१८ जेष्ठ २०७७ आइतबार
अन्य

आमाको भाव

छोरीको बिदाई गर्ने काम साह्रै गाह्रो रहेछ ! मनलाई थाम्न नसकिने, आँशुलाई रोक्न नसकिने ! गएको महिना मैले मेरी छोरीलाई ‘पराइघर’ बिदा गर्नुपर्‍यो । त्यो बेला अनायाश नै छोराका आँखा रसाए, मेरा आँखा वर्षिए ।

सबैलाई थाहा छ, सन्तान हुर्के बढेपछि आ–आफ्नो नयाँ संसार खोज्छन् । नयाँ संसार बसाउँछन् । छोरीको बिदा पनि यही एउटा कडी थियो ।

हुन त बिहेका बेला हामी आमा–छोरीको अधिकांश समय मौन संवाद नै भयो । तर त्यो मौन संवादमा पनि मलाई छोरीका आँखाले पिलिक–पिलिक मलाई नै हेर्दै कयौँ प्रश्न गरेको म बुझ्थेँ । म काँतर भएर प्रायः ती प्रश्नलाई छेलिरहेँ ।

छोरीका आँखा र मनले सोध्न चाहेका तर नफुत्किएका कयौँ प्रश्नहरुले मन कुँड्याइदिँदोरहेछ । दाजुभाइलाई घरैमा राख्छौ अनि मलाई किन पठाउँछौ ? म जन्मेदेखि २०/२५ वर्ष यसै घरलाई मैले मेरो घर सम्झेँ । मैले शिक्षादीक्षा अनि जीवन जिउने कला र राम्रा पाटा यहीँबाट सिकेँ । यही घर र यही परिवारले मलाई यति धेरै माया दियो कि हरेक अप्ठेराहरुसँग लड्न सिकायो । समाजका राम्रा–नराम्रा पाटाहरु खुट्याउनु सिकायो ।

उसका वेचैन आँखाले फेरि पनि प्रश्न सोधेझैँ लाग्छ, ‘मैले आफ्नो कर्तव्य पालन गर्ने बेलामा तिमीले अर्को घर पठाउन थाल्यौ ? के यो घर मेरो पनि घर होइन ? के मैले अझै केही समय धित मरुञ्जेल यहाँ बस्न पाउँदिनँ ? किन मलाई अन्माउने साइत बित्न आँट्यो भनेर तिमीलाई हतारो हुन्छ ? तिमी छिटो गर, अनि बिदा लिएर जाऊ किन भन्न खोज्छन् आमा तपाईंका यी आँखाले ? किन मेरो घर होइन भन्न खोज्दैछ अघिदेखि बजिरहेको गीतले ?
हुन पनि ब्यान्ड बाजाले बजाइरहेको छ– एउटा विरहलाग्दो धुन ! जसले भनिरहेको छ–
माइती घर तिम्रो होइन
पराइ घर जाऊ...।

अनि फेरि अर्को धुनले फेरि लय समाउन थालिहाल्छ–
मेरी बाग की तुँ नाजुक डाली,
तुझे हर पल नई बहार मिले...।

त्यो सकिएको हुँदैन, फेरि अर्को आवाज सुनिन्छ,
फसलेँ जो काटी जाती है
उगती नहीँ है
बिटियाँ जो ब्याही जाती है
मुड्ती नहीँ है !

सयौँ वर्ष अगाडि रचिएका नियमहरु किन अहिले पनि यही छ ? छोरीका आँखाबाट बगिरहेका आँशुले सोधिरहेका प्रश्नहरुले मेरो मुटु छियाछिया पारिरहेको छ । आफ्नो मुटुको टुक्रालाई बिदा गर्दा कुन आमाबाबाको मन नरोला ! मेरो मन पनि उसका आँशुसँगै पग्लिरहेको छ, द्रवित मन उद्विग्न भइरहेको छ ।

