coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

चाबहिलमा आज सिन्दूर जात्रा

आइतबार भएको चाबहिल गणेश र भैरवको खट जात्रा। तस्बिर : तेज/काष्ठमण्डप

काठमाडौंको भित्री नगर हनुमानढोका दरवार आसपास रहेको नेवार बस्तीभित्र वर्षैभर विभिन्न चाडपर्व, जात्राहरू हुने गर्छन्। भित्री नगरमा हुने जात्रा पर्वको चर्चा–परिचर्चा हुने गर्छन्। तर, भित्री नगरभन्दा बाहिर हुने जात्रा पर्वको चर्चा भने कमै मात्रामा हुने गरेको छ। हनुमानढोका क्षेत्रभन्दा बाहिर पनि धेरै ठाउँमा नेवारहरूको बस्ती छ। नेवार बस्ती रहेका ठाउँमा विभिन्न जात्रा पर्व मनाइन्छन्। यस्तैमध्येको एक बस्ती हो– चावहिल।

गत कात्तिक पूर्णिमादेखि चाबहिल जात्रामय भइरहेको छ। यहाँका नेवार समुदाय अहिले चाबहिल गणेशको जात्रामा व्यस्त छन्। नेपालभाषामा ल्ह्वंसा गणेद्यः भनिने चन्द्र विनायकको जात्रा चार दिनसम्म चल्छ। गत शुक्रबार पूर्णिमादेखि सुरु भएको जात्रा मार्ग कृष्ण तृतीयासम्म मनाइन्छ।

द्वितीया र तृतीया जात्राको मुख्य दिन रहेको चन्द्र विनायक तथा भैरव जात्रा समन्वय समिति अध्यक्ष शुद्ध डंगोलले बताए। चाबहिल क्षेत्र पर्ने काठमाडाैं महानगरपालिका वडा नं. ७ का अध्यक्ष पनि रहेका डंगोलका अनुसार तृतीयाको दिन सिन्दूर जात्रासहित जात्रा समापन गरिनेछ। जात्रामा चाबहिल गणेश र गणेशको मन्दिरसँगै रहेको भैरव पनि खटमा राखी जात्रा गरिन्छ।

जात्रा व्यवस्थापन समिति संयोजक नवीन गोर्खालीका अनुसार ९ वर्षदेखि स्थानीय तथा सरोकारवालाको सक्रियतामा जात्रा व्यवस्थापन समिति गठन गरिएको छ। उनले जात्रा परापूर्वकालदेखि चल्दै आएको बताए। उनका अनुसार अमर मल्लको पालादेखि नंचाबहिल गणेशको जात्रा चलेको हो। गणेश मन्दिर परिसरमै मन्दिर स्थापनाबारे लेखिएको अमर मल्लको पालाको शिलापत्र पनि रहेको उनले बताए।

‘प्राचीनकालदेखि चल्दै आएको जात्रा बिस्तारै लोप हुने अवस्था आएपछि व्यवस्थापन समिति बनाएर जात्रा मनाइरहेका छौं,’ उनले भने।

समिति बनेपछि जात्रामा अहिले धेरै युवाहरूको सहभागिता बढेको उनको दाबी छ। ‘सोमवार आउनुहोस्, त्यो दिन सिन्दुर जात्रा हुन्छ। यसबेला स्थानीयलगायत धेरै सहभागी हुन्छन्। जात्रा उल्लासमय हुन्छ,’ उनले जात्रामा सहभागी हुन सबैलाई आह्वान गरे।

जात्रा सुरु हुने दिन समितिले चाबहिल नखःको रूपमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी युवापुस्तालाई जात्रामा सहभागी गर्न आकर्षित गरेका थिए।

जात्राको तेस्रो दिन आइतबार गणेश र भैरवको मूर्तिलाई खटमा राखी नगर परिक्रमा गराइएको थियो। नगर परिक्रमाको क्रममा पशुपतिसहित मित्रपार्क, जयबागेश्वरी, इटापाखा, कुटुबुहाल, गंगाहिटी, चाबहिल चोक, चुच्चेपाटी, मैजुबहाल, चारुमति विहार आदि ठाउँका दोबाटोमा पूजा गरिएको थियो। त्यस्तै सिफल चौरमा खटलाई खेलाइएको र जुढाइएको थियो।

संयोजक गोर्खालीका अनुसार पहिला खट नगर परिक्रमा गराउँदा परिक्रमा क्षेत्रभित्र रहेको घर–घरमै गई पूजा गरिन्थ्यो। अहिले व्यवस्थापन समिति आएपछि दोबाटोमा बिसाइ पूजा गरिन्छ। परम्परा अनुसार चाबहिल गणेशसँग सम्बन्धित विभिन्न गुठीका गुठियारका छोरीचेली विवाह गरी पठाइएका जात्रा परिक्रमा क्षेत्रभित्र रहेको घर–घरमै गई पूजा गर्नुपर्छ।

‘खट बोक्न धेरै गाह्रो छ। बोक्नेहरू पनि बिस्तारै कम हुँदै गए। घर–घरमा गई पूजा गर्न गाह्रो भएपछि समितिले दोबाटोमा ल्याई खट बिसाउने र त्यस क्षेत्रको पूजा त्यही गर्ने व्यवस्था मिलाएको हो,’ उनले भने।

जात्रा हुने चाबहिल गणेशको मन्दिर महाभूकम्पले क्षति पु¥याएपछि अहिले जीर्णोद्धार गरिँदैछ। चाबहिल गणेश मन्दिर पशुपति विकास कोषअन्तर्गत पर्छ। त्यसैले मन्दिरको जीर्णोद्धारको जिम्मा पनि कोषले नै लिएको छ।

कोषले एक करोड ४३ लाखको लागतमा मन्दिरको जीर्णोद्धार गर्दैछ। जीर्णोद्धारको लागि मन्दिर भत्काइ मूर्ति रहने स्थानलाई जस्तापाताले बेरिएको थियो। अहिले जात्राको लागि जस्ता निकाली खुला गरिएको छ।

‘जात्रा सकिनासाथ फेरि जीर्णोद्धार सुरु हुन्छ,’ गोखार्लीले भने, ‘खासमा मन्दिरलाई जगमाथिबाट मात्र जीर्णोद्धार गर्ने र यस वर्षको जात्राको लागि एक तलासम्म निर्माण सम्पन्न गर्ने योजना थियो। तर, मन्दिर भत्काउँदा मन्दिरको जग नै नभेटाएपछि फेरि जग बनाउनुपर्ने भएकाले केही ढिला भएको छ। आउँदो जात्राको लागि मन्दिर निर्माण सम्पन्न हुने हाम्रो विश्वास छ।’

प्रकाशित: १० मंसिर २०७५ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App