८ वैशाख २०८१ शनिबार
अन्य

पिठो मीठो पानीघट्टैकाे

कुनै बेला खुब चर्चित गीत हो, ‘सररर पानीघट्टमा, म त प्यारी फर्कन्छु, फर्कन्न नाम सारे है पेन्सनपट्टामा।’ सशस्त्र द्वन्द्वको दलदलमा देश जकडिँदाका व्यथाका बिम्ब असरल्ल छन् गीतमा। युद्धकालीन त्यो प्रतिकूलता अनि रातदिन नभनी सुरक्षाकर्ममा खटिने देशसेवकहरू। खासमा उनीहरूकै उच्च जोखिमयुक्त जीवन ध्वनित हुन्छ गीत सुन्दा। दुर्गम भेगका बासिन्दाको जीवनसँग अभेद्य सम्बन्ध जोडिएको पानीघट्टलाई नै किन प्रतीक बनाइयो होला यो गीतमा ? मलाई लाग्छ, अन्य प्रतीक प्रयोग गरिएको भए यति गहिरो विरही मनोदशाको चित्रण पक्कै हुने थिएन।

जसरी अन्न पिस्दापिस्दै केही वर्षमा खिइएर काम नदिने हुन्छ घट्टको ढुङ्गो, त्यसै गरी जीवनभोगाइका हुन्डरीहरूमा रिँगिँदैरिँगिँदै एक दिन सकिन्छ मान्छेको चोला पनि। पिस्नु, पिसिनु र सकिनुको ध्वनि लुकेको छ घट्टभित्र पनि, जीवनभित्र पनि। अभाव, गरिबी र अप्ठ्यारामा बाँच्नेका जीवनका हुरीबतास त झनै भयावह हुने नै भयो। 
सशस्त्र आन्दोलनको आगोले १० वर्ष सबै भन्दा धेरै जलायो नेपाली गाउँलाई। राज्यपक्षबाट होस् या विद्रोही पक्षबाट, सबैभन्दा धेरै जले गाउँलेका आत्मा। निकै रक्तरञ्जित छ विगत। दुःखदायी त्यो कालखण्ड बिर्सन कहाँ सकिन्छ र यति छिट्टै ? युद्धको घाउ निको हुन निकै लामो समय लाग्ने रहेछ। 

आफ्नी नवयौवना दुलहीलाई घरमा छाडेर युद्धस्थलमा होमिने युवाको कथा छ, ‘सररर पानीघट्टमा’ गीतमा। पुरुषोत्तम न्यौपाने र बिमाकुमारी दुराको उम्दा आवाजले जीवन भरेको छ गीति शब्दहरूलाई। 

पुसको अन्तिम सातातिर एक दिन हेमन्त विवशजी र म घुम्दै पुगेका थियौं नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीमा। फलाखु खोला र त्रिशूली नदीको मिलन हुने पनि वेत्रावती पुगेर नै हो। फलाखु खोलाको पुल नजिकै देखियो एउटा पानीघट्ट। घ्वाइँघ्वाइँ आवाजले मलाईभन्दा बढी तान्यो हेमन्तजीलाई। उनी लमकलमक केही पाइला हिँडेर पसे पानीघट्टको छाप्रोभित्र। मैले पनि पछ्याएँ उनलाई। उनी संवाद रेकर्ड तम्सिन्छन् आफ्नो मोबाइलमा घट्टधनी (घटेरो) र घट्टमा काम गर्न बसेका अर्का एक सहयोगीसँग। 

कुरा सुरु हुन्छ घट्टधनी मोहनबहादुर मगरसँग। उनको उमेर ८६ वर्ष रे। हेर्दा त्यस्तो लागे पो। ६६ वर्ष पनि नाघेका छैनन् कि जस्ता। निकै फुर्तिला र छरिता। स्वच्छ हावापानी, अर्गानिक खानपिन र शारीरिक श्रमको सन्तुलन मिलेपछि के चाहियो र ! सधैं तगडा हुन्छन् यस्ता मान्छे।

