३० वैशाख २०७८ बिहीबार
अन्य

घुमाउने दह

कञ्चन पानी कुलकुलाउँदै बग्ने पहाडी खोला कसलाई मन नपर्ला? प्रकृतिको सजीव बिम्ब हुन्छ त्यहाँ। निरन्तरताको प्रतीक हो खोला, र हो गतिशीलताको ध्वनि पनि। त्यसैले त खोलाको स्वच्छ पानी र बगिरहने बानी दुबै मन पर्छ मलाई पनि, अन्य प्रकृतिप्रेमीलाई जस्तै।

खोला र नदी वरिपरि नै त हुन्छ लहलह अन्नबाली झुल्ने फाँट र गराहरू। आफू नजिकका परिवेशमा उर्वरत्व थप्छ, जीवन सिञ्चन्छ पानीको प्रवाहले। जीवनलाई जीवन दिने एउटा आधार पानी।

जतिसुकै टाढाका किन नहुन्, दुरुहलाई नाघ्नु पर्ने र चुनौतीलाई झेल्नु पर्ने नै किन् नहुन्, गन्तव्यको गीत गाई नै रहन्छ खोला। त्यहाँजस्तो सम्भावनाको सुर जीवनका अरू यात्रा र आरोहअवरोहहरूमा कमै भेटिएलान्।

बाल्यकालको उत्तराद्र्ध र किशोरावस्थाको पूर्वाद्धतिर पुग्दा खोलासँग जोडिएका केही मेरा यस्ता सम्झना छन्, जो आफ्नै मनका किनारासम्म छचल्किरहन्छन्। यति गहिरो गरी जोडिएर बसेको छन्  कि लाग्छ, सम्झनाबाट मेटिदैँनन् ती आफै नमेटिएसम्म।

खासमा खोलाका अनेक दहहरूमा पौडी खेल्दाका अनुभूति निकै प्रिय थिए मेरा लागि। जीवनका अनेक मोड र कालखण्डहरूमा कमै भेटिन्छन् त्यस्ता स्वर्गीय अनुभूति। फर्केर हेर्दा स्वच्छ पानीमा आफ्नै छायाँ छर्लङ्ग देखेजस्तै देख्छु म एउटा स्वर्णिम समय।

गाउँमा ७ कक्षासम्म पढुन्जेल विद्यालय जाँदाआउँदा होस् वा बिदाका दिन, सङ्लो पानी बगेको खोलाको दहमा झ्वाम्म हाम्फालेर एकछिन छप्ल्याङछप्ल्याङ पौडी नखेली सन्तोष नै लाग्दैन थियो मलाई। सानो छँदा उमेरले केही अग्रजका देखासिकी गर्दागर्दै पछि असामान्य रूपमा पौडी खेलप्रति मोह बसिसकेको थियो। कुन कुराको लत कति खेर बस्छ भन्नेमा परिस्थिति, वातावरण र सङ्गतले नै त पृष्ठभूमिको काम गर्ने रहेछ।

एकापट्टि झिर्ती र अर्कोपट्टि मलेखु खोला। मैले आधारभूत शिक्षा लिएको धादिङको ताल्तीस्थित पीपलभञ्ज्याङ विद्यालय दुई खोलाको बीचमा छ। झिर्ती खोला मलेखु खोलाको तुलनामा केही सानो र ठाडो खालको छ। बर्खाका केही दिन बाहेक सधैँ सफा पानी छङ्छङाउँदै बग्छ र ठाउँठाउँमा आफैँ दहहरू बनाउँदै केही टाढा पुगेपछि मलेखु खोलासँग नै मिसिन्छ। खास गरी बगाउन नसकेका ठूलाठूला ढुङ्गाबाट पानीको प्रवाह खस्दा तलतिरका केही भाग खोलिएको र पानी केही थुनिएजस्तो भएर बग्दा हो गहिरा दह बन्ने। विद्यालयबाट घर फर्किंदा जतिसुकै भोक र थकान लागेको भए पनि बाटोमा अडिएर यही खोलाको दहमा पौडी खेल्थ्यौँ हामी। खेल्दा छुट्टै रमाइलोको अनुभूति हुन्थ्यो। भोकप्यास भुलेर शरीरले पुनर्ताजगी महसुस गथ्र्यो। थप उत्साह र आनन्दको तरङ्ग फैलिन्थ्यो शरीरैभरि।

