२१ जेष्ठ २०७७ बुधबार
अन्य

संवत्हरूको चर्चा

नेपालमा विभिन्न संवत् चलेका छन्। तीमध्ये मुख्यतः चारवटा संवत्को बारेमा यहाँ चर्चा गरिन्छ। अभिलेखका आधारमा भन्न सकिने नेपालको पहिलो प्रामाणिककाल लिच्छविकाल हो। लिच्छविकालका अभिलेखमा दुई थरी संवत्को प्रयोग भएको पाइन्छ। मानदेव र त्यसभन्दा अघिका अभिलेखमा शतस्थानी अंकबाट सुरु भएको संवत् छ। त्यस्तै, अंशुवर्माले एक्लै शासन सुरु गरेपछि दशस्थानीबाट सुरु भएको संवत् छ। ती दुवै थरी संवत्मा विशेषण नलगाई संवत् मात्र लेखिएकाले यी संवत् के हुन् भनी विद्वान्हरूमा धेरै वर्ष विचार–विमर्श चल्यो।

अन्त्यमा नेपाल खाल्डोमै बनाइएको सुमतीतन्त्र नामक ज्यौतिष ग्र्रन्थ र अरु विभिन्न सामग्रीका आधारमा मानदेवहरूको पालामा  वि.सं. १३५ देखि चलेको शक संवत् र अंशुवर्माले एक्लै शासन गरेपछिका अभिलेखमा ई.सं. ६३३ देखि चलेको मानदेव संवत् हो भन्ने निर्णय भयो।
शक संवत् अहिले पनि हाम्रा व्यवहारमा चलिरहेकै छ।

मानदेव संवत् भने तीन सय चार वर्षसम्म राम्ररी चल्यो र त्यसको स्थान नेपाल संवत्ले लियो। त्यसभन्दा पछिका केही सामग्रीमा मानदेव संवत्को चर्चा पाइए पनि पछिल्लो कालमा यो संवत् चल्न सकेन। 

नेपालको परिप्रेक्ष्यमा मुख्यतः चारवटा संवत् (क्रमशः शक संवत्, मानदेव संवत्, नेपाल संवत् र विक्रम संवत्) चलेको पाइन्छ। नेपालमा पछिल्लो कालखण्डमा सुरु भए पनि विक्रम संवत्ले सबैभन्दा बढी व्यापकता पाएको छ।

वि. सं. ९३६ कार्तिक शुल्क प्रतिपदादेखि चलेको नेपाल संवत् नेपालको इतिहासमा महत्वपूर्ण छ। नेपालमा विक्रमको १३औँ शताब्दीमा गुजराती पण्डितले सारेको पुस्तकमा सर्वप्रथम विक्रम संवत्को चर्चा आएको हो। अरि मल्लको राज्यकालमा गुजरातबाट आएका पण्डित हरिहरले सारेको ‘अमृतेश्वरपूजा’ नामक पुस्तक राष्ट्रिय अभिलेखालयमा छ, त्यहाँ विक्रमाब्द गते १२७३ नेपालाब्द गत संवत् ३३६ भनी लेखिएको छ। यसरी हरिहरले सारेको पुस्तकमा नेपाल संवत् ३३६ को साथै विक्रम संवत् १२७३ पनि लेखिएको छ। गुजराती पण्डितको माध्यमबाट नेपालमा विक्रम संवत् भेटिएको कुरा अहिलेसम्मको अनुसन्धानबाट प्रस्ट भएको छ।

नेपाल संवत् मुख्यतः नेपाल खाल्डो, यसको वरिपरिका प्रदेश र नेपाल खाल्डो बाहिर, जहाँ–जहाँ नेवारहरूको बस्ती छ, त्यहाँ चलेको पाइन्छ। नेपालभन्दा बाहिर पनि केही रूपले नेपाल संवत्को चर्चा पाइन्छ। काठमाडौंका प्रसिद्ध राजा प्रताप मल्लको ससुराली खलकमा पनि नेपाल संवत् चलेको उल्लेख पाइन्छ भने चीनका बादशाहले नेपालका शक्तिसिंह रामवद्र्धनलाई पठाएको पत्रमा महाचिनाब्द अर्थात् महाचीनको संवत् भनेर नेपाल संवत्को उल्लेख गरेको पाइन्छ। पछिल्लो कालमा विक्रम संवत्ले व्यापक रूप लिँदै गयो। नेपालको वर्तमान अवस्थामा पनि विक्रम संवत् पुरानै रूपमा चलिरहेको छ।

यसरी नेपालको परिप्रेक्ष्यमा मुख्यतः चारवटा संवत् (क्रमशः शक संवत्, मानदेव संवत्, नेपाल संवत् र विक्रम संवत्) चलेको पाइन्छ। नेपालमा पछिल्लो कालखण्डमा सुरु भए पनि विक्रम संवत्ले सबैभन्दा बढी व्यापकता पाएको छ।

