१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक निर्माण गर्दा छोपिएका भैरव, सडक खनेरै निकालियो

तस्विर: अमृत पाण्डे

काठमाडौं महानगरपालिका–१ नक्सालमा सडकमुनि छोपिएको भैरवलाई खुला गराइएको छ।

नक्साल भगवती मन्दिरबाट नागपोखरीतर्फ जाने मुख्य सडकको मध्य भागमा रहेको चार ढुङ्गे स्थलमा सवारी साधन गुड्ने कालोपत्रे सडक मुनि कमलको आसनमा भैरवको स्वरुप शिवलिङ्ग फेला पारिएको हो।

त्यहाँ भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले संरक्षणमा लिएको छ। ४७ वर्षपछि भैरवको पुनराविष्कार हुँदा स्थानीयमा खुसीयाली छाएको छ। विशेष गरी वृद्ध मानिसहरूले आफ्नो बाल्यकालमा देखेका देवतालाई फेरि देख्न पाउँदा खुसी प्रकट गरेका छन्।

स्थानीयहरूका अनुसार यो स्थल शंकराचार्य र अमर वाणाको तान्त्रिक युद्धको कथामा आधारित छ। यद्यपि यसको स्थापना सम्बन्धी लिखित प्रमाण प्राप्त भएको छैन। वडाध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘लिखित प्रमाण छैन, तर पाका मानिसहरूले यो ठाउँको बारेमा तान्त्रिक शक्तिका विषयमा भएको विवादको कथा सुनाउँछन्।’

स्थानीय विक्रमदास मानन्धरका अनुसार यो स्थल करिब २०२४ सालतिर छोपिएको हो। सडक साँघुरो महसुस भएपछि खाडलमाथि स्ल्याप राखेर पुरिएको थियो। सानो प्वालबाट मानिसहरूले सिक्का चढाएर श्रद्धा अर्पण गर्थे।

विक्रमदासले थप जानकारी दिँदै भने, ‘४ सय शंकराचार्य गण मारिएपछि शिवले युद्ध स्थलमा भैरवको रूप धारण गरेर आए। शिवले कमण्डलुको पानी घोप्ट्याएर वाणालाई सरस्वतीको सहयोग टुटाएपछि युद्ध जिते।’

यहाँबाट प्रहरी प्रधान कार्यालयतर्फ लाग्दा पुगिने प्रहरीको कम्पाउण्डसँगै जोडिएको चोक २ सिंह रहेको ठाउँ हो। वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘उत्तरबाट दक्षिणतर्फ कुनै कालो छायाँ (धार्मिक मान्यताअनुसार नकारात्मक तत्त्व) प्रवेश नगरुन् भनेर एक जोडा सिंह उत्तर फर्काएर राखिएको थियो। सहर विस्तारसँगै ती सिंहहरू पनि हराएका छन्। अब ती सिंहको विषय पनि उठान गर्छौँ।’ 

पाका उमेरका मानिसहरु यस ठाउँलाई अहिले पनि सिंह दोबाटो भन्ने गर्दछन्। यसलाई पुनरुत्थान गरेर नक्साललाई सम्पदा मार्ग बनाउने योजना कार्यान्वयनमा लैजाने वडाको योजना रहेको वडा सदस्य रोशन श्रेष्ठ बताउँछन्।

प्रकाशित: ६ असार २०८१ १६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App