२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

नेपाली कम्युनिष्ट पार्टीका नेतामाथि उपमहासचिव ज्ञवालीको प्रश्न : गाली सप्ताह कहिलेसम्म लगाउनुहुन्छ?

फाइल तस्बिर

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)द्वारा आयोजित ‘एकता सन्देश सभा’ केन्द्रित नेकपाका शीर्ष नेताहरूमाथि कडा प्रश्न उठाएका छन्।

उपमहासचिव ज्ञवालीले माओवादी आन्दोलनदेखि सिद्धान्तगत दिशासम्मका मुद्दामा पार्टीभित्र स्पष्टता नआएको आरोप लगाउँदै प्रश्न उठाएका हुन्।

ज्ञवालीले पहिलो प्रश्न माओवादी विचार र ब्रान्ड परित्यागका विषयमा उठाए। 'दुई दशकसम्म ‘मार्क्सवादको विकासको तेस्रो आयाम’ भनेर दाबी गरिएको माओवादलाई किन मार्गदर्शक सिद्धान्तबाट हटाइयो? ‘माओवादी’ पहिचान किन परित्याग गरियो? कुनै स्पष्टीकरण छैन,' उनले भने।

त्यसैगरी जनयुद्धकालीन क्षति तथा त्यसको राजनीतिक–ऐतिहासिक विरासतसमेत ‘अलपत्र छाडिएको’ आरोप उनले लगाए।

एमालेले प्रस्तुत गरेको ‘जनताको बहुदलीय जनवाद’का २३ आधार आज कहाँ पुगे भन्ने प्रश्नसमेत उनले उठाए। 'तत्कालीन प्रस्तोताले आजसम्म कुनै तर्कसंगत जवाफ दिएका छैनन्,' ज्ञवालीले उल्लेख गरे।

यस्तै, एमसिसी लगायत विवादास्पद विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने तथा त्यसलाई पारित गराउन निर्णायक भूमिका खेलेका नेताहरू कुन एजेन्डामा विलय भए भन्ने प्रश्न पनि उनले सोधे।

गणतन्त्र स्थापनापछिका १७ वर्षमा विभिन्न नेताहरूले पटक–पटक सरकार र नेतृत्व सम्हालेको उल्लेख गर्दै ज्ञवालीले आजका सबै समस्या एक्लै केपी शर्मा ओलीलाई थोपर्न खोजिनु अन्यायपूर्ण भएको टिप्पणी समेत गरे।

प्रदेशस्तरमा चलेका ‘गाली–पुराण’को प्रसंग जोड्दै उनले नेता राजेन्द्र श्रेष्ठले एमालेको सदस्यता घटेर ३ लाखमा झरेको दाबी गरेको विषयलाई व्यंग्य गर्दै भने, 'मानौँ उहाँ केही दिन अगाडिसम्म संगठन विभागमा डेटा इन्ट्री गर्ने कम्प्युटर अपरेटर भएजस्तै।'

सभालाई लक्षित गर्दै उनले थपे, 'अकबरले कोरेको धर्कोलाई छोटो बनाउन वीरबलले जस्तै छेउमा लामो धर्को कोर्नुहोस्। एमालेभन्दा ठूलो, राम्रो र सक्षम पार्टी बनाउन सक्नुहुन्छ भने बनाइदिनुहोस्। तर स्रोतासमेत दिक्क हुने गरी कति गाली सप्ताह चलाउने?'

प्रकाशित: २२ मंसिर २०८२ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App