१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

राष्ट्रभक्तिको सन्देश

बिबिशा सापकोटा, कक्षा: ९
अर्घाखाँची आवसिय माध्यमिक विद्यालय, सन्धिखर्क, अर्घाखाँची। 

सरकारले लकडाउन गरेपछि सबै गाडी बन्द भए । मानिसहरू घरबाट बाहिर निस्कन छाडे । सबैजना घरमै बसेर समय बिताउन थाले । एक किसिमले सबै आ–आफ्नो परिवारसँग क्वारेनटिनमा बस्न थाले । अर्घाखाँचीमा लकडाउनको पालना राम्रोसँग भएको छ । रासन र दुग्ध पदार्थका पसल केही समयका लागि मात्र खुल्छन् । यस्तै ढुवानीमा पनि रासन र पानीका गाडी बाहेक अरु चलेका छैनन् । 

मानिसले घरमै बसेर नयाँ कुरा सिकेका छन् । मन परेका पुस्तक पढ्ने, सिनेमा हेर्ने र संगीत सुन्ने काम गरिरहेका छन् । केटाकेटी घरमा बसेर आफैं अध्ययन गरिरहेका छन् । इन्टरनेटका माध्यमले नयाँनयाँ कुरा सिकेका छन् जस्तै खाना पकाउन, नयाँ चिज बनाउन आदि । छिमेकीहरूसँग पनि प्रत्यक्ष कुराकानी भन्दा इन्टरनेटको प्रयोग गरेर सञ्चार गरिरहेका छन् । 

अत्यावश्यक काममा घरबाट बाहिर निस्कँदा मास्क र पञ्जा प्रयोग गर्छन् । सबै जना आ–आफ्ना ठाउँमा सचेत बनेका छन् । जरुरी काममा पनि घरबाट एक जना भन्दा दुई जना निस्केका छैनन् । 

लकडाउनका बेला हामी सबै एक जुट भएर घरमै बसौं । राष्ट्रभक्तिको सन्देश बाँडौं । घरमै बसेर महामारीसँग लडौं ।

अर्घाखाँचीमा लकडाउन उलंघन गर्नेलाई नेपाल प्रहरीले कडा सजाय दिएका छन् । कोरोनाबाट बच्न किटनाशक औषधि पनि छरेका छन् । मानिसले डरलाग्दो भाइरसबाट बच्न आफैं घरमा स्यानिटाइजर पनि बनाएका छन् । स्यानिटाइजरमा अल्कोहलको मात्रा ६० प्रतिशत भन्दा माथि हुनु पर्ने रहेछ । 

वरपर हरियाली छाएको छ । चराको चिरबिर सुनिन्छ । हामी घरबाटै तिनको अवलोकन गरेर समय कटाइरहको छौं । केही दिन अघि नयाँ वर्षको दिन लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले बाटोमै कुखुरा बनाएको दृश्य पनि देखियो ।

बैशाख १ गते सबैले घरको छतमा उभिएर बिहान आठ बजे राष्ट्रिय गान गायौं । वास्तवमा राष्ट्रिय गान हामी सबैको गौरव हो । मलाई राष्ट्र भक्तिले ओतप्रोत भएका गीत मन पर्छ । त्यस्तै लोकगीत पनि मन पर्छ । 

कोरोनाका कारण मानिसले परिवारसँग लामो समय बिताउन पाएका छन् । समय जसरी बढिरहेको छ म भित्र कौतुहलता पनि बढ्दो छ । आखिर कहिलेसम्म त यो लकडाउन ? मानिसहरूको स्थिति दयनीय छ । अझ गरिबहरूको स्थिति त झन् भन्न सक्दिनँ म । कति दुःख भएको होला उनीहरूलाई । 

हामीले घरमा पूर्ण सर्तकता अपनाइरहेका छौं । हाम्रोतिर मानिसले जुन ढंगले लकडाउन पालना गरेका छन्, त्यही किसिमले सबैतिर पालना गरेमा राम्रो हुन्थ्यो होला । लकडाउनमा हामी सबै सचेत हुनु पर्छ । लकडाउनको महत्व नबुझेकालाई बुझाउनु पर्छ । अर्घाखाँचीमा त प्रहरी र नगरपालिकाले बुझाउँदै हिँडेका छन् ।  

नेपाल प्रहरी र नेपाली सेना हाम्रो सुरक्षाका लागि यस्तो त्रासमा पनि सक्रिय छन् । यस्ता नेपाल माताका सेवकलाई अभिवादन गर्दछु । लकडाउनका बेला हामी सबै नेपाली एक जुट भएर घरमै बसौं । राष्ट्रभक्तिको सन्देश बाँडौं । घरमै बसेर महामारीसँग लडौं । 

प्रकाशित: ११ वैशाख २०७७ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App