८ वैशाख २०८१ शनिबार
अन्य

सङ्गीतमा सिर्जनशील प्रिन्स

उमेरले ११ वर्षको उकालो चढ्दैछन्। तर उनको यात्रा भने कुनै वयष्क व्यक्तिको भन्दा कम छैन। स्वरको जादुले भिडलाई लठ्ठ बनाउने कला छ। उनी झन् खारिँदैछन्। 

उनी हुन्, गायक प्रिन्स सिलवाल। यतिबेला उनी काठमाडौंको गोल्डेन होराइजन एकेडमीमा कक्षा पाँचमा अध्ययनरत छन्। कक्षामा पढाइने अङ्ग्रेजी, गणित लगायतका पुस्तकको ज्ञानसँग जति नजिक छन्, उति नै सङ्गीतको हार्मोनियम र गितारको सुरसँग निकट छन्। उनी युट्युबबाट सिकेरै थ्रिडी चित्रकला पनि निकै सुन्दर बनाउँछन्। उनले बनाएका चित्र हेर्नेहरू छक्क पर्छन्। 

उनको दिनको सुरुवात बिहान सरगमबाट हुन्छ। साँझ नै स्कुलको गृहकार्य सकेपछि भने युट्युबमा आएका नयाँ पुराना गीत सङ्गीतका धुनसँग सुर मिलाउन खोज्छन्। तिनका शब्द, सङ्गीत र लयात्मक धुनमा आफ्नो स्वर मिसाउन खप्पिस छन्, प्रिन्स।

त्यही भएर गएको पुसमा चितवनमा भएको हात्ती महोत्सवमा होस् वा नारायणगढमा भएको चितवन महोत्सव अनि थारु समुदायले आयोजना गरेको खिचरा महोत्सवको रमझम नै किन नहोस्, उनको स्वरमा दर्शकस्रोता मजाले झुमे। 

अब्बल कलाकारझँै भिडको रन्कोलाई आफूतिर तान्दै उनी भन्थे, ‘कुन गीत सुन्ने हो आज ?’ भिडले साथ दिँदै चलेका गीतको फर्माइस गथ्र्यो। उनी सुनाउथे, ‘फेन्टास्टिक वन्डरफुल हुनेथियो लाइफ..., पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले, मेरो दिल छ पोखरामा, मर्ने कसैलाई रहर हुँदैन’ लगायतका आफूभन्दा पाका गायकका गीत। 

साथमै आफैँले दसैंका बेला रेकर्ड गरेको ‘दसैं रमाइलो’, अनि हालसालै रेकर्ड गरेको ‘मानामा नापिन्न माया’ बोलको गीत। दसैं गीतमा दसैंमा गरिने क्रियाकलापको कलात्मक वर्णन छ। ‘मानामा नापिन्न माया’मा भने माया लाउने कुरालाई उमेरले छेक्दैन। जुनसुकै उमेर, लिङ्ग र समुहकाबीच एकअर्कामा प्रेम बस्न सक्छ भनेर एउटा किशोर केटाले वयष्क युवतीलाई एकतर्फी माया गरेको दृश्याङ्कन उनको म्युजिक भिडियोमा गरिएको छ, जुन भिडियो केही दिनअघि मात्र सार्वजनिक भएको हो। ​उनको गीतसङ्गीतको सुरसँगै उनको कलाकारिता देखेर नारायणगढको फुड फेस्टिवलमा त उनले ‘वान्स मोर’ नै पाए। एउटा गीत गाउन बल्लबल्ल अवसर पाएर मञ्चमा उक्लेका उनले दुईवटा गीतमा दर्शक झुमाए। आयोजकले समेत उनको कलाको कदर गर्दै अन्य कलाकारसरह पारिश्रमिक दिए। 

उनको दिन बिहानको सरगमबाट सुरु हुन्छ। साँझ नै स्कुलको गृहकार्य सकेपछि भने युट्युबमा आएका नयाँ पुराना गीत सङ्गीतका धुनसँग सुर मिलाउन खोज्छन्।

शिव परियार, प्रेम परियार, मिलन लामा, बुद्ध लामा अनि प्रमोद खरेलका गीत यस्ता महोत्सवको रमाइलोमा गाउन मनपर्छ। मञ्चमा भीडमा देखाउने कला भने उनले हरेक वर्ष चैत महिनामा हुने थिएटर अभिनयको कार्यशालाबाट सिकेको बताए। ‘दुई महिना मजस्तै विद्यार्थीहरू अभिनयको कार्यशालामा अभिनय सिक्छौँ। अनि नाटक बनाएर अभिनय गर्छौँ,’ प्रिन्सले सुनाए, ‘त्यसले नै मञ्चमा कसरी प्रस्तुत हुने भन्ने कुरा सिकाएको हो।’ 