पानीघट्टसँग जोडिएका अनुभव पस्कन्छन् उनी। विसं २०१८ देखि घट्ट चलाउन थालेका रहेछन्। घट्ट घुमाउँदा घुमाउँदै आँखाबाट एउटा युग नै चिप्लिसक्यो, तैपनि आफ्नो पेसाप्रति अचम्मलाग्दो मोह छ उनको !  अहँ, घटेको छैन रत्तीभर पनि त्यो मोह। सधैँ कर्ममा रमाएर बाँच्ने उनी भन्छन्, ‘सकुन्जेल त घट्ट चलाइ नै राख्छु।’

वेत्रावती वरपर त्यही एउटा मात्र पानीघट्ट बाँकी छ अहिले। भ्याइनभ्याइ छ। रातदिन जसो एकै रफ्तारमा घुमी नै रहन्छ घट्ट। प्राय मकै, गहुँ, कोदो नै हो घट्टमा पिस्न ल्याइने। अन्न पिसेबापत ज्याला चाहिँ कति त ? 
‘१२ मानाको १ माना, १२ पाथीको १ पाथी।’

धेरै घुमाए पछि खिइँदै जान्छ घट्टको ढुङ्गा पनि। प्रत्येक २ वर्षमा फेर्छन उनी अन्न पिस्न प्रयोग हुने तल र माथिका वर्तुलाकार ढुङ्गा। सिपालु र बलिया मान्छे चाहिन्छ ढुङ्गा काटेर भाले र पोथी दुई वटा चक्का मिलाउन। चक्का चट्ट मिलेपछि न हो तल पानीको बेगले हानेको फिर्काले घ्वाइँघ्वाइँ घुमाउने घट्ट।

जीवनभोगाइको लामो अनुभव छ उनीसँग। यही घट्टको ज्याला र कृषिकर्मको आयस्ताले आफ्नी ७ जना छोरी हुर्काउन, बढाउन केही गारो भएनछ उनलाई। आफ्नै कामको लयमा रमेर बाँचेका उनीजस्ता सरल मान्छेसँग असन्तुष्टि नै के पो हुन्छ र जीवनमा ! उनलाई पनि कुनै गुनासो भएजस्तो लाग्दैन जीवनप्रति। 

सिमथली गाउँका चेपाङ, काफलटारका तामाङ, डिही गाउँका मगर, थरी गाउँका क्षेत्रीबाहुन सबैको सङ्गमस्थल बन्थ्यो मलेखु खोलाको पानीघट्ट। सबै जाति, धर्म, सम्प्रदायका मान्छे बेलाबेलामा भेटिने, गफिने र नजिकिने क्रम कुनै न कुनै रूपमा हुनु राम्रो हो। यसबाट पनि टेवा पुग्छ समाज बलियो हुन, अविभाजित रहन। 

यी घट्टधनीले विगत १५ वर्षदेखि एक जना सहयोगी राखेका छन्, हीरालाल तामाङ। यिनी राती पनि घट्टमा नै सुत्छन् र बेलाबेला उठेर घान फेर्छन्। कम उमेरमा नै ढाँड बाङ्गो भएको हुँदा विवाह गरेनछन् यिनले। अहिले त ७५ वर्षका भइसकेछन्। परिवारका एक्लो उनलाई सहयोग गरिदिएबापत खाने, बस्ने व्यवस्था घट्टधनीबाट नै हुँदै आएको छ। 

नजिकै एकतमासले घुमिरहेको छ घट्ट। करिब आधी घन्टा भयो होला हामी गफिन थालेको। घट्टधनी र कामदार दुबै जना झिंजो नमानी हेमन्तजीका प्रत्येक प्रश्नका उत्तर दिँदैछन्। कुरा सुनिरहँदा मलाई आफू सानो छँदा आफ्नै गाउँको घट्टमा जाने गरेको याद सजीव हुन थाल्छ। 

