सन् २०१४ को त्यो विश्वकप। सायदै कसैले भुल्न सक्छ। ब्राजिलले आयोजना गरेको त्यो विश्वकपको उपाधि विजेता हो, जर्मनी।
यो बाहेक पनि विश्व फुटबल जगतले कहिल्यै भुल्न नसक्ने विश्वकपको त्यो ब्राजिल र जर्मनीबीचको खेल। ८ जुलाईमा सेमिफाइनलअन्तर्गत उसकै घरेलु मैदानमा ब्राजिललाई ७–१ गोलले पराजित गरेको जर्मनीले त्यस खेलमा उपाधि जितेकोभन्दा पनि बढी वाहवाही ब्राजिललाई हराएकोमा पाएको थियो। सनसनीपूर्ण जित र उपाधिको रक्षा जर्मनीको लागि त्यो विश्वकप निकै फलदायक रह्यो।
क्वाटरफाइनलमा फ्रान्स र फाइनलमा त जर्मनीले अर्जेन्टिनालाई नै पराजित गरेको थियो। हालसम्म फिफा विश्वकप विजेतामा जर्मनी धेरै पटक उपाधि जित्ने दोस्रो राष्ट्र हो। उसले चारपटक उपाधिको रक्षा गरेको छ।
जर्मनी फिफा विश्वकपमा युरोपेली राष्ट्रको एकमध्य बलियो टोली हो। त्यो विश्वकप जित्दा जर्मनी टोली एकदमै सन्तुलित र बलियो थियो। समूह चरणबाट नै विपक्षी टोलीलाई दबाबमा राख्दै आएको जर्मनीलाई त्यस विश्वकपमा प्रमुख उपाधि दाबेदारको रूपमा सुरुवातबाट नै हेरिएको थियो।
त्यो विश्वकप जितेसँगै यो विश्वकपसम्म आइपुग्दा जर्मनी टोली लगभग गुमनाम जस्तो भएको छ। त्यसपछिका दुई विश्वकप जर्मनीलाई बिर्सनलायक बने। साविक विजेताको ट्याग लगाएर सन् २०१८ को विश्वकप खेलेको जर्मनी समूह चरणबाटै बाहिरियो। त्यसपछि सन् २०२२ को विश्वकपमा त जर्मनीको नाम नै गुमनाम भयो। पुनः एकपटक समूह चरणबाट अघि बढ्न सकेनन्।
गुमनाम रहेका दुई विश्वकप
सन् २०१८ को समूह चरणको पहिलो खेल खेल्दा जर्मनीले साविक विजेताको ट्याग भिरेको थियो। यस अर्थमा त्यो विश्वकप जर्मनीको लागि अझै राम्रो हुने अनुमान थियो।
अघिल्लो संस्करणमा सनसनी मच्चाएको जर्मनीको लागि त्यस संस्करणको सबैभन्दा ठूलो क्षति एसियाली राष्ट्र दक्षिण कोरियासँगको भयो। समूह चरणको खेलमा दक्षिण कोरियासँग २–१ गोलले पराजित भएको त्यस खेलपछि विश्वभरबाट नै जर्मनीमाथि आशा हराउन थाल्यो।
त्यस खेल जर्मनीको लागि हालसम्मको विश्वकप खेलको सबैभन्दा अप्रत्याशित नतिजा हो। पुनः उपाधिको दाबेदारको रूपमा हेरिएको जर्मनी त्यस विश्वकपमा समूह चरणबाट बाहिरिएपछि त्यो सम्भावना समाप्त भएको थियो। मेक्सिकोसँग १–० को हार र स्विडेनमाथि २–१ को जित जर्मनीले त्यस विश्वकपमा निकालेको नतिजा हो।
त्यसपछि, कतारमा भएको सन् २०२२ को विश्वकपमा जर्मनीबाट सिंगो विश्व फुटबलले ठूलो आशा राखेको थियो। त्यस विश्वकपमा धेरैको अनुमान थियो, विश्वकपमा जर्मनीको पुनरागमन। तर, यस विश्वकपमा पनि जर्मनीले त्यही कुरा दोहोर्यायो।
फेरि पनि जर्मनी समूह चरणबाट अघि भने बढ्न सकेनन्। पुनः एसियाली राष्ट्र जापानले जर्मनीलाई २–१ गोलको नमिठो हार चखायो। स्पेनसँग १–१ गोलको बराबरी खेलेको जर्मनीले कोस्टारिकामाथि ४–२ गोलको जित हात पार्न सक्यो।
त्यो विश्वकपमा पनि फितलो प्रदर्शन गरेको जर्मनीको लागि विश्वकपको उपाधि जितेपश्चात् विश्वकप फापेको छैन।
यस विश्वकपमा जर्मनीले फर्काउन सक्ला आफ्नो साख ?
२३ औँ संस्करणको फिफा पुरुष विश्वकप अघिल्लो महिनाबाट सुरु हुँदैछ। कुल ४८ राष्ट्रले सहभागिता जनाउन लागेको यो विश्वकप अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप हुनेछ। विगत १२ वर्षदेखि जर्मनी विश्वकपमा सन्तोषजनक प्रदर्शनको खोजीमा रहेको छ।
उसले उपाधि जितेपछि दुई विश्वकप त खेल्यो तर त्यो विश्वकप जर्मनी सम्झन चाहँदैन। १२ वर्षअघि त्यो जर्मनी र अहिलेको विश्वकपसम्म आइपुग्दा जर्मनीको प्रदर्शनबारे निकै प्रश्न उठिरहेका छन्।
यतिबेला विश्व फुटबल जगतको ध्यान एउटै कुरामा छ, जर्मनीले विश्वकपमा आफ्नो साख जोगाउने। हुन त खेल भनेको हारजितको एउटा लडाइँ हो। योसँगै कतिपय खेलमा प्रतिष्ठाको पनि लडाइँ हुने गरेको छ।
जसको लडाइँमा अहिले जर्मनी फुटबल टोली छ। पुस्तान्तरणको क्रममा रहेको टोलीको यो विश्वकपमा उपाधि जित्नुभन्दा पनि बढी विश्वकपमा आफ्नो इज्जत जोगाउने लक्ष्य हुनेछ। युवा स्टारहरूले भरिएको सो टोलीमा केही अनुभवी खेलाडीहरू समेत हुनेछन्। यसपटक जर्मनीको पहिलो लक्ष्य नै समूह चरणबाट माथि जाने हुनेछ। समूह ई मा परेको जर्मनीको लागि यसपटक समूह चरणको खेलभन्दा माथि जाने सुनौलो मौका रहेको छ।
पहिलो पटक विश्वकप खेल्न लागेको कुराकाओ, आइभरी कोस्टा र इक्वेटरजस्ता टोलीहरूसँग जर्मनीले समूह चरणमा प्रतिस्पर्धा गर्दैछ। यस पटक पुनः जर्मनी दबाबमा हुनेछ। राम्रो संख्यामा विश्वभर समर्थक रहेको सो टोलीले यस पटक भने विश्वकपमा आफ्नो साख जोगाउन निकै चुनौतीपूर्ण अवस्था सामना गर्नुपर्नेछ।
जर्मनीले सन् १९५४ मा हंगेरीलाई हराउँदै पहिलो पटक विश्वकप जितेको थियो। त्यसपछि १९७४ मा नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपको उपाधि रक्षा गरेको जर्मनीले १९९० र २०१४ मा अर्जेन्टिनालाई स्तब्ध बनाउँदै विश्वकप जितेको थियो।
प्रकाशित: ३० वैशाख २०८३ १९:२४ बुधबार