कुनै पनि संवत् कुन बेलादेखि चल्यो भनी स्पष्ट रुपमा भन्ने सामग्री प्र्राप्त हुँदैन।  शक संवत्कै बारेमा विभिन्न धारणा पाउन सकिन्छ। कसैले शक राजाले यो संवत् चलाएको भन्छन् भने, कसैले शकलाई नाश गरिसकेपछि यो संवत् चलेको भन्छन्। विक्रम संवत्लाई पनि सुरुमा ‘विक्रम संवत्’ भनिदैनथ्यो। कुनै बेला यसलाई कृत संवत्, कुनै बेला मालव संवत्, कुनै बेला मालव गण संवत् भनेको पाइन्छ। पछिल्लो कालमा मात्रै यसमा विक्रम संवत् भनेर जोडिएको हो।

माथि उल्लिखित लिच्छविकालका दुई थरी संवत्मा ‘संवत्’ मात्रै भनिएको छ। त्यसमा विशेषण नभएको हुँदा विद्वान्हरूले विभिन्न संवत्को रुपमा परिकल्पना गरे। संवत् मात्र लेखी विशेषण नराखिएको हुनाले लिच्छविकालका अभिलेखमा देखिएका संवत् के हुन् भनी निर्णय गर्न ७५ वर्षभन्दा बढी समय लाग्यो।

नेपाल संवत् पनि सुरुमा संवत् मात्रै भनी प्रयोग गरिएको पाइन्छ। पछि यसमा ‘नेपाल’ विशेषण लाग्न गयो र ‘नेपाल संवत्’ कहलियो। मुख्यतः नेपालको परिप्रेक्ष्यमा विचार गर्दा जुन बेला बारको प्रयोग हुँदैनथ्यो, त्यसबेला शक संवत् आयो, बारको प्रयोग सुरु भएपछि मानदेव संवत् आयो। जबदेखि अयनांशको चर्चा सुरु भयो, त्यसपछि नेपाल संवत् चलेको देखिन्छ।

नेपाल संवत्को परिप्रेक्ष्यमा कुरा गर्दा ‘बालुवा सुनमा परिणत भएको र संखधर साख्वाले त्यो सुन ऋणमा डुबेका जनतालाई बाँडेको’ जस्ता कथा आउँछन्। हाम्रो परम्परा र केही वंशावलीहरूमा पनि यसको चर्चा छ। यस्ता अनुश्रुति र कथाहरू जुन बेलामा जुन संवत् चल्यो, त्योभन्दा धेरैपछि आएका हुन्। यसमा केही सत्यता, केही कल्पना र केही पछि थपथाप गरिएका कुरा समेटिएका हुन्छन्। त्यसैले मुख्यतः हामीले यो सम्झुनुपर्छ कि कुनै पनि संवत् गणित वा गणनासँग सम्बद्ध हुन्छ।

विक्रम संवत्कै बारेमा पनि अनेक कथा पाइन्छन्। कसैले विक्रमलाई राजा मानेका छन्। विक्रम संवत् नेपालभित्र जन्मेको होइन, बाहिरबाट आएको हो। विक्रम त एउटा उपाधि हो। विक्रम नामका राजा कुनै बेला कुनै ठाउँमा थिए होलान्, तर धेरै मानिसले विक्रमादित्य पद्वी लिएका छन्। कतिले विक्रम संवत् चन्द्रशमशेरको पालादेखि मात्र चल्यो भनी भन्छन्, यो भ्रम हो। नेपालको सन्दर्भमा सबैभन्दा पछि सुरु भएको संवत् विक्रम संवत् हो, यो कुरा गुजराती पण्डितले सारेको पुस्तकमा उल्लेख छ। काठमाडौं, भक्तपुर र पाटनका राजाहरूका सामग्रीमा हामी नेपाल संवत् पाउँछौँ। तर, गोर्खा, लमजुङ, मकवानपुर आदि तात्कालीन नेपालका अरु झन्डै ५० वटा राज्यका अभिलेखमा नेपाल संवत् पाइँदैन। तर, नेपाल खाल्डोका मल्ल राजाहरूको अभिलेखमा कहीँ कहीँ विक्रम संवत् पनि पाइन्छ।

हामीले बिर्सन नहुने कुरा यो छ कि जुन बेला हामीकहाँ नेपाल संवत् चल्यो, त्यसैबेला अर्थात् वि.सं. ९३७ तिर  मथुरा नजिक जन्मिएका बटेश्वरले आफ्नो बटेश्वर सिद्धान्तमा अयनांशको चर्चा गरेका छन्। त्यसैले नेपाल संवत्को बारेमा अनुसन्धान गर्दा ‘बटेश्वर सिद्धान्त’तिर पनि आँखा लगाउनुपर्छ। त्यसो भए मात्र प्रामाणिक कुरामा पुगिन्छ।

अन्तमा, इतिहास लेखनमा अपूर्णताको दोष होस्, अशुद्धिको दोष हुनु हुँदैन। किनभने हामी सबै कुरामा पूर्ण छौँ भन्ने हुँदैन, तर जे–जति जानकार छौँ र लेख्छौँ, त्यसमा अशुद्धि हुनु हुँदैन।

प्रकाशित: २३ कार्तिक २०७६ ०६:५२ शनिबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App