वेत्रावतीको फलाखु खोलाले सम्झाउँछ मलाई धादिङको मेरो गाउँ नजिकैको मलेखु खोला। आफ्नै मनसँग साउती गरेजस्तो गर्छु, फलाखु र मलेखु कस्तो उस्तैउस्तै नाम हगि ? फलाखु खोला वेत्रावती बजार नजिकै त्रिशूली नदीसँग मिसिन पुग्छ। मलेखु खोला पनि मलेखु बजार नजिकै त्रिशूली नदीमा नै मिल्न पुग्छ। अहा, क्या गज्जबको मिलनको यात्रा ! फलाखु मिसिएर कलकल बग्दै आएको त्रिशूलीले मलेखु बजार पुगेपछि मलेखु खोलालाई पनि आफूसँगै एकाकार गराउँछ। त्यसपछि त नाम र काम एउटै, सुस्केरा र सङ्गीत एउटै, गति र गन्तव्य एउटै। शक्ति र सौन्दर्य, ऊर्जा र आकर्षण सबै बढ्छ जे कुराको पनि मिलनपछि।

फलाखु खोला किनारको घट्टमा गफिँदै गर्दा मलेखु खोला किनारको सानो छाप्रो अनि छाप्रोभित्र घुम्दै गरेको पानीघट्ट सम्झनामा एक्कासि देखापर्छ। उमेर त्यस्तै १२, १३ वर्षको हुँदो हो। त्यतिबेलासम्म गाउँकै विद्यालमा पढ्थेँ म। फुर्सद भएका बेला घरको काममा सहयोग गर्नु गाउँले केटाकेटीको विशेषता नै हो। म पनि मकै, गहुँ पानीघट्टमा पिस्न लगेर सहयोग गर्ने गर्थे घरमा। 

सानो छँदा पानीघट्ट जान मलाई रमाइलो लाग्थ्यो। बुबाआमाले कहिले पानीघट्टमा जाने काम लगाउनुहोला झैं लाग्थ्यो। पानीघट्ट पुग्दा छक्क पर्थे, एउटा कुलोको पानीलाई डुँडबाट खसालेर त्यति ठुलो ढुङ्गा कसरी घुमाउन सकिएको होला, फुनुनुफुनुनु ? पछि बुझ्दै गएँ, पानीको बगाइलाई तीव्रता दिँदा वेग उत्पन्न हुन्छ र त्यही वेगवान् पानीले हान्दोरहेछ घट्टसँग जोडिएको घट्टको सतहभन्दा तलको फिर्कालाई। पानीको वेग बढाउन लामो डुँडलाई तलतल साँघुरो बनाउँदै ठड्याइएको हुन्छ। मदानीजस्तो फिर्कालाई पानीको वेगले पालैपालो हानेर घुमाउँदा त्यो सँग मिलाएर जोडिएको घट्ट पनि घुम्न थाल्छ फुइँफुइँ। घुम्ने घट्टको माथि अन्न राख्ने सोली झुन्ड्याइएको हुन्छ। सोलीसँग चराजस्तो आकारको काठको टुक्रा अड्काएर घुमेको घट्टमा छुवाइन्छ। त्यही चराजस्तो काठको टुक्राको घर्षणले विस्तारै सोली हल्लाउँदै निरन्तर अन्न खसालिरहन्छ। घट्ट  बीचको प्वालमा खसेका अन्नका दाना पिसिन्छ र पिठोमा रूपान्तरित भएर निस्कन्छ। 

मैले देखेको विज्ञानको पहिलो प्रयोगशाला त पानीघट्ट पो रहेछ। गतिमा नै त लुकेको हुन्छ ऊर्जा, गतिबिना कहाँ सम्भव छ र परिवर्तन ? घट्ट घुमाउन कुलो हुँदै डुँडबाट खसेको पानीको तागत बुझ्न मलाई कुनै किताब पढ्नु परेन। 

गाउँगाउँका नयाँनयाँ खबर आदानप्रदान गर्ने केन्द्र पनि बन्थ्यो कुनै समय घट्ट। सञ्चार सुविधाको पहुँच र विस्तार नपुगेको त्यो समयमा कुनै नयाँ खबर पुग्न पनि पहिले मान्छे नै पुग्नुपथ्र्यो। वल्लो गाउँ, पल्लो गाउँ, वारि, पारि, लेक, बेंसी सबैतिरका मान्छे अन्न पिस्न पानीघट्ट पुग्ने हुँदा अघोषित ग्रामीण सञ्चार केन्द्र जस्तो बनेको हन्थ्यो पानीघट्टस्थल। गाउँगाउँका नयाँनयाँ घटना र उतारचढाबका कुरा त्यहाँ पुग्नेले पहिला थाहा पाउँथे। 

