ जेष्ठ २०७७ बुधबार
अन्य

चित्रहरु कोर्दा समय बितेको पत्तै हुदैन

नुमिसा ढकाल

कक्षा  ९,

गोरखा युनाइटेड पब्लिक स्कुल, कोहलपुर १२, बाँके ।

कोभिड १९ का कारणले विश्व लकडाउनमा छ । कोरोना भाइरसबाट बच्न विश्व लकडाउनमा छ । हामी पनि लकडाउनमै छौं । नेपालले लकडाउन गरेको पनि दुई महिना भएको छ । कोरानाको कुनै भ्याक्सिन नबनेको र औषधि पनि पत्ता नलागेकोले लकडाउन गर्नु र सामाजिक दुरी कायम गर्नु नै सबैभन्दा उपयुक्त देखिएको छ । ‘रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु जाति हुन्छ’ भनेझैं कोरोनाबाट जोगिन लकडाउन नै उपयुक्त  मानिएको छ ।

लकडाउनको पालना गर्नु हाम्रो लागि सबैभन्दा राम्रो बाटो हो । यस समयमा सकेसम्म सुरक्षित भएर घरैमा बस्नुपर्छ । लकडाउनको पालना गर्न सकेनौं भने हामी आफैं पनि असुरक्षित हुन्छौं ।  नेपाल गाउँ नै गाउँले बनेको छ । चेतना र स्वास्थ्य सुविधाका हिसाबले नेपाल कमजोर मानिन्छ । संचार माध्यमले नेपालमा लकडाउनको पालना कम भएको उल्लेख गरेको छ । 

यो हाम्रै लागि हो भन्ने कुरा बुझ्न जरुरी छ । अहिले यसलाई राम्रोसँग पालना गर्न सके मात्र कोरोना भाइरसलाई सजिलैसँग परास्त गर्न सक्छौं । नत्र संक्रमितको संख्या बढ्न गई मृत्युदर बढ्नेछ । यसले हामीलाई निकै असहज बनाउने छ । विश्वले सजिलै परास्त गर्न नसकेको कोरोनालाई हामीले लकडाउनको नियम पालना गरेर परास्त गर्नुपर्छ ।

हामी आफ्नो घरमा सुरक्षित छौं । कोरोनासम्बन्धी चेतनामुलक कार्यक्रमहरु हेर्ने र सुन्ने गरेर दिन बिताएका छौं । दुरी कायम गर्ने, साबुनपानीले राम्रोसँग हात धुने, अरुको सम्पर्कबाट टाढा बस्ने, तातो र ताजा खानेकुरा खाने जस्ता कुराहरु बुबाआमाबाट सिकिरहेका छौं र भाइबहिनीहरुलाई सिकाइरहेका छौं ।

म ९ कक्षाको विद्यार्थी हुँ । सामाजिक संजालको माध्यमबाट हाम्रो विद्यालयले नतीजा प्रकाशन गरिसकेको छ । स्कुल खुल्ने अवस्था छैन भने पाठ्यपुस्तकहरु उपलब्ध हुन सकेका छैनन् । हाम्रा लागि यस्तो परिस्थिति हुनु चिन्ताको विषय हो । चिन्ता मानेर पनि त भएन । यस्तो समयमा धैर्य हुनु नै राम्रो हो जस्तो लागेको छ ।

 विभिन्न तरीकाले समयको सदुपयोग गर्दैछु  । मन परेका चित्रहरु कोर्छु ।  मन परेका चित्रहरु कोर्दा समय बितेको  पत्तै हुदैन । बाबाआमालाई घरायसी काममा सहयोग गर्ने गरेकी छु । बिहान उठ्नेबित्तिकै व्यायाम गर्छु । कहिलेकाहीं खानापछि विभिन्न किसिमका मनोरन्जन र ज्ञान दिने खालका फिल्महरु हेर्छु । कहिले पुस्तकहरु पढ्छु । घरका सामानहरु मिलाउँछु । घर सफा गर्छु । कोरोनाले बढाएको मनोवैज्ञानिक त्रास हटाउन भाइसँग क्यारेमबोर्ड, चेस र लुडो खेल्छु । भाइलाई आफूले जानेका कथा सुनाउँछु ।

कहिलेकाहीं निरास हुन्छ । निरास लागेको बेला युट्युबमा विभिन्न किसिमका ज्ञान र मनोरञ्जन दिने भिडियोहरु हेर्ने गर्छु । नबुझेको कुरा बाबाआमासँग छलफल गर्छु । अभैm चित्त नबुझे साथीहरु र शिक्षकहरुसँग सामाजिक संजालको माध्यमबाट सम्पर्क गर्छु । कहिलेकाहीं टेलिभिजन हेर्छु । टेलिभिजनमा डिस्कभरी च्यानलमा नयाँनयाँ कुराहरु दिइरहन्छ । यो च्यानल हेर्न मलाई मन पर्छ ।  

खाना पकाउन पनि मलाई मन पर्छ । लकडाउनले मलाई खाना पकाउन सिकाएको छ । आफूले नजानेको परिकार बनाउन आमाले सिकाउनु हुन्छ । साथै युट्युबको सहयोग लिएर पनि विभिन्न किसिमका परिकार बनाउन सिकेकी छु । यो पनि मेरो लकडाउनको सदुपयोग हो ।  

नाचगानमा मेरो औधी रुचि छ । स्कुल चलिरहेको समयमा नृत्यलाई समय छुट्याउन निकै गारो हुन्थ्यो । तर अहिले मसँग प्रशस्त समय छ । त्यसैले कोठामा गीत बजाएर नृत्यको अभ्यास गरिरहन्छु । सामाजिक संजालमा विभिन्न नाचहरु हेरेर पनि नाचको स्टेप सिक्ने गरेकी छु ।  

म जस्तै धेरै साथी घरभित्रै बस्नुभएको छ । सम्पूर्ण साथीहरुलाई कोरोनाको भयमा नपर्न अनुरोध गर्छु । कोरोना आफैं घरभित्र आउँदैन । हामीले लिन गए मात्र आउने हो । त्यसैले घरभित्र सुरक्षित बस्नुपर्छ । मनलाई शान्त बनाउन मेडिटेसन गर्नुपर्छ । विभिन्न अनलाइन कक्षामा पढाएका कुराहरु ध्यान दिएर सुन्नुपर्छ । आफ्नो घरको वरिपरि खाली जमिन छ भने बाहिर निस्कन पनि सकिन्छ । सामाजिक दुरी कायम गर्न सके साथीहरुसँग भेटघाट गरेर नजानेको कुरा छलफल गर्न पनि सकिन्छ ।

यो समय सुरक्षित भएर बस्ने समय हो । त्यसैले हामी आफू पनि बाँच्न र अरुलाई पनि बचाउनका लागि संयमित भएर घरभित्रै रमाएर बस्नुपर्छ ।

प्रकाशित: ९ जेष्ठ २०७७ १७:०१ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App