हुन पनि, हुर्काई–बढाई–पढाई अर्को घरलाई जिम्मा दिनुपर्ने तर नगरी पनि नहुने यो अनौठो र अनिवार्य चलन छ । यसो नगरे यो सृष्टि नै ठप्प हुन्छ । संसार नै अघि बढ्दैन । पहिला–पहिला त पर नसरी (महिनावारी) नै छोरीलाई पराई घर हुत्याउने चलन थियो । कम्तीमा चेतना बढ्दै जान थालेपछि यो क्रम रोकिएको छ । कम्तीमा शिक्षित समुदायमा यो क्रम रोकिएको छ र छोरीहरु शारीरिक र मानसिक रुपमा सबल बनाएर घर–परिवार हाँक्ने बल दिई पठाइन्छ ।

हाम्रो पछिल्लो विगत पनि त त्यस्तो थिएन । हाम्रा आमा पुस्ताहरु सानै उमेरमा वैवाहिक जीवनमा बाँधिनुपथ्र्यो । ६ देखि १४ वर्षको उमेरमै बिहे गरिदिने चलन थियो । खाउँखाउँ र लाउँलाउँको उमेरमा पराइघर जाँदा जस्तो साँचोमा ढाल्यो, उस्तैमा ढलेर एउटा परिपक्व ‘घरखाने छोरी’ बनाइन्थ्यो । बुहारी भएपछि सहनु पर्छ भन्ने बाध्यताको जीवन बाँच्नुपथ्र्यो ।

अहिले भने पहिलेको जस्तो अवस्था छैन । छोरा–छोरी दुवैलाई समान रुपमा हुर्काउने प्रयास समाजले गरिरहेको छ । यसका साथै छोरीले पनि छोराकै जस्तो काम र कर्तव्य गर्नुपर्छ भन्ने चेत र आत्मविश्वास छ । समान हक, अधिकार पाएर हुर्किएका छोरी पुस्ताले यतिबेला माइतबाट बिदा लिएर जानै पर्ने, कन्यादान गर्नैपर्ने अनि आमाले ‘धर्मगाँठो’ बाँधेर मारे भर्खरै पाएको ज्वाइँलाई ‘मारे पाप, पाले पुण्य’ जस्ता शब्द व्यक्त गर्नुपर्ने संस्कारले हामी कति टाढासम्म आइपुगेछौँ भन्ने बोध हुन्छ ।

यस्ता शब्दले आमाको मन एकदमै छुने रहेछ ! छोरीलाई बिदा गर्ने क्षणमा ती शब्द व्यक्त गर्नुपर्दा भक्कानो नै छुट्ने रहेछ ।

हो, बिहेबारीका अवस्थामा कतिपय शब्दहरु सुन्दा वा भन्नु पर्दा ती शब्द नै संशोधन गर्नुपर्ने बेला पो आएको हो कि भन्ने महसुस हुने रहेछ । जस्तो ‘मारे पाप, पाले पुण्य’ भन्ने शब्द अहिलेको समयमा पुरानै भइसकेको महसुस गराउँदो रहेछ ।

तर कतिपय अवस्थामा ती शब्द र भावनाले हामी कति टाढा आइपुगेछौँ र ती शब्दहरु कसरी पुरातन र प्राचीन शब्दमा परिणत भइसकेछन् भन्ने पनि जनाउँछ । यसले हामीले गरेको प्रगति, महिलाको अवस्थामा आएको परिवर्तन पनि इंगित गर्छ ।

त्यसो त केही पुरातन संस्कार हामीले छाड्न सकेका छैनौँ । घरेलु हिंसा र ज्यानै लिने घटना पनि कहिलेकाहीँ नदेखिएका होइनन् तर तुलनात्मक रुपमा यो कम हुँदै गएको हो कि भन्ने समयले प्रमाणित गरिरहेको छ । महिला अब पहिलेजस्तो तिम्रो पाउको धुलोको आत्मियता पाए पनि पुग्छ भन्ने अवस्थाबाट अघि बढेर सहधर्मी र सुखदुःखमा सँगै जीवन जिउने संगी तथा एक रथका दुई वास्तविक पाङ्ग्राका रुपमा परिणत भइसकेको छ ।
यसका बाबजुद पनि छोरी बिदा गर्दा अनायास नै आँखा रसाउनु ममत्वको उत्कर्ष पो हो कि !

प्रकाशित: २१ चैत्र २०७६ १२:५४ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App