४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्य

रुद्राक्षको माला

मलाई मेरी आमाको मन मोती जस्तै लाग्छ।

पाँच वर्षअघि बुबाको शरीर शान्त भएपछि आमाको पहिरन फेरिएको छ। त्यतिबेला घाटमा चार भाइ छोरासँगै बुबाको किरियामा बस्नु भएकी ८२ वर्षीया आमाले १२ औँ दिनमा भन्नुभयो, नानी १ भोलि त लुगा फेराउँछन् होला। सौभाग्यमा जान नपाएपछि अब मलाई गरगहना र अरू कुनै कुराको चाहना छैन। सात वर्षको उमेरमा तिम्रो बुबाले दिएको लगनको पोतेमा मेरी आमाले दिएको तिलहरी हालेर लगाउने गरेकी थिएँ। गला बुच्चै हुन्छ। धेरै लामो होइन, ठिक्कको मोतीको माला पाइन्छ होला नि यतातिर?

‘पाइन्छ’ भनेर मैले टाउको हल्लाएँ। त्यसपछि उहाँले भन्नुभयो, ‘ल्याइदेऊ है।’

हुन्छ नि आमा! यो पशुपति क्षेत्रमा सबै कुरा पाइन्छ। त्यसपछि आमा भक्कानिनुभयो। भोलिपल्ट तेह्रौँ दिनको काम सकेर किरियापुत्रीलाई कपडा फेराउने बेला माइजु पोको बोकेर अघि अघि लाग्नुभयो। हामी दिदी बहिनी आमालाई डो¥याउँदै कोठाभित्र पस्यौं। अरु कोको पसे थाहा भएन।

बुबाले रातो लगनको पोते सात वर्षीया मेरी आमाको गलामा लगाउँदा हर्षोल्लासपूर्ण वातावरणमा पञ्चेबाजाको धुनसँगै तोप पड्केको थियो रे।
तर आज ८१ वर्षपछि मैले मेरी आमाको गलामा मोतीको सेतो माला पहि¥याउँदा आमा डाँको छोडेर रुनुभयो। दिदी उता फर्केर सुँक्कसुँक्क गर्न लाग्नुभयो। माइजूले रुँदै आमालाई अँगालो हाल्नुभयो। त्यसपछि रुवाबासी चल्यो एकछिन।

म मूर्ति जस्तै ठिड्ग उभिएकी थिएँ। आँखाबाट आमाको गलामा झुण्डिएका मोतीका दाना जस्ता आँसुका ढिका गाला, च्यापु हुँदै दुई वक्षस्थलको कुलेसोबाट नाइटोसम्म पुगेको चाल पाएँ  आँखा हेरिरहेको थिएँ। परेलाको डिलमा पोखरी भएर जमेको आँसु ढिका भएर अविरल बगिरहेको थियो। आँखामा बादल परे जस्तो धमिला दृश्यहरू देखिए पनि एकटकले हेरिरहेँ।

मोती समुन्द्रमै पाइन्छ भन्छन्।
आँखाबाट झरेका ती मोती दाना जस्ता आँसु  मैले न सम्हालेर राख्न सकेँ। न लुकाउन सकेँ। न डाँको छोडेर रुन नै सकेँ। त्यतिबेला बुबाको अभावसँगै आमाको रुवाइले म मूर्ति बनेको थिएँ। अनिष्ट आउनु अघिको दोलखा भिमसेन जस्तै। त्यो क्षण आमालाई शान्त बनाउनु थियो।

कोठाभित्रको रुवाबासी सुनेर होला सायद पुरेत बाजेले ढोका ढक्ढक्याउँदै भने, छिटो गर्नूस् है छिटो। टिकाटाला गर्ने बेला भयो। त्यसपछि जहाँ गए पनि मैले आमालाई मोतीको माला ल्याइदिने  गरेको थिएँ। आमा दंग परेर मुस्कुराउनु हुन्थ्यो।

रातो पोते र बुबाको संरक्षणबाट विमुख मेरी आमालाई सेतो मोतीको माला र मेरो उपस्थितिले सायद सहाराको अनुभूति दिन्थ्यो! ‘नानी तँ आइस् कि मोतीको माला आए जस्तै लाग्छ’ भन्दै जानुभयो, ‘मैले लगाएको यो माला धेरैले सोध्छन्। चारपाँचवटा माला त मैले बाँडिसकेँ, गाउँका बाल विधवाहरूलाई।’

