coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

भो जान्नँ अन्यत्र म

मुकुन्दप्रसाद शर्मा

चारैतर्फ छ भद्रगोल–खतरा छन् नाइके नै खुनी
स्वेच्छाचार गरेर उम्कन दिने सत्ता स्वयं बैगुनी
अस्तव्यस्त छ मूलपद्धति जहाँ त्यो देशको पुत्र म
त्यो माटोसित साइनो मिलिसक्यो भो जान्नँ अन्यत्र म !

सिन्को भाँच्नुपरेन खालि गफका नेता बतौरे परे
लावा लस्करका समर्थक सबै झोले धुपौरे परे
जे जस्तो स्थितिमा फँस्यो मुलुक त्यो त्यै देशको पुत्र म
पानी त्यही स्थलको पिएँ अनि जिएँ भो जान्नँ अन्यत्र म !

पुर्खाको वलिदानबाट जसको अस्तित्व भो कायम
ती पुर्खासित दुश्मनी लिन सके नेता उनै निर्मम
जन्मे नीच कृतघ्न पामर जहाँ त्यै देशको पुत्र म
तातो यै स्थलको लिएँ र बिउँझेँ भो जान्नँ अन्यत्र म !

खोक्रा भाषणबाट भाग्य–भविता फुस्सा भई मेटिँदा
कन्या लौन बलात्कृता अनि मृता रछ्यानमा भेटिँदा
छन् कोलाहलमा निरीह जनता त्यही देशको पुत्र म
हावाबाट लिएर सास म जिएँ भो जान्नँ अन्यत्र म !

शिक्षाधारित  सभ्यता बिटुलिँदा पैह्रो गयो संस्कृति
लागे बाहिर नै युवा र युवती थाङ्ने भयो पद्धति
चोखो ऐक्यपना विखण्डित जहाँ त्यै देशको पुत्र म
त्यही आकाश हुँदा उठेर दगुरेँ भो जान्नँ अन्यत्र म !

जे जस्तो छ विडम्बना सहनुको संस्कार बस्तै गयो
चुस्नेले जति नै चुसून् जिउनु यो लाचार जस्तै भयो
बाँकी छन् सपना जहाँ प्रगतिका त्यही देशको पुत्र म
यस्तो दैन्य हटाउने प्रण गरेँ, भो जान्नँ अन्यत्र म !

प्रकाशित: ३२ जेष्ठ २०७६ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App