१७ आश्विन २०७९ सोमबार
अन्य

आँसु पुछ्दै हिँडिन् आमा

असोज पहिलो साताको एक बिहान मोबाइलको घन्टी बज्छ । हलो ! मात्रै के भनेको थिएँ, आफ्नो परिचय दिँदै तेस्र्याउछन प्रश्न, ‘गाउँमा कविता कार्यक्रमको २८ औं श्रृङ्खलामा हामीले तपाइँलाई निम्तो दिन खोजेका हाैं। आउन सक्नु हुन्छ ? सुदूरपश्चिम त निकै टाढा छ त?’

त्यही समय फर्कनु थियो मलाई काठमाडौं अर्थात नैपाल । कुनै कुरा नसोची भनेँ–हुन्छ म आउँछु।

दुईचार दिन पछि फेरि बज्छ फोनको घन्टी । एकपल्ट फेरि गुञ्जिन्छ त्यो आवाज–हेमन्तजी म प्रयाग न्यौपाने बिराटनगरबाट । फेरि म उत्तर फर्काउछु– हुन्छ म आउँछु । त्यही साँझ कवि तथा गाउँमा कविताका सहसंयोजक उमेश लुइटेलको रैबार भेटाउँछु म्यासेन्जरमा– तपाईंलाई स्वागत छ हाम्रो बिराटनगरमा । हाम्रो भेट हुने भो।

बिराटनगरको राजवंशी चोकबाट ७ किमि टाढा छ झोराहाट । सहर नजिकैको एक सुन्दर गाउँ । एकान्त परिवेशमा कराइरहेका चराचुरुङ्गीको आवाज सुन्दा लाग्छ कतै यिनीहरूले पनि भूमिका मागिरहेका छन् कि नाटक खेल्न । वास्तबमै ति चराचुरुङ्गी पनि झोराहाट नाट्य केन्द्रका असली कलाकार हुन । त्यो ठाउँ र नाटकघरको सुन्दरतामा साथ दिइरहेका।

गाउँ होस् या सहर कतै टाढा कुनातिर प्राकृतिक सौन्दर्य अवलोकन गर्दै आनन्द लिनुको मजा छुट्टै छ । चराको चिरबिरसँगै सुनिने जिन्दगीका भाका त्यत्तिकै प्रिय बन्छन् । त्यतै कतै भेटिन्छ जिन्दगीको असली पाटो । एक सुदूर पहाडबाट पदचाप बढाउँदै पुगेको थिएँ २४ घन्टा यात्रा पश्चात बिराटनगरको झोराहाटमा । बसको झ्यालबाट चियाइरहँदा बाटोमा देखिएका दृश्यहरूले लोभ्याएकै थिए । फर्किन लगाएका थिए अतिततिर यात्राका केही घुम्तीहरूले । मेरो बोझिल वर्तमानले सिकाइरहन्छ सधै एक प्रकारको भारी बोक्न । त्यो भारी मानसपटलमा सजिन्छ निकै प्रिय बनेर । जहाँ पत्रपत्र बनेर खप्टिएका हुन्छन् केही अनुभव, केही जिज्ञाषा अनि केही कल्पनाका धर्साहरू । अज्ञात भविष्यको दिशा निर्धारण नै त गर्न कहाँ सकिँदो हो र ? तर पनि जिन्दगीका गोरेटाहरूसँग मितेरी लाउन पक्कै सिकाउँछ यात्राले।

विगतमा गाइबाख्रा चराउँदा हिँडेका उकाली ओराली हुन् या काँधमा झोला भिरेर यात्री बन्दाका गोरेटा या पर्वपर्वादीमा गाउँघरतिर डेउडा खेल्दा चालेका पदचापहरू, तिनै बन्छन् जिन्दगीका घतलाग्दा पाठशाला । कुनै विश्वविद्यालयका आँगनभन्दा कम हुँदैनन अनुभव र अनुभूतिका आँगनहरू । तिनै हुन मेरो जिन्दगीका राजमार्गहरू । आखिर जिन्दगी भन्नु एउटा भोगाइ पनि त हो । जहाँ दुःख, सुख, हाँसो, आँसु, मिलन, बिछोड, कला, सौन्दर्य सबैले बास गर्छन्।

बिराटनगरको राजवंशी चोकमा भेट भयो तिनै न्यौपानेसँग । सिधै हानियौं झोराहाट नाटकघरतिर । जहाँ भेटिए मित्र उमेश लुइटेल । चिया खाजा खाएर पुग्यौ नाटकघरमा जहाँ भेटिए नाट्यकर्मी भाइबहिनीहरू । बल्ल थाहा भयो प्रयाग कवि, निर्देशक अनि कुशल नाट्यकर्मी हुन भनेर । साँझ तारा भाउजुको स्नेहील ब्यबहारले सम्झाउँथ्यो डोटीको उही मेरो घर । जब आमालेझैं स्नेहपूर्वक खाना खान बोलाइन भाउजुले।

दोस्रोदिन कविता वाचन कार्यक्रम । मसँगै कविता वाचन गर्ने कवि थिए – धरानका प्रदीप मेन्याङ्वो, मोरङका चुडामणी नेपाल अकिञ्चन, र झापाकी मायामितु न्यौपाने । दर्शक दीर्घामा भाषाविद् टङ्क न्यौपाने, वरिष्ठ कवि कुन्ता शर्मा, माननीय साबित्रा रेग्मी, प्राज्ञ विवश पोखरेल, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, कविहरू बद्रि भिखारी, सुमन पोखरेल, हेमन यात्री, लोचन रिजाल, देवान किराती, टीका आत्रेय, गोकुल अधिकारी, राज माङ्लाक, सन्तोष थेवे, दिङ्लाली कान्छो, शुभलक्ष्मी लम्साल, नवराज मैनाली, बादलदेवी चाम्लिङ, धिरज राई, विकेश कविन लगायत थिए।

गाउँमