४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

इजरायली सेनाले गाजामा गरिएको आक्रमणमा हमासका एक वरिष्ठ नौसैनिक कमाण्डर मारिएको दाबी गरेको छ।

इजरायल रक्षा बल र आन्तरिक सुरक्षा निकायले संयुक्त रूपमा जारी गरेको वक्तव्यअनुसार उत्तरी गाजा क्षेत्रमा कार्यरत हमासको नौसैनिक इकाइका कमाण्डर युनुस मोहम्मद हुसेन अलियान सोमबार गरिएको आक्रमणमा मारिएका हुन्। उनी नौसैनिक बलको सञ्चालन, तालिम तथा हतियार तयारीको जिम्मेवारीमा रहेका बताइएको छ।

वक्तव्यमा हालका हप्ताहरूमा उनले आफ्नो इकाइको क्षमता पुनःनिर्माण गर्दै सम्भावित आक्रमणको योजना बनाइरहेको आरोप लगाइएको छ। आक्रमणका क्रममा सर्वसाधारणलाई क्षति नहोस् भनेर सावधानी अपनाइएको पनि जनाइएको छ।

यसैबीच, प्यालेस्टिनी रेड क्रिसेन्ट र स्थानीय स्वास्थ्य स्रोतका अनुसार दक्षिणी गाजाको अल-मवासी क्षेत्रमा मङ्गलबार गरिएको हवाई आक्रमणमा ३ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

गाजाको स्वास्थ्य निकायका अनुसार सन् २०२३ अक्टोबर ७ यता सो क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या ७२ हजार २४९ पुगेको छ भने १ लाख ७१ हजार ८९८ जना घाइते भएका छन्।

क्षेत्रीय द्वन्द्व अझै चर्किँदै गएको देखिएको छ। सिन्ह्वा

प्रकाशित: ४ चैत्र २०८२ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App