८ वैशाख २०८१ शनिबार
अन्य

दुःखीलाई हसाउँछु

अनुषा घिमिरे

अनुषा घिमिरे

कक्षा ः १०, सरस्वती मावि

अत्तरखेल, काठमाडौं

पृथ्वीका हरेक मानिसको अनुहार फरकफरक भए जस्तै तिनका शौख पनि फरकफरक हुन्छन् । जुन काम गर्दा बढी आनन्द र खुसी मिल्छ त्यसलाई शौख भनिन्छ । सुखानुभूति हुने हरेक काम शौख हुन् । कुनै भौतिक लाभको अपेक्षा बिना गरिने कार्य शौख हुन् ।  

कसैलाई खाने शौख हुनसक्छ त कसैलाई खेल्ने । कसैलाई घुमफिर गर्ने शौख हुन्छ भने कसैलाई लेखपढ गर्ने । त्यस्तै कसैलाई दीनदुःखीको सेवा गर्ने शौख हुन्छ भने कसैलाई दानधर्म गर्ने । कतिपयले अरूलाई दुःख दिनुलाई पनि शौखका रूपमा लिएको पाइन्छ । त्यस्तो हुँदैँनथ्यो भने पहिलेपहिलेका राजामहाराजादेखि वर्तमानमा समेत शक्तिमा रहेकाले सिकार खेल्ने नाममा किन निरिह प्राणीको हत्या गर्थे ?

जसरी मन हावाजस्तै सर्वव्यापक, पानी र समय जस्तै चञ्चल र अनियन्त्रित हुन्छ, त्यसैगरि उमेर, समय र स्थान अनुसार शौख परिवर्तित हुँदै जान्छन् । बाल्यकालमा हुँदा गुडिया र भाँडाकुटी खेल्नु मेरा शौख थिए भने उमेरसँगै मेरा शौख पनि परिवर्तित भएका छन् । भविष्यमा भइरहनेछन् ।  

म संगीत पनि सुन्छु । संगीतले जीवनमा ऊर्जा बढाउँछ । यसले मानिसको दुःख र थकान दूर गरिदिन्छ । 

पछिल्लो समयमा मैले साहित्य अध्ययन र लेखनलाई प्रमुख शौखका रूपमा लिने गरेकी छु । साहित्यको अध्ययनले प्राचीनकालदेखि भविष्यसम्मको समाजका  गतिविधिको ज्ञान हासिल गर्न सकिन्छ । त्यसैगरि जीवनमा कुन काम गर्दा राम्रो हुन्छ र कुन काम गर्दा नराम्रो हुन्छ भन्ने बुझ्न सकिन्छ । आफूले लेखेको साहित्यबाट यी कुरालाई अरूसम्म पु¥याउन सकिन्छ । साहित्यतर्फकै रूचिका कारणले आज मैले जीवनको वास्तविकता बुझ्न थालेकी छु ।  

त्यसैगरी बालबालिकालाई कथा, कविता लगायतका सिर्जना सुनाएर उनीहरूसँग  रमाउनु मेरो अर्को शौख । आफूभित्रका दुःख र पिडालाई बिर्सिदै उनीहरूसँगै रमाउने गर्छु । उनीहरूको मुस्कानमा सुखानुभुति गर्छु ।  

मलाई फुर्सदमा परिवार र साथीसँग घुमफिर गर्न मनपर्छ । पाँखापखेरा र हरियाली भएका स्थानमा । चाँदि झैं टल्केका हिमशृङ्खला, खोलामा कलकल पानी, बोटविरूवाबाट निस्केको शितल हावा अनि चराचुरूङ्गीको चिरबिरले मन प्रफुल्ल हुन्छ । यसरी भ्रमण गर्दा दोहोरो फाइदा हुन्छ, पहिलो परिवारलाई समय दिन पाइयो, दोस्रो नयाँ ठाउँका बारेमा ज्ञान लिन सकिन्छ ।  

त्यसैगरी पत्रपत्रिका पढ्नु मेरो अर्को महत्वपूर्ण शौख हो । पत्रपत्रिका ज्ञान आर्जनका बहुआयामिक श्रोत हुन् । पत्रपत्रिकामा देश, विदेशमा भएका महत्वपूर्ण घटनाका साथै आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक लगायत सबै क्षेत्र समेटिएको हुन्छ । जसले गर्दा सानो कोठामा बसेर देशका कुनाकन्दरादेखि विश्व भ्रमण गर्न पाइन्छ ।  

स्वस्थ भोजन बनाएर परिवारसँग खानु मेरो अर्को शौख । मानिसको स्वास्थ्यलाई हानी गर्ने रूने र रूवाउने काम गर्न सजिलो छ तर स्वास्थ्यलाई फाइदा हुने हाँसो निकाल्न कठिन छ । म मान्छेको अनुहारमा हाँसो ल्याउने काम गर्छु । हाँसोमा सुःख लुकेको हुन्छ त्यसैले मौका मिल्नासाथ सबैले हाँस्नुपर्छ भन्ने बुझेर टिभीमा मुन्द्रेको कमेडी क्लब, कमेडी च्याम्पियन, कपिल शर्मा शो, हल्का रमाइलो, सक्किगो नि लगायत शृङ्खला हेर्ने गरेकी छु ।  

म संगीत पनि सुन्छु । संगीतले मानिसका दुःख, पिडा र थकान दुर गरिदिन्छ । संगीतले जीवनमा ऊर्जा प्रदान गर्दछ । त्यसैगरी खेलले शरीर स्वस्थ राख्छ । म विशेषगरी क्रिकेट, ब्याडमिन्टन, स्किपिङ्, चेस, लुँडो लगायत खेल खेल्छु ।  

मलाई अरूको आँखाबाट आँशू झरेको देख्दा दुःख लाग्छ । त्यसैले अरूको आँखाबाट आँशु झर्न नदिन प्रयास गर्छु । दुःखीलाई हँसाउने काम गर्छु ।  

म साधारण हिसाबले सकारात्मक सोचका साथ जीवन विताउन चाहन्छु । मेरा शौखले मलाई सफल बनाउने प्रेरित गरिरहन्छन् । मलाई थाहा छ मेरो सफलताले मेरो परिवारमा खुसी ल्याउने छ ।  

प्रकाशित: ४ जेष्ठ २०७७ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App