खोलाको बगर नजिक नै त हुन्छ पानीघट्ट। हिउँदका बेला बगरमा गाईवस्तु चराउन आउने गोठाला पनि घट्टमा जम्मा हुने, गफगाफ गर्ने गर्थे। हाँसोठट्टा, रमाइलो त हुने नै भयो। 

गाउँका हुनेखाने, ठिकैका र गरिब सबै वर्गका मान्छेहरूलाई भेट गराउने केन्द्र पनि हो, पानीघट्ट। सबै वर्गका लागि उत्तिकै आवश्यक पर्ने हुँदा त्यहाँ भेटिन्छन् सबै खाले पात्र। उनीहरुको भेटघाट र संवाद शृङखलाले निरन्तरता पाउँछ। अनुभूति आदानप्रदान गर्दै जाँदा न हो मानिस मानिसबीचको निकटता बढ्ने, हार्दिकता जोडिने। 

सबै जातजाति र संस्कृतिका मान्छेबीच एकत्व भाव सम्प्रेषण गर्न सुसहायक सिद्ध हुन्छ मेरो सम्झनामा रहेको त्यति बेलाको पानीघट्ट। गज्जबको समाजशास्त्र जोडिएको पाउँछु त्यहाँ। सिमथली गाउँका चेपाङ, काफलटारका तामाङ, डिही गाउँका मगर, थरी गाउँका क्षेत्रीबाहुन सबैको सङ्गमस्थल बन्थ्यो त्यही मलेखु खोला किनारको पानीघट्ट। सबै जाति, धर्म, सम्प्रदायका मान्छेहरू बेलाबेलामा भेटिने, गफिने र नजिकिने क्रम कुनै न कुनै रूपमा हुनु राम्रो हो। यसबाट पनि टेवा पुग्छ समाज बलियो हुन, अविभाजित रहन। 

गाउँमा कुनै अप्ठेरो आइलाग्यो या कसैलाई आपद् नै परेको छ भने पनि पानीघट्टमा भेटिनेहरूबीच कचहरीजस्तो चल्थ्यो। त्यहीँ पनि कुनै उपाय निस्कन सक्थ्यो समस्या सुल्झाउन। 

कुनैकुनै वर्ष चाहिँ बर्सादको भेलबाढीले घट्ट नै बगाइदिन्थ्यो। तर घटेराले फेरि जोस निकाल्थे। हिउँद लागे पछि त्यसै वरपर नयाँ पानीघट्ट बनिसक्थ्यो। कम पौरखले कहाँ हुन्थ्यो र ! खोलाको सानो भङ्गालो नै फर्काउनु पथ्र्यो। त्यस्तै ठाउँ हेरेर मात्र घट्ट राख्न मिल्थ्यो, जहाँ कुलोबाट ल्याइएको पानी डुँडबाट साँघुर्‍याउँदै खसालेर बेगले फिर्कामा हान्दा घट्ट रिँग्न सकोस्।

धेरै वर्षपछि देख्न पाएँ यस पटक वेत्रावती पुग्दा, पानीघट्ट। पानीघट्ट हेर्नकै लागि भनेर चाहिँ हामी त्यहाँ पुगेका थिएनौँ। यो एउटा संयोग मात्र थियो। हो रहेछ, सोचेको मात्र हुन्छ भन्ने हुन्न जीवनमा, यात्रामा। नखोजेर पनि भेटिन्छ केही कुरा समयको प्रवाहमा बग्दै जाँदा। नखोजेर भेटिएको यो फलाखु खोलाको पानीले घुम्दै गरेको घट्टले मलाई स्मृतिको कुनै पर्दामा धूमिल हुन लागिसकेको आफ्नै विगतमा डुलाइदियो। 

पानीघट्टसँग जोडिएको एउटा दुःखद सम्झना पनि छ मसँग। पहिलो चोटि घट्ट हेर्न जेठा दाइलाई पछ्याएर गएको सम्झन्छु। त्यतिबेला जेठा दाइ हुर्किसकेका, म सानै। एक्लै घरभन्दा परपर डुल्न जान सक्ने पनि भइसकेको थिइनँ। उमेर अलि नछिप्पिई  एक्लै डुल्न न आँट आउँछ, न अभिभावकबाट अनुमति नै मिल्छ।

