१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

हामी सधैं साथी

यिमोन निरौला,कक्षा ६
केएमसी स्कुल,बुद्धनगर, काठमाडौं 
मेरा नजिकका साथी दुख र दुःखका सहयात्री हुन् । आवश्यकतामा सहयोग गर्ने परिवार बाहेकका मान्छे भनेका साथी नै हुन् । आमाको काख र साथीको साथ भन्ने त भनाई नै छ । म पढ्ने विद्यालयमा तीन जना मिल्ने साथी छन् । उनीहरू दिलैदेखि सहयोगी छन् । 

ति मध्ये उत्कृष्ट पोखरेल एक हुन् । हाम्रो स्कूलमा नयाँ विद्यार्थी भई आउँदा उनी मात्र मेरा साथी थिए । उनीसँग खाजा खाने, सँगै खेल्ने र बस्ने गर्थें । म केएमसी स्कुलमा आएको दुई बर्ष भयो, उत्कृष्ट सधैं मसँग मिल्छन् । हामी बीच कहिलेकाहिँ झगडा भैराख्छ तर हामी छिट्टै बोलिहाल्छौं । उनी पढाइमा राम्रो छन् र फुटबल खेल्दा गोलकिपर बन्छन् । हामी समूह कार्यमा पनि एउटै समूहमा हुन खोज्छौं । उनको र मेरो कुरा मिल्छ । हामी सधैं मिल्ने साथी रहनेछौं । 

अब अर्को साथी प्रसंग तिमलसेनाको कुरा गर्छु है । उनको र मेरो भेट स्कूलको पहिलो दिनमा भएको थियो । पछि सम्बन्ध गाढा बन्दै गयो । म र उत्कृष्ट पहिले देखि नै साथी थियौं । उत्कृष्ट र प्रसंगको राम्रो मित्रता थिएन तर मैले गर्दा हामी तीनै जना मिल्ने साथी बन्यौं । अहिले लकडाउनमा पनि हामी बीच कुराकानी भैराख्छ । 

उत्कृष्टसँग जत्तिकै प्रसंगसँग पनि कुरा मिल्छ । उनको बौद्धिक क्षमता हाम्रो भन्दा राम्रो छ । साथी–साथीबीचको झगडा त सामान्य हो । प्रसंगको बाबासँग पनि मेरो राम्रो सम्बन्ध छ । हामी तीनै जना साथी पढाइमा अब्बल छौं । हामी जीवनभर साथी रहनेछौं । 

अहिले पढिरहेको विद्यालयमा मिल्ने अर्का साथी हुन्–रौनक पंगेनी । हामी साथी भएको वर्ष दिन मात्र भयो । २०७६ सालमा उनी नयाँ विद्यार्थी थिए, हाम्रो स्कुलमा आएको दुई महिनापछि हाम्रो मित्रता भयो । हामीसँगै पढ्ने, खाजा खाने र खेल्ने गर्छौं । 

हामी चारै जनाको कुरा पनि उत्तिकै मिल्छ । हामीले नजानेका कुरा आपसमा सिक्छौं । हामी सधैं मिल्ने साथी बनिरहन चाहन्छौं । 

यि साथी बाहेक पुरानो स्कुलका साथीहरूको पनि सम्झना आइरहन्छ । उनीहरूलाई नदेखेको पनि धेरै भयो । ति मध्ये दुई जना साथीहरूको यहाँ चर्चा गर्छु । पहिलो साथी उर्बी श्रेष्ठ हुन् । त्यतिबेला उनी शंखमुलमा बस्थिन, अचेल कता बस्छिन् कुन्नी । हामी कक्षा एकदेखि कक्षा ४ सम्म मिल्ने साथी भयौं । संगै पढ्ने, खेल्ने र गितार बजाउने गथ्र्यौं । मलाई कसैले कुट्यो भने उनी बचाउँथिन् । उनलाई एपेन्डिसाइट भएका बेला मैले उनको छुटेको कक्षा कार्य गरिदिएको थिएँ । मलाई शरीरमा ठेउला आउँदा सबैले जिस्काए तर, उनले जिस्काइनन् । मेरो कक्षा कार्य पनि गरिदिइन् । उनी अहिले कहाँ होलिन् ? भबिश्यमा हाम्रो भेट पक्कै हुने आशा छ । 

दोश्रो साथी चाहिँ गौरव शाक्य हुन् । उनसँग कक्षा दुईमा भेट भएको थियो । उर्बी, गौरब र म मिल्ने साथी बन्यौं । गौरवको ब्रतबन्धको पार्र्टीमा मामु र म गएका थियौं । उनको मामु र बाबा बेलायतमा हुनुहन्थ्यो । उनी मामाघरमा बस्थे । हामी राम्राराम्रा चित्र पनि कोथ्र्यौं । उनी पनि अहिले बेलायतमा छन् । त्यहाँ बाबाको रेष्टुराँ छ भन्थे । बेलाबेलामा उनीसँग कुरा भइराख्छ । भबिश्यमा उनीसँग पक्कै भेट होला ।

अहिले लकडाउनमा बसिरहेका बेला म साथीहरूलाई सम्झिरहेको छु । साथीहरू  सधंै सुखि, सहयोगी, इमान्दार, भलाद्मी र आत्मिय हुन् भनेर प्रार्थना गर्दैछु । हामीले सोच्नुपर्छ कि हामीसँग साथीमा हुनुपर्ने गुण छ कि छैन ? अन्त्यमा, प्रजन महर्जन, संस्कृति पाण्डे, आस्तिक ठाकुर, अथर्व बस्न्यात, देवान्स थापा, प्रिन्स अधिकारी, अधिश्री बस्नेत, मानुश्री पोखरेल, सबिन खड्का लगायत कक्षाका सबै साथीलाई नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना ! हाम्रो साथ कहिल्यै नटुटोस् । 

प्रकाशित: ६ वैशाख २०७७ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App