विद्यालयको अर्कोपट्टि बगेको मलेखु खोला झिर्ती खोला जति ठाडो छैन, हल्का ओरालो हुँदै बगेको छ। यो खोला झिर्तीभन्दा ठूलो पनि छ। यो खोलाको दहमा विद्यालयमा टिफिनको घन्टी टिनिन्न बजे पछि हुर्र दौदिंदै पौडी खेल्न पुग्थ्यौँ हामी। गहिरो र फराकिलो ठाउँको दहमा तलतल ढुङ्गाले छेकेजस्तो गरेर अझै फराकिलो र गहिरो पारिएको हुन्थ्यो दह। १ कक्षा पढ्नेदेखि ७ कक्षासम्मका हुलका हुल हुन्थे पौडी खेल्ने, छ्याप्ल्याङ र छुप्लुङ गर्दै। को छिटो पौडेर पर पुग्ने भन्ने रमाइलो होड देखिन्थ्यो त्यहाँ। टिफिन टाइम सकिएको घण्टी फेरि उसैगरी बग्थ्यो टिनिन्न, हतारहतार गर्दै कपडा लगाएर दौडिँदै कक्षाकोठाभित्र छिथ्र्यो हुल।

अहिले सहरतिर बनेका स्विमिङ पुलहरूमा खेल्ने केटाकेटी कति आनन्दित होलान् कुन्नि, तर हामी त्यति बेला प्रकृतिको निकै नजिक रहेर आनन्दको सम्पूर्णतामा डुबेजस्तो महसुस गथ्र्यौं।

खोला धमिलिने क्रमले खोलाका माछा त नासिए नासिए, सुन्दर दहहरू त हराए हराए, त्यसले कस्तो प्राकृतिक असन्तुलन र भयावह ल्याउने हो त्यो भोग्न धेरै दिन बाँकी छैन। वातावरणीय प्रभावको वैज्ञानिक अध्ययन नगरी केवल पैसाकै लागि सत्ता र शक्तिसँग पहुँच भएका केही मान्छेहरू जथाभाबी प्रकृति दोहनमा लागेका देख्दा नमज्जा लाग्छ। 

शनिबारको दिन समेत साथीसाथी गफिँदै दहमा नै पुग्नुपथ्र्यो हामीलाई, आफ्नाआफ्ना धुने लुगाको पोको बोकेर। धोएका लुगा खोला वरपरका ढुङ्गामा छपक्कै ढाकेर सुकाइदिने अनि लुगा नसुकुन्जेलको काम के त? दहमा नै डुबुल्की मार्दै नुहाउने, नथाकुन्जेल पौडी खेली नै रहने। हो नि, त्यसमै थियो त्यति बेलाको मस्ती।

पौडी खेल्दाखेल्दै बेलाबेलामा चाहिँ के मन लाग्दो हो, खोला किनारका मुलायम बालुवामा लडिबुडी पनि खेलिन्थ्यो। ज्यानभरि  बालुवा। आफ्नै रूप हेरेर आफैँ दङ्ग। खुर्र दौडिएर पानीमा झ्वाम्म हाम्फाले पछि ज्यानको बालुवा पखालिन्थ्यो। फेरि शरीर उस्तै सफा, उस्तै चङ्गा।

अझै कलिलै छँदा त खोलाछेउमा सानोसानो कुलोजस्तो बनाएर बगरमा नै सानासाना खेतका गराजस्ता आकार बनाउँदै खेलेको पनि याद छ मलाई। ती सानासाना ख्यालख्यालका खेतका गरामा हिल्याएजस्तो गरेर घाँसका मसिना टुक्राहरू रोप्दै धान रोपाइँ गरेको नक्कल पनि गथ्र्यौं हामी। सानो उमेर भनेको आफ्ना अग्रजहरूले  गरेका हरेक कुरा अनुकरण गर्न मन लाग्ने उमेर न रहेछ। भाँडाकुटी खेल्नु पनि त्यस्तै नक्कल त हो।

अहिले सम्झिँदा लाग्छ, प्रकृतिका अनेक रङ्ग र रूपसँग निस्फिक्री खेलेर हुर्केका केटाकेटीहरू सबल, स्वस्थ र सिर्जनशील हुन्छन्। जीवन भन्नु प्रकृतिको अंश न हो। प्रकृतिसित जति नजिकिँदै गयो आनन्द र सौन्दर्य पनि त्यति नै महसुस हुने रहेछ।

जब म माध्यमिक तहको अध्ययन गर्न गाउँबाट मलेखु बजार झरेर बस्नु पर्ने भयो, त्यसपछि गाउँमा जस्तो दिनदिनै पौडी खेल्न पाइएन। तर नानीदेखि लागेको बानी के हट्थ्यो, हप्ताको एक, दुई पटक भने पनि खेल्न छोडिएन।  ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तो भयो।

