१६ चैत्र २०८० शुक्रबार
अन्य

युवायुवतीका किस्सा

सम्झना पौडेलयुवायुवतीका किस्सा
सम्झना पौडेल
सधैँजसो त्यो दिन पनि हामी अफिस सकेर घर जाने तरखरमा थियौँ। साथीभाइसँग हाँसो मजाक गर्ने मेरो पुरानै बानी हो। तर पनि हामी सडकमा हिड्दा पालना गर्नुपर्ने कुराहरुलाई भने सधैँ ध्यानमा राखेर हिड्ने गरेका छौँ। म जमलमा गाडी कुर्दै थिएँ। परबाट एकजना बुढी हजुरआमा र अन्दाजि त्यस्तै १६–१७ बर्षीय युवती आउँदै गरेको दृश्य नियाली रहेँ। ती युवतीले कानमा इयरफोन लगाएकि थिइन्। एक हातले हजुरआमालाई समाउँदै अर्को हात भने मोबाइलको स्क्रिनमा थियो उनको। हेर्दा लाग्थ्यो शरीर हजुरआमासँग भएपनि मन अन्तै थियो। अपसोच त्यस्तै भइदियो। मैले हेर्दाहेर्दै हजुरआमा लड्नुभयो। त्यसपछि ती युवतीले हतपत उठाउने प्रयास गरिन्। यो त केवल एक उदाहरण थियो। नातिनीले हजुरआमालाई गरेको व्यवहार देख्दा मन खिन्न भयो। विचरा हजुरआमा सक्षम होउन्जेल नातिनीलाई कति माया गर्नुभयो होला, शब्दमा भन्न सकिन्न। मैले सोचेँ आजभोलीका युवायुवतीको ध्यान मोबाइलमा मात्रै हुन्छ। अर्को दिन त्यसैगरी अफिस जाने क्रममा वनस्थलीबाट म बस चढेको थिएँ। 
फेरि मेरो सामुन्ने हिजोकै जस्तो मिल्दो जुल्दो दृश्य आयो। तीनजना युवतीहरु मज्जाले गफिरहेका थिए। मानौँ माइक्रोनै रिजर्भ गरेजस्तो। एकजनाले भन्दैथिइन् ओई तेरो एक्स ब्वायफ्रेन्डले पैसा रिटन दियो त ? अहँ छैन हेर न यार कस्तो लाज पनि नभएको होला है। अर्कीले फेरी भनी त्यहि त त्यसको रुममा जान्थिस् हैन पहिला ? जा न एकदिन गएर झपार। उसले मलिन स्वरमा भनी हेर न के गरुँ के गरुँ भइरहेको छ यार। लाजै पचाएर फोनमा पहिले लभ पर्दा दिइस् अहिले छुट्यो मागिस भन्छ। उसको कुरा सुनेर बाँकी दुई हाँस्दै थिए। अर्कीले त्यतिकैमा भनी खै तलाई लास्टै हेप्छ जस्तो छ यार थर्का न थर्का धेरै सोझी भइस् के। म उनीरुको कुरा सुन्दै थिएँ। फेरि अर्की केटीले थपी तँ चिन्ता नगर् के, त्यसको अर्को गलफ्रेन्ड होला, तँ पनि यति राम्री छस् अर्को ब्वायफ्रेन्ड बना न बालै भएननी। अँ साँच्ची त्यस्को फेसबुकमा मैले एक केटीको फोटो देखेको थिएँ भनिन्। 
अनि तिनै जनाले टाउको मोबाइलको स्क्रिन तर्फ लगे। (हेर्न छि यस्ती केटी भन्दा त तँ धेरै राम्री हेर् न कपाल कस्तो है, अबुर्ई आखाँ कति सानो, यस्ता यस्तै गफ थियो। उनीहरु ओर्लनुपर्ने रहेछ ठमेल तर पुगे आरएनसी सम्म। उल्टै थर्काउँदै थिए अगि नै भन्नु पर्दैन कस्तो होला बोरिङ। अरे म त अचम्मैमा परेँ। पहिले अरुको कुरा काट्न तम्सने अनि बसलाई दोष दिने खै कस्तो बानी हो उनीहरुको ? 
त्यस्तै अर्को दिन फेरी अफिस जान बसभित्र चढेँ। अशक्त सिटमा एकजना तन्नेरी मज्जाले गफिँदै गरेका थिए। म भने सिट नपाएर उभिएर बसेको थिएँ। त्यतिकैमा बैसाखी टेकेर एकजना बा आउनुभयो। खलाँसी भाईले हलो दाई कति लामो गफ हो ? त्यो तपाईँ बस्ने सिट होइन छिटो उठिदिनुहोस त। अहँ केटोले पटक्कै सुनेको हैन। खलाँसी भाइ फेरी ढोकाबाट भित्र आएर झर्कदै भने कान छैन कि के हो ? एक पटक भनेपछि मान्नु पर्छ नि। खाली मोबाइलमा गफिएर हुन्छ ? कस्तो मान्छे यार ! त्यसपछि पनि केटो फोनमा बोल्दै उभियो। लाग्यो, अहिलेका प्रेमी जोडिहरुलाई डेटिङ जानु अनिवार्य भएको छ। त्यसो त डेटिङको समय मिलाउन बस नै उपयुक्त ठान्ने जस्तो पनि देखियो। मोवाइलकै भरमा उसले आफनो डेटिङ समय मिलाइरहेको थियो। म सिनामंगल आउँदासम्म उसको फोन बन्द भएन। गफ पनि कति आएको मानौँ प्रेम भनेकै गफ जस्तो। मेरो झर्ने ठाउँ आएकाले म ओर्लिएँ। 