गीत गाउन भने उनले घरमै सिकेका हुन्। त्यसमा निखार ल्याउन स्कुलका सङ्गीत गुरु रमेश पाठकले साथ दिएका छन्। प्रिन्सको सङ्गीत रुचिलाई ठूलो आकार दिन हरेक बिहान उनकै घर पुग्छन्। स्कुलको समयले नपुग्ने भएकाले त्यसरी घरै पुगेर सघाउने गर्छन्। स्कुलको बिदा र शनिवारको दिन भने उनको पूरै समय गीतसङ्गीतका लागि हुने गर्छ।

उनका स्कुलका प्राचार्य महेन्द्र वस्ती प्रिन्सको सङ्गीतको क्षेत्रमा राम्रो सम्भावना भएको दर्शाउँछन्। ‘स्कुलको वार्षिकोत्सवमा एकपल्ट उनले ‘ऊ जितेर गई या हारेर गई’ गीत गाउँछु भन्यो,’ वस्तीले सुनाए, ‘तर सङ्गीत शिक्षक र म स्वयम्ले यो गीत गाउन कठिन छ, सक्दैनौ अर्को सजिलो रोज भन्दा मानेनन्। घरमै सिकेर जसरी पनि यही गीत गाउँछु भने।’ 

उनको अडानमा हार मानेका शिक्षकले जे त होला राम्रो नभए बीचमै रोकौँला भनेर ‘हुन्छ’ भनिदिए। तर प्रिन्सले त्यो गीतको संगीतका हरेक नोटमा यति राम्रो गाइदिए कि शिक्षक र उपस्थित अभिभावकहरू नै छक्क परे।

बालबालिकाको चाहना बुझेर जे क्षमता छ त्यसैमा जोड दिएमा भविष्य उज्वल हुने वस्ती बताउँछन्। अन्य क्षेत्रजस्तै गीतसङ्गीतको क्षेत्र पनि आर्थिक र सामाजिक प्रतिष्ठा कमाउन सक्षम क्षेत्र रहेको उनले बताए। केही समयअघिसम्म गीतसङ्गीतमा लाग्न बालबालिकालाई अभिभावकले नै रोक लगाउथे। तर अचेल त्यस्ता क्रियाकलापले बालबालिकाको आत्मविश्वास र सिर्जनशीलता वृद्धि गर्ने कुरा बुझ्दै गएको वस्ती सुनाउँछन्। सरकारले पनि गीतसङ्गीत कलाको क्षेत्रलाई हेयका दृष्टिलेभन्दा सम्भावनाको दृष्टि राखेर नीति बनाउनुपर्नेमा उनले जोड दिए। 

उनको म्युजिक भिडियोका नृत्य निर्देशक कृष्ण रसाल प्रिन्स चलाख केटो रहेको बताउँछन्। ‘हामीले केही कुरा भन्यौँ भने उसले आफ्नो सिर्जनशीलता थपेर अर्कै रुपमा प्रस्तुत गर्न खप्पिस छन्,’ रसालले भने, ‘एकदिन ऊ हामीलाई नै सिकाउने खालको व्यक्तित्वमा परिणत हुने सम्भावना देखेको छु।’ अहिले सङ्गीत पढेर नै यसमा अगाडी बढ्ने बाटो खुलेकाले पनि प्रिन्सजस्ता नयाँ पुस्ताको भविष्य सङ्गीतमा राम्रो रहेको बताए। देशका नागरिक आफैं रोजगार हुने सङ्गीत, फिल्म, कलाको क्षेत्रमा सरकारी आँखा कमै पर्ने गरेकाले नीतिगत कमजोरी सच्याउनुपर्नेमा जोड दिन्छन्। गीतसङ्गीतले रोजगारीसँगै देशको कला संस्कृतिलाई विदेशमा चिनाउने काम प्रिन्सजस्ता नयाँ पुस्ताले अघि बढाउने भएकाले पनि राज्यले स्थान दिनुपर्ने कलाकार गोविन्द प्रभात उल्लेख गर्छन्। गीतसङ्गीतका क्षेत्रमा रहेकाले राज्यलाई अन्यसरह कर तिरे पनि कुनै खालको सहुलियत नदिइँदा प्रिन्सजस्ता सम्भावना बिचमै हराउन सक्ने उनले औँल्याए।

बालबालिकालाई कलाको क्षेत्र पनि नाम, दाम र रोजगारीको हिसाबले सुरक्षित छ भन्ने प्रत्याभुती दिलाउन कलाकारहरु राज्यसँग उपयुक्त नीतिको माग गरिरहेको उनले बताए। हाल सरकारले एसइइमा सि र डी ग्रेड ल्याउनेले कला संस्कृति पढ्न पाउने भन्ने नीति लिएपनि हरेक ग्रेडका बालबालिका गीतसंगीतमा आकर्षण हुने क्रम घटेको छैन्।

सिर्जनशिल प्रिन्स सिलवाल गीत संगीतमार्फत आफु भविष्यमा अगाडी बढ्ने सोचमा रहेकाले सरकारको समेत सहयोगको अपेक्षा गर्छन्। 

प्रकाशित: १९ माघ २०७५ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App