त्यति बेला शुक्रबार दिउँसो एक बजेसम्म मात्र पढाइ हुन्थ्यो विद्यालयमा। शुक्रबार पढेपछि म पनि साथीहरूसँगै गाउँको घर जान्थेँ। आइतबार चाहिँ पढ्न भ्याउने गरी बिहान सबेरै, झिसमिसेमै फर्किनुपथ्र्यो। बाटो मलेखु खोलाको किनारैकिनार। शुक्रबार बाटोबाटोमा पौडी खेल्दै अबेर मात्र पुगिन्थ्यो घर।

बाटोमा एउटा सबैभन्दा ठूलो दह थियो, बीचमा दुई मान्छे जति गहिरो। दहको एकापट्टि ठूलो ढुङ्गा थियो। खोलाको वेग त्यो ढुङ्गामा ठोक्किएर फर्किँदा दहको पानी बीचतिर घुमेको जस्तो देखिन्थ्यो। हामी डर नमानी त्यो दहमा पनि पौडी खेल्न पस्ने महसुर त्यस बेलाका। हामीमध्येकै अलि पाको र अनुभवी साथीहरू हामीलाई सम्झाउँथे, ‘बीचमा नजाऊ है, घुमाउने छ। त्यहाँ पुग्यो भने पौडिएर निक्लिन गाह्रो हुन्छ, डुबाउँछ।’

हामी बीचतिर नगई छेउछाउतिर नै खेल्थ्यौँ । एक चोटि ख्यालख्यालमै बीचमा पुगेछु म त, रमाइलोको तालमा। नभन्दै त्यो घुमाउनेले उसकै घुमाइतिर तान्दै तलतल डुबाउन पो बल गर्छ त! जति पौडिए पनि छेउतिर आउनै दिँदैन । नौनाडी गलिसके खियाएर। डुब्ने तरखरमा पुगिसकेको थिएँ म। तै एक्लै थिइनँ, मेरो छटपटी र अत्यास साथीहरूले देखेछन् र बलियाबलिया, पौडी खेल्न सिपालु दुई, तीन जना साथीहरू अघि सरेर मेरो झ्यापुल्ले कपालमा च्याप्प तानेर उतारे। पछि निकै डर लाग्यो, एक्लै भएको भए वा पौडिन सिपालु साथीहरूले नदेखेको भए मेरो प्राणपखेरु त त्यहीँ पो उड्ने रहेछ। हैट, कति कच्चा चोला!

घुमाउने ठूला दहमा पौडी खेल्न नहुने रहेछ। पानीले तानेर घुमाउँदै भित्रभित्रै पु-याएको पत्तो हुन्न। पानीभित्र केही फन्को घुमेपछि मान्छेको ज्यान जान के बेर! मुख र नाकबाट छिरेको पानीले एकैछिनमा पेट भरिसक्छ, पानीभित्र श्वास फेर्न सकिने कुरो पनि भएन अनि सकिँदैन त इहलीला?

यस्ता दहमा पौडी खेल्दा डुबेर मान्छेको ज्यान गएको कुरा बेलाबखत नसुनिएका होइनन्। तैपनि साथीहरूको लहैलहैमा लागेर पौडी खेल्न पस्ने गरिएको थियो। त्यस घटनाले निकै सचेत तुल्यायो मलाई। जीवनमा भोगाइले न हो सिकाउँदै जाने परिपक्वताको पाठ।

बिदाका बेला आक्लझुक्कल त्रिशूली नदीमा पनि पसियो तर निकै चनाखो भएर छेउछेउतिर मात्र खेलिन्थ्यो। केही साथीहरू ज्यानको माया नै नभएजस्ता पनि थिए। को टाढासम्म पुग्ने भनेर निकै परपर पनि पुग्ने गर्थे पौडेर उनीहरु। हिउँदका बेला नदी फिँजारिएको ठाउँबाट पौडी खेल्दै वारिपारि गर्ने पनि हुन्थे कोहीकोही। यो नदी पनि पौडी खेल्न सुरक्षित चाहिँ छैन, पानीको प्रवाह तीव्र छ। असुरक्षित तरिकाले पौडी खेल्दा कति त बगेर मरी पनि सके।