जाडोको समय भएको हुँदा घट्ट बाहिरपट्टि आगो तापेर बसेका रहेछन् हामी पुग्नु अघि पुगेका मान्छेहरू। विशेष गरी बिहान घाम लाग्नुअघि र बेलुका आगो तापेर गफिने गर्छन् गाउँका मान्छेहरू। 

दाइसँग मलेखु खोला किनारको त्यो पानीघट्टमा पहिलो चोटि पुग्दा म निकै उत्साहित थिएँ। त्यति बेला बिहानको घाम झुल्किसकेको थियो। बिहानभरि आगो तापेकाहरू अँगेनो छोडेर ढुङ्गामाथि बसेर घाम ताप्दै गफिँदै रहेछन्। अगेनामा खरानी मात्र देखेको थिएँ, त्यसभित्र अग्राखका झरिला कोइलाहरू निभ्न बाँकी रहेको थाहा पाइनँ। अगेनो वरिपरि ठाउँठाउँमा ढुङ्गा पनि थिए, जमिनमा गढिएर बसेका। म ती ढुङ्गामा टकेर एउटाबाट अर्कोमा फड्किन लाग्दा नराम्ररी चिप्लिएँ र एउटा खुट्टा त पसि नै गयो अगेनामा। खरानीभित्र छोपिएको अँगेनोको आगोले देखाइहाल्यो उसको करामत। भत्भती पोलेको खुट्टा बाहिर निकाल्दा चप्पल पनि आधा जसो डढिसकेको थियो। आगोको राप, ताप र प्रकाश मात्र चीनको मलाई त्यो दिन जलन पनि थाहा भयो। यसरी थाहा भयो कि आजीवन अविस्मरणीय रहला त्यो डाह। दाइले बुइमा बोकेर घर पुर्‍याए। घरमा ओखतीमुलो भयो। त्यो दिन त दिनभरि रोएरै बिताएँ। केही दिन पछि अलिअलि गरेर खुट्टा टेकेर हिँड्न सक्ने भइयो। धन्न, अपांग परेन ! 

मेरो जीवनमा पनि पानीघट्टसँग जोडिएका अनेक अविस्मरणीय प्रसङ्गहरू छन्। ती प्रसङ्गले मलाई बाल्यकालतिर पुर्‍याइदिन्छन्। सम्झनामै त हो हामी विगततिर फर्किन सक्ने। 

अचेल गाउँहरूमा पनि आधुनिक ढाँचाका कुटानी, पिसानी मिल प्रयोगमा छन्। पानीघट्टको अस्तित्व लोप हुन लागिसक्यो। गाउँघरतिर घुम्दा यदाकदा मात्र देख्न पाइन्छ पानीघट्ट। पानीघट्टबाट पिसेको पिठोको ढिँडो निकै मिठो हुन्छ। म ठोकुवा नै गरेर भन्न सक्छु, सञ्चालनका लागि केही सहजता आधुनिक मिलमा पाइए पनि स्वादमा पानीघट्टलाई भेट्न सक्दैन। पानीघट्टबाट तयार पारिएको मकैको पिठोको ढिँडो रायोको सागसँग चपाएर कुप्लुक्क निल्दा त झन् त्यो भन्दा मीठो अरू के होला र जस्तो लाग्छ। खानेलाई न थाहा हुन्छ स्वाद। 

हेमन्तजी भुइँमान्छेका कथा लेख्न रुचाउने मान्छे हुन्। खोजून् उनले अरू घटेराहरूका कथा र लेखून् घटेरा वृत्तान्त। म पढ्न आतुर छु। कारण, त्यहाँ म नेपाली मौलिक ग्रामीण छायाँ सल्बलाएको देख्छु, आफ्नै भोगाइको एउटा सानो भूगोल पनि भेट्छु। म मात्र होइन, मजस्तै गाउँको चोखो पानी पिएर, स्वच्छ श्वास फेरेर र हरियालीसँग नजर जुधाएर हुर्केका धेरैले मीठो मानेर पढ्नेछन् विवशले लेखेका भुइँमान्छेका कथा।

प्रकाशित: १९ माघ २०७५ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App