९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

जन्मदिनको उपहार

दिनमान गुर्मछान
प्रेरणाको जन्मदिन आउन लागेको थियो। जतिजति जन्मदिन नजिकिदै थियो प्रेरणा उति नै रमाउँदै थिइन्। उनलाई आफ्नो जन्मदिनमा बुबाआमाले दिने उपहारको कल्पनाले पनि रोमाञ्चित बनाइरहेको थियो।

“मेरो जन्मदिनमा मलाई बुबाआमाले नयाँ झोला दिनुहुन्छ रे !” सविनाले स्कुलबाट फर्किने बेला भनिन्। सविनाको स्कुल झोला पुरानो र च्यातिन लागेकाले बुबाआमाले नयाँ किनिदिने भन्नुभएको कुरा बताइन्। प्रेरणालाई त के दिनुहुन्छ भन्ने नै थाहा थिएन। उनले यति मात्र भनिन्, “मलाई त नयाँ लुगा किनिदिनुहुन्छ होला।”

उनीहरू बाटामा यस्तै कुरा गरेर घर फर्किए। प्रेरणालाई आफ्नो जन्मदिनमा के दिनुहुन्छ होला भनेर खुलदुली भइरह्यो। गृहकार्य गरेर उनी आमालाई भान्साकोठामा सघाउन पुगिन्। उनले काम गरेको देखेर आमाले भन्नुभयो, “छोरी तिमीले काम किन गरेको ? गृहकार्य सकिएको भए तिमी किताब पढेर बस्न सक्छौ नि !” आमाले अतिरिक्त पढाइको समेत कुरा गर्नुभयो। प्रेरणाले चाहिँ आफ्नो गृहकार्य सकिएको र एकछिनको लागि भान्साकोठामा बस्ने मनसाय बताइन्। एकछिनपछि आमाले फेरि सोध्नुभयो, “छोरी प्रेरणा, तिमीलाई के भयो ? किन टोलाएर बसेकी ?”
अचानक आमाको यो प्रश्नले उनी झस्किइन्। उनी त केके जाति सोचेर पो बसेकी रहिछिन्। उनलाई लाज पनि लागेर आयो। उनले हतारहतार भनिन्, “केही होइन आमा। स्कुलमा आज पढाएका कुराहरू सम्झिन लागेको।” उनले आमालाई सजिलै ढाँट्न भियाइन्। आफूले सोचिरहेको कुरा आमालाई कसरी बताउने ? आमाले मलाई लोभी पो भन्ने हुन् कि भन्ने सोचेर उनले केही भनिनन्। बरु कोठामा गएर किताब झिकेर पढ्न थालिन्।

प्रेरणाको जन्मदिन पनि आयो। बिहान उठ्नासाथ भाइले उनलाई जन्मदिनको शुभकामना दियो। बुबाआमाले पनि शुभकामना दिनुभयो। हिजो मात्रै घरमा प्रेरणाको काका पनि आउनुभएको थियो। उहाँले पनि उनलाई शुभकामना दिनुभयो। पूजापाठ सकेर सबैले उनलाई टीका लगाइदिए। प्रेरणालाई चाहिँ सबैले केके उपहार देलान् भनेर मनमा खुलदुली भइरहेकै थियो। सबैले एकसाथ उपहारको पोको उनीतिर तेस्र्याए। उनले खुसी हुँदै सबैको उपहार समाइन्। सबैलाई धन्यवाद दिइन्।

जन्मदिनको उपहार पाएर प्रेरणा मक्ख थिइन्। उनलाई उपहारको पोको कुन बेला खोलेर हेरूँ भइरहेको थियो। सबै जना भान्साकोठामा गएको मौका पारेर उनले उपहारको पोको एकएक गरेर खोलिन्। आमाबुबाले नभन्दै नयाँ लुगा दिनुभएको रहेछ। भाइले चाहिँ कलर पेन्सिलको प्याकेट दिएको थियो। काकाले उपहारमा किताब दिनुभएको रहेछ। उनले किताब भन्ने थाहा पाइन्। काकाले शहरबाट आफूलाई हुने केही नयाँ कुरा दिनुभएको होला भन्ने उनको सोचाइ थियो। सोचेजस्तो भइदिएन।

उनी खाना खाएर स्कुलतिर लागिन्। बाटोमा प्रेरणाले सोचिन्, मेरो काकाले किताब किन दिनुभएको होला ? स्कुलको किताब पढेर फुर्सद हुँदैन। अरू किताब कहिले पढ्नु होला ?  उनलाई उपहारमा किताब दिएको मन परेन। सोच्दासोच्दै उनी स्कुल पुगिन्।

स्कुलमा आज वक्तृत्वकला प्रतियोगिता थियो। प्रतियोगितामा सहभागीहरूले बोलेको सुनेर प्रेरणा छक्क परिन्। कसरी बोल्न सकेका होलान् भनेर सोचिन्। आफूलाई पनि यसरी नै बोल्न आए कति राम्रो हुन्थ्यो भनेर सोचिन्। अझै पुरस्कृत विद्यार्थीले आफू पुरस्कृत हुनु र वक्तृत्वकला प्रतियोगितामा बोल्न सक्नुको कारण बताएपछि उनी छक्क परिन्।

प्रेरणाले घर फर्किदा बाटामा सधैँ यसै गरी प्रतियोगिताहरूमा भाग लिने विचार गरिन्। यसै गरी निर्धक्क बोलेर सबैको बधाई लिन पाए कति राम्रो हुन्थ्यो भनेर सोचिन्। उनी यस्तै कुरा सोच्दासोच्दै घर पुगिन्। झोला राखिन्। त्यही बेला उनले बिहान त्यसै राखेको किताब देखिन्। हतारिँदै उनले किताब हातमा लिइन्। किताब पल्टाउन मन लागेर पल्टाउँदै भित्र हेरिन्। आहा ! उनी खुसीले उत्साही भइन्। रङ्गीन चित्र सहितको भूगोलको किताब रहेछ। विभिन्न देश र ठाउँबारे सचित्र वर्णन गरिएको देखेर उनी दङ्ग परिन्।

“यो किताब त निकै राम्रो पो रहेछ। यसले नयाँ कुरा सिकाउने रहेछ।” उनले मनमनै भनिन्। अनि दिउँसो स्कुलमा वक्तृत्वकला प्रतियोगीहरूले आफूहरूले स्कुलका बाहेक अन्य ज्ञानवद्र्धक किताब पढेको र त्यसैबाट विभिन्न कुरा सिकेको कुरा गरेको सम्झिन्। प्रेरणा खुसी हुँदै नयाँ किताब लिएर पढ्न बसिन्। उनलाई जन्मदिनमा किताब उपहार दिएको अहिले चाहिँ खूब मन प¥यो।

प्रकाशित: २३ कार्तिक २०७६ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App