२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

बजार अनुगमनलाई प्रभावकारी बनाउँदै महानगर

फाइल तस्बिर

विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई  प्रभावकारी बनाउने निर्णय  गरेको छ ।  उपभोक्ता हित संरक्षणलाई केन्द्रमा राख्दै महानगरले नियमित, प्रभावकारी र परिणाममुखी अनुगमन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन–२०८० को दफा २१ बमोजिम गठित बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकले व्यवसायीलाई कानुनको दायराभित्र रहेर व्यापार गर्न सचेत गराउँदै उपभोक्तामाथिको कुनै पनि प्रकारको ठगी सह्य नहुने स्पष्ट पारेको छ । बजारमा गुणस्तरहीन वस्तु बिक्री, कम तौल र मनपरी मूल्य असुलीका गुनासा बढ्न थालेपछि महानगरले बजार अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरेको हो ।  

समितिकी संयोजक एवं विराटनगर महानगरपालिकाकी उपप्रमुख  शिल्पा निराला कार्कीले व्यवसायसँग सम्बन्धित कानुन, मापदण्ड र उपभोक्ता अधिकारबारे जानकारी राख्नु हरेक व्यवसायीको दायित्व भएको बताइन् । उनले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन महानगर कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिइन् ।  

‘उपभोक्तालाई ठग्ने, गुणस्तरमा सम्झौता गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने कसैलाई पनि छुट दिइँदैन । बजारलाई अनुशासित बनाउन महानगर दृढतापूर्वक अघि बढ्छ’ उपप्रमुख कार्कीले भनिन् ।  

बैठकमा सहभागी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बजारमा देखिएका विकृति नियन्त्रणका लागि स्थानीय तह, प्रशासन र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले अनुगमनलाई केवल औपचारिकतामा सीमित नराखी व्यवहारिक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । बैठकमा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरुले बजारमा गुणस्तरहीन सामग्री बिक्री, कम तौल, म्याद गुज्रिएका वस्तुको कारोबार तथा मूल्यमा अस्वाभाविक अन्तर देखिएको भन्दै प्रभावकारी अनुगमनको माग गरेका थिए।

प्रकाशित: ३० वैशाख २०८३ १९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App