एक जना च्याङ्बा भन्ने केटा थियो, निकै सिपालु पौडी खेल्न। ऊ सजिलै त्रिशूली नदी वारपार गर्ने। नदीको भित्रभित्र पसेर पाैिडँदै निक्लन सक्ने खुबी थियो उसमा। निकै कहलायो उसको नाम। नदीमा गाडी पल्टेका बखत समेत उसको सहयोग लिन थालियो। गोताखोरजस्तै सिपालु तर बिना तालिम र तयारी नदीमा पसिदिने उसको भविष्य जोखिमपूर्ण लाग्थ्यो मलाई। नदीसँग उसको सम्बन्धका बारेमा अनेक चर्चा हुने गर्थे। केही वर्षपछि म क्याम्पस पढ्न काठमाडौँ आइसकेको थिएँ। उसँग भेटघाट र कुराकानी नभएको निकै भएको थियो। उसका बारेमा सोधखोज चाहिँ गरिराख्थेँ। पछि सुनेँ ऊ डुबेर नै मरेछ, त्यही त्रिशूलीमा।

कुनै कुराप्रतिको अतिमोह पनि कहिलेकाहीँ बत्ती र पुतलीको सम्बन्धजस्तो हुने रहेछ। कठैबरा, पौडीबाज च्याङ्बा पनि त्यसकै दृष्टान्त बन्न पुग्यो!

सशस्त्र द्वन्द्वको त्रासद समय सुरु हुनु अघिसम्म  बजारमा कतैकतै ससाना विस्फोटक सामग्री किन्न पाइन्थ्यो। नहर, कुलो बनाउने जस्ता विकासनिर्माणका काममा ढुङ्गा फुटाउन सानातिना विस्फोटक सामग्री प्रयोग गर्ने चलन गाउँतिर पनि पुगिसकेको थियो। केही व्यक्तिले त्यस्ता विस्फोटक वस्तु दुरुपयोग गरेर खोलाका दहहरूमा माछा मारेका पनि देख्थ्यौँ हामी त्यतिबेला। धागोको एउटा छेउमा आगो लगाएर फालेपछि त्यो दहभित्र पुगेर पड्किन्थ्यो अनि माछा सोत्तर। कठै, कति माछा मरे त्यो बेला के हिसाब! कसले वकालत गरिदिनु जलचरको पानीभित्र निर्बाध बाँच्न पाउँने अधिकारबारे?

एक पटक गाउँका एक जना दाइले हामी पौडी खेल्ने मलेखु खोलाको दहमा विस्फोटक सामग्री आगो सल्काएर फाल्न लाग्दा केही ढिला भएछ। उनका एउटा हातका औँला नै उडे। अहिले पनि भेटिन्छन् उनी। उनका औँलाविहीन हातले त्यहीँ समय र घटनालाई जबर्जस्त सम्झाइराखेझैँ लाग्छ।

अचेल गाउँ पुग्दा विकास हो कि विनाशको हुन्डरीले छोपेको देख्छु हामी साना छँदा पौडी खेल्ने खोलालाई पनि। खोलाकिनारमा ठाउँठाउँमा क्रसर उद्योग छन्। खोला धमिलिने क्रमले खोलाका माछा त नासिए नासिए, सुन्दर दहहरू त हराए हराए, त्यसले कस्तो प्राकृतिक असन्तुलन र भयावह ल्याउने हो त्यो भोग्न धेरै दिन बाँकी छैन कि जस्तो महसुस हुन्छ। वातावरणीय प्रभावको वैज्ञानिक अध्ययन नगरी केवल पैसाकै लागि सत्ता र शक्तिसँग पहुँच भएका केही मान्छेहरू नै जथाभाबी प्रकृति दोहनमा लागेका देख्दा नमज्जा लाग्छ, मन त्यसैत्यसै कुँडिन्छ।

त्यही खोला हो, जहाँ अहिले न सुन्दर दहहरू देख्न पाइन्छ, न सङ्लो पानीमा लहरलहरमा पौडिएर खेल्ने माछाका भुराहरू नै बाँकी छन्। धमिल्याइँदै छ कलकल बग्ने कञ्चन पानीको प्रवाह। प्रकृतिमाथि नै प्रहार गरेर विकास गरिँदै छ कि विनाश ? अवस्था सोचनीय छ। लाग्छ, ढिला भई त सकेन प्रकृतिमैत्री चिन्तन फैलाउन? दिगो विकास पो विकास त।

बेलाबेला कसलाई  नआउला आफ्ना बाल्यकालीन सम्झना? अहँ,  बिर्सन सक्दिनँ म प्रकृतिको भव्यतामा रमाएको आफ्नो विगत। फेरि पनि मलाई माछाका भुराहरू सङ्लो पानीको दहमा लहरलहरमा खेलेको हेर्न मन छ। प्रकृतिको दिव्यता, भव्यता र स्वच्छता नपढी के कोही मान्छेले जीवन पढ्न सक्ला?

 

प्रकाशित: १६ चैत्र २०७५ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?