फेरि अर्को दिनमा पनि यस्तै कुराको सामना गर्नु पर्यो। दादा र म मन्दिरमा जान लागेका थियौँ। शुक्रबार सन्तोषी माताको ब्रत नागपोखरीको मन्दिरमा जाँदै थियौँ। विहान त्यस्तै सात बजेको थियो होला। म बाइकमा बस्दा अलिक डराउने गर्छु। सकेसम्म विस्तारै चलाउन सुझाउने मेरो बानी नै हो। दादाले पनि म भएको बेलामा विस्तारै चलाउने गर्नुहुन्छ। लैनचौरमा आइपुगेका मात्रै के थियौँ एकजना युवा र युवती हात समाएर मस्कदै हिँडिरहेका थिए। दायाँ साइडमा हामी थियौँ। बायाँ साइडमा बस आइरहेको थियो। बसले साइड छोडन भनेर हर्न बजायो तर पनि उनीहरुले छाडेनन्। मानौँ त्यो रोड मात्र उनीहरु दुई जनाको लागि बनेको हो। त्यहाँ बस, बाइक केही पनि चल्दैन। अगाडि भएको जेब्रा क्रसिङ छाडेर बाटो काट्दै गर्दा झण्डैं बसले हानेन। बसको ड्राइभरले लाज पचेकाहरु भनेको सुनियो तर पनि उनिहरुले केही परवाह नै गरेनन्।
अर्को किस्सा पनि सुनाई हालम। आजभोलिका युवायुवतीहरुको नाता लाउने, सम्बन्ध जोडने तरिका पनि कति अनौठो नै छ। एकजना मेरै साथी नै भनम उमेरले मभन्दा ६÷७ बर्ष दिदि। म पनि नयाँ थिए उहाँपनि नयाँ। मैले उहाँलाई तपार्इँ भनेर सम्बोधन गर्ने गर्दथेँ। उहाँले भने तिमी नै भन्नुहुन्थ्यो। एकदिन खाजा खाने क्रमममा उहाँले मलाई पनि तिमि भन न, तपार्इँ भन्दा कस्तो म्याचुअर्ड भएको फिल हुन्छ। मैले भने हैन म हजुरलाई कसरी तिमी भनौँ, सिनियर हुनुहुन्छ। उहाँले थप्नुभयो केही हुन्न के पिल्ज के तिमि भनन् ल। मैले हुन्छ भनेर सहमति जनाए। घर आउँदा बाटोमा सोचे हैन आफ्नो भएको उमेर हो। तँ, तिमि, तपाईँ जसरी मन लाग्छ उसैगरी सम्बोधन गर्ने हो। तिमि भनेर बोल्दा योङ तपाईँ भनेर बोल्दा म्याचुअर्ड हुन्छ र ? समयक्रममा अर्को कुरा पनि किन नसुनाउने। आजभोलीका युवायुवतीहरुलाई यो मानेमा चाहीँ मान्नै पर्छ। किनकि सधैँ केटी कम उमेरको हुनुपर्ने परम्परा भने विस्तारै तोडिँदै गएको पाइयो। यो एक हिसाबले राम्रै पनि हो। किनकि केटा १० बर्ष जेठो भए पनि फरक नपर्ने केही कमै उमेरको हुनुपर्ने परम्परागत मान्यतालाई यो कुराले चुनौती दिनसक्छ। तर त्यसो भन्दैमा बाहिर अरुको अगाडि दिदीभाइ वा दाजुबहिनी भन्ने नाता भने प्रेमको लगाउनु ठिक हो र ? दिदी–भाई जस्तो पवित्र नातालाई देखाएर माया गर्नु भन्दा कमसे कम साथी÷साथी भन्ने पो हो कि ?

अर्को कुरा एकदिन एक मिसले म तिमिहरु भन्दा सिनियर हुँ। उमेरले पनि दिदी हुँ। मेरो तिमीहरु सबै भाइ हो। मलाई तपाईँ भन भन्नुभयो । मैले पनि हो र दिदी भन्दा उहाँले कस्तो यार तिमि तिमिलाई भनेको होइन के भाइहरुलाई भनेको हो भन्नुभयो। म फिलिङ ट्वाँ भनेकोजस्तो त्यो दिन पनि अलिक अनौठो लाग्यो। आजभोलीका युवायुवतीहरुलाई लिएर ट्वाँ पर्ने गरेक छु। किनकि उनीहरु आफ्नो बारेमा मात्र सोच्छन्। बाटोमा हिँडदा यात्रुले पालना गर्नुपर्ने कुरा सोच्दैनन्। नाता जोड्दा के नाम दिने भन्ने कुराको ख्याल दिँदैनन्। बसमा बस्दा कुन सिटमा बसेको छु सोच्दैनन्।

प्रकाशित: १७ फाल्गुन २०७५ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App