के गर्नु बिचराहरूलाई ल्याइदिने कोही छैनन्। मोतीको माला जति लगे पनि बढी हुँदैनथ्यो आमालाई।
यसपटक म पशुपतिनाथको शिरको चन्दन र जप्न मिल्ने साइजको रुद्राक्षको माला लिएर गएकी थिएँ।
साँझको समय ठूलो आँगन मूल घरको मूलढोका सामुन्ने रहेको तुलसीको मठमा झलल्ल दियो बलेको थियो। आमा दलानको फलैँचामा तुलसीको मठपट्टि फर्केर ताली बजाउँदै लय हालेर गाउँदै हुनुहुन्थ्यो, ‘हरे राम हरे राम राम राम हरे हरे
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे !’
आमा ढोग गरेँ।
शिरमा हात राख्दै ‘नारायणले रक्षा गरुन्, मनले चिताएको कुरा पूर्ण होस्, कसैको आस गर्नुृ नपरोस्’,  एकैचोटि यति धेरै आशीर्वाद दिनुभयो आमाले।
मैले अँजुलीमा आशीर्वाद सँगाल्दै भनें, ‘हवस् आमा हजुरको आशीर्वाद लागिरहोस्।’

‘के भन्छ्यौ छोरी ? यो मानव चोला नै पापी चोला हो। यहाँ झूटो नबोली बाँच्नै सकिँदैन। तेरो बाउले अग्नि साक्षी राखी बाँचेसँगै बाँचुला, मरेसँगै मरुँला भनी बचपनमै मलाई ल्याएर यो बुढेसकालमा एक्लै छोडेर गए। के यो झूटो होइन?’

‘आमा ! मैले पनि हजुरका लागि पशुपतिनाथको आशीर्वाद ल्याइदिएकी छु नि। यो चन्दन र रुद्राक्षको माला। हिजो सोमबार म पशुपतिनाथको दर्शन गर्न गएकी थिएँ। त्यहीँबाट शिरको चन्दन र रुद्राक्षको माला ल्याइदिएकी नि आमा।’
आमा केही बोल्नुभएन। मैले नै बोलिरहें, ‘साँझको दियो बलिहाल्यो, आमा यो चन्दन लगाउनुस्। म रुद्राक्षको माला लगाइदिन्छु है?’
मोतीको माला लिँदा आमाको अनुहार उज्यालो हुन्थ्यो तर रुद्राक्षको माला आमाको मुहारमा खुसीको त्यो रंग देखिएन।
बास्नादार चन्दन रहेको हरियो सालको पात हातमा लिएर शिरमा छुवाउँदै गम्भीर अनुहार बनाएरै भन्नुभयो, ‘साँझमा के चन्दन लाउनु? भोलि बिहान पूजा सकेर लाऊँला तर यो रुद्राक्षको मालाचाहिँ लाउँदिन नानी!’
‘किन र आमा?’
‘यो लाएपछि जे पायो त्यही खानु हुँदैन, झूटो बोल्नु हुँदैन। खानपान त मेरो शुद्धै छ। माछा–मासु, लसुन–प्याज तेरो बुबा बितेपछि खाको छैन। तर रुद्राक्ष लाएपछि झुटो बोल्नु हुँदैन।’

‘चौरासी पनि गरिसक्नु भयो आमा! अब यो उमेरमा आएर किन झूटो बोल्नु प¥यो त?’
आमा भन्दै जानुभयो, ‘झूटो नबोली कसरी व्यवहार चल्छ त नानी? बाँच्न परिहाल्यो।  खान परिहाल्यो।’
म सानो छँदा आमाले मलाई झूटो बोल्नु हुँदैेन भन्नुभएको थियो। मेरो जीवनमा नैतिक शिक्षा त्यहीँबाट सुरु भयो। त्यसैलाई मूलमन्त्र बनाएर स्कुलको अध्ययन पूरा गरेँ। शरीरमा ट्याटु खोपे जस्तै कहिल्यै नमेटिने छाप बसेको छ, आज पनि मेरो मनस्थितिमा झूटो बोल्नु हुँदैन। जब म उच्च शिक्षा अध्ययनको सिलसिलामा राजधानी काठमाडौं छिरेँ। त्यसपछि थाहा पाएँ, झूटो बोल्ने पर्व पनि हुँदो रहेछ–‘अप्रिलफूल’।

फेरि आमालाई प्रश्न गरेँ, ‘आमा! पचासी वर्ष पुगिसक्नुभो, अब सत्य बोले हुँदैन?’
‘कसरी हुन्छ त नानी? दिनमै कत्ति पटक झूटो बोल्नु पर्छ। सांसारिकता नि’, एकछिन रोकिएर आमाले भन्दै जानुभयो, ‘तिमीहरू घाम झुल्के जसरी आउँछौ, जान्छौ। म बूढी एक्लै बस्नुपर्छ। कम्पाउण्ड छैन। तल्लो घरमा कालेले थुप्रै कुखुरा पालिरछ। सागसब्जी लगायो उम्रिन पाको छैन जम्मै उदिनेर केही राख्दैन। माथ्लो घरमा झन् गाई–बाख्राको बथान छ। बल्ल–बल्ल कुखुराबाट जोगायो बाछा–बाछी र पाठा–पाठी उर्फेर आउँछ, जम्मै माडी मैदान केही राख्दैन। अनि कराउनु परेन त? ठूल्ठूलो स्वरले हप्काउँछु, ‘ए राँडाराँडी हो! तिमीहरूको डाम्ना, बैतर्ने किन छाडा छोड्छौ? कालले परक्क निमोठ्न नसकेको असती डाम्नाहरू भन्यो, धपायो अनि दुईचार दिन बन्द हुन्छ फेरि छोड्छन्। त्यसै गरी चिच्यायो, करायो। बूढी कराउँछे भन्छन्। यसै गरी चलेको छ के जीवन।’

मैले नराम्रो मानेँ कि भनेर होला, आमाले आफूले बोलेका कुरालाई बुझाउनुभयो, ‘मैले मनैले छिमेकीको कुखुरा पाठा मरोस् भनेर सरापेकी होइन। आफ्नो बालीनाली जोगाउन डर देखाकी मात्रै हुँ नानी ती पशुलाई के थाहा छ र? यो आफ्नो त्यो अर्काको भन्ने?’
तर पनि आमा यो रुद्राक्ष लगायो भने ब्लड प्रेसर कन्ट्रोल हुन्छ रे, मन शान्त हुन्छ रे भन्छन्।’
‘आ नानी– एउटा निहुँ नभई जान पाइँदैन। जेजे हुन्छ होस्। अब मैले बाँचेर के नै गर्नु छ र? आफ्नो मन आफैले शान्त पार्नुपर्छ। चोरेर खानु हुँदैन, झूटो बोल्नु हुँदैन। अर्काको चित्त नदुखाएपछि आफ्नो मन त्यसै शान्त हुन्छ।’
‘ल ठिक छ, बाँचेर केही गर्नु छैन भने पनि मर्ने बेलामा पाप लाग्ने झूटो किन बोल्नु त?’
‘के भन्छ्यौ छोरी? यो मानव चोला नै पापी चोला हो। यहाँ झूटो नबोली बाँच्नै सकिँदैन। झनक्क हुँदै तेरो बाउले अग्नि साक्षी राखी बाँचेसँगै बाँचुला, मरेसँगै मरुँला भनी बचपनमै मलाई ल्याएर यो बुढेसकालमा एक्लै छोडेर गए। के यो झूटो होइन?’

‘त्यसो भए हामी पनि झूटा हौँ त आमा?’
‘तिमीहरू त मेरो रगत हौ नि। जे भए पनि प्रकृतिको नियमलाई पालना गर्ने त पशु मात्रै हुन्छ नानी। मान्छेले सत्य बोलेर कहाँ जीवन चल्छ र? कसैको विश्वास छैन। सत्य कोही बोल्दैनन्। अनि जस्तो ठाउँमा बस्यो त्यस्तै हुनु परिहाल्यो।’
‘बासँग पनि झूट बोल्नुभयो र आमा?’
‘कति बोलियो कति न। धेरैजसो त थाहै पाउनुभएन। केही थाहा पाउनुभयो। त्यसैले ठाकठुक पथ्र्यो। तैँले पनि कति बोलेकी होलिस् नि ज्वाइँसँग झूट, सांसारिकता धान्न।’

केही महसुस गरेर म खिस्स हाँसें।
निष्कर्षमा आमाले भन्नुभयो, ‘त्यसैले म यो रुद्राक्षको माला लाउँदिन है नानी!’
त्यो माला आमाले आफ्नो सिरानतिरको भित्तामा झुन्डाउनुभयो। अहिले पनि त्यो माला त्यसरी नै  चुपचाप झुन्डिएको छ।

प्रकाशित: २३ चैत्र २०७५ ०५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App