२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

चितवनका तीन सहकारी झण्डै दुई अर्ब लिएर फरार, आन्दोलनमा उत्रिँदै पीडित

चितवनका तीन सहकारी बचतकर्ताको एक अर्ब ९२ करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, सनराईज बचत तथा ऋण सहकारी संस्था र साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था करिब चार हजार बचत कर्ताको सो रकम ठगी गरेर फरार भएका हुन्।

यी सहकारीमध्ये सबैभन्दा बढी शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत कर्ताको रकम हिनामिना गरेको देखिन्छ। बचतकर्ताका अनुसार शिवशिखरका बचतकर्ताको ९८ करोड रुपैयाँ अपचलन गरेर सञ्चालक फरार छन्। त्यस्तै सनराईजको ९० करोड ८० लाख २० हजार र साहाराको ८५ करोड रुपैयाँ अपचलन गरेर फरार भएको साहारा बचत तथा ऋण सहकारीका पीडित संघर्ष समितिका संयोजक शालिक दुवाडीले जानकारी दिए।

तर, जिल्ला प्रहरी कार्यालयमा भने तीन वटा सहकारीका तीन हजार ५५५ बचतकर्ताको एक अर्ब ६३ करोड १३ लाख ४३ हजार १८५ रुपैयाँ अपचलन गरेको उजुरी परेको छ। यद्यपि अझै उजुरी आउने क्रम जारी रहेकाले यो रकम बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए।

‘हामीले सबैको हिसाब गरेका छैनौँ। उजुरी आउने क्रम जारी छ’, भण्डारीले भन्छन् ‘अन्तिम फाइल भएपछि मुद्दा चलाउँछौँ।’ अहिलेसम्म प्रहरीले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हिसाब गरेर टुङ्गाएर सरकारी वकिल कार्यालयमा पेश गरेको छ। सो सहकारी संस्थाले एक हजार आठ सय ४२ जना बचत कर्ताबाट ६६ करोड चार लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ।

सानो रकमका बचत कर्ताहरू उजुरी दिन नआएको प्रहरीको अनुमान छ। यस सहकारीका संस्थापक अध्यक्ष केदारनाथ शर्मा सहित १२ जना विरुद्ध उजुरी परेको छ। उजुरी परेका मध्ये संस्थापक अध्यक्ष शर्मा, निर्देशक गिता शर्मा, सदस्य पुस्कर मल्ल र अमिश राज भण्डारी पक्राउ परेका छन्। उनीहरु पूर्व पक्षका लागि थुनामा रहेको भण्डारीले जानकारी दिए।

शिव शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ। यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो। यसले देशका विभिन्न सहरमा ३५ बढी शाखा स्थापना गरेर ठगी गर्दै आएको बचतकर्ता बद्री अधिकारीले बताए। उनले प्रधानमन्त्री, गृहमन्त्री लगायतका निकायमा पुग्दा समेत न्याय पाउन नसकेको बताए।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक गितेन्द्रबहादुर राई (जिबी) बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन्। उनीमाथि बचतकर्ताको ८५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ। तर, प्रहरी कार्यालयमा अहिलेसम्म ३२४ बचतकर्ताले ३८ करोड ७६ लाख ६३ हजार ८७६ अपचलन भएको भनेर उजुरी हालेका छन्।

सो सहकारीबाट राईसमेत संलग्न अर्को संस्थालाई ४४ करोड रुपैयाँ बिना धितो दिएको जिल्ला प्रहरी कार्यालय चितवनले प्राप्त गरेको विवरणमा उल्लेख छ। उनी स्वयंको नाममा समेत एक करोड ७३ लाख चार हजार ६९१ रुपैयाँ बिना धितो झिकेको देखिन्छ।

त्यस्तै राईसमेत संलग्न जिबी ग्रुप अफ कम्पनीले एक करोड ४० लाख, नेचर हर्ब इन्टरनेसनल कम्पनीले नौ करोड ३८ लाख ८३ हजार र नेचर वेस्ट कम्पनीले ५ करोड ३१ लाख रुपैयाँ सहकारीबाट लगेको देखिन्छ । यसअघि रवि लामिछाने आबद्ध गोरखा मिडिया नेटवर्कले पनि उक्त सहकारीबाट ११ करोड ९५ लाख ८० हजार रुपैयाँ बिना धितो ऋण लगेको देखिन्छ।

त्यस्तै रिपिङ उड रेड स्टेटले १० करोड २८ हजार रुपैयाँ ऋण लगेको छ। चितवनमा नारायणगढ, टाँडी, पर्सामा उक्त सहकारीका कार्यालय छन्। पैसा डुबेपछि बचतकर्ताले २०७९ चैतमा संघर्ष समिति बनाएका थिए। संघर्ष समितिका संयोजक शालिकराम दुवाडी वडाध्यक्षदेखि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, गृहमन्त्रीलाई भेटेर अपिल गर्दासमेत बचतकर्ताले आफ्नो रकम पाउन नसकेको बताए। ‘हामी थाकिसक्यौँ। तपाईँहरू राजनीति गर्नुहोस्, तर हाम्रो पैसा फिर्ता गराइदिनुहोस्,’–उनले भने।

उनका अनुसार साहाराले दिएको ४५ करोड रुपैयाँ ऋण उठ्न बाँकी छ। त्यसमध्ये ४१ करोड रुपैयाँ जिबि राईसमेत संलग्न कम्पनीले लगेको छ। बचतकर्ता संघर्ष समितिको अगुवाइमा वडा कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन, सहकारी विभाग, गृह मन्त्रालयमा पटक पटक पुगेका छन्।

अनुसन्धानका लागि सहकारी विभागले २०८० साउन २४ गते राष्ट्रिय अनुसन्धान कार्यालयलाई अनुसन्धान गर्न पत्र काटेको छ। साहारा सहकारीको पुँजी रोक्का राखेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काम गरिरहेको दुवाडीले जानकारी दिए।

यस सहकारीको रकम ठगी आरोपमा जिबि राईसहित १० जना विरुद्ध  २०८० असोज ९ गते उजुरी परेको थियो। जिल्ला अदालत चितवनले गत असोज २९ गते जिबी राईसहित ११ जनाविरुद्ध पक्राउ गर्न आदेश दिइसकेको छ। जसमा सहकारीका सञ्चालक सदस्य, व्यवस्थापक समेत छन्।

चितवनको चार स्थानमा कार्यालय राखेर कारोबार गर्दै आएको सनराइज बचत तथा ऋण सहकारी संस्थाका पनि करिब दुई वर्षदेखि फरार छ।

जिल्ला प्रहरी कार्यालय चितवनमा परेको उजुरी अनुसार, १ हजार ३८९ जना बढी बचतकर्ताको ५७ करोड ९६ लाख ८ हजार ८०९ रुपैयाँ बढी रकम हिनामिना गरेर सञ्चालकहरू फरार छन् । यद्यपि बचत कर्ताले भने ९० लाख ८० हजार रुपैयाँ ठगी भएको बताएका छन् । उजुरी दिने क्रम जारी रहेकाले थप हुन सक्ने अनुमान छ । यसको कार्यालय लायन्सचोक, विकास चोक, चनौली र पावर्तीपुरमा यसको शाखा थियो।

यसका सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार रिमाल, उपाध्यक्ष सन्तोषी केसी, सचिव योगेन्द्र पाण्डे र कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। अध्यक्ष रिमाल र सचिव पाण्डे नवलपरासीको कावासोतीबाट पक्राउ परेका छन्। कावासोती प्रहरीले बुधबार अदालतमा मुद्दा पेश गरेको छ।

आन्दोलनमा उत्रिँदै चितवनका बचतकर्ता

चितवनका सहकारी पीडितले जेठ ११ गते आन्दोलन समेत गर्ने भएका छन्। आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने माग राख्दै सडकमा उत्रिन लागेको भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन्। शुक्रबार उनीहरुले भरतपुरको चौविकोठीबाट मेडिकल रोड, मालपोत चोक हुँदै जिल्ला प्रशासन कार्यालयमा गएर कोणसभा गर्नेछन्। 

प्रकाशित: ९ जेष्ठ २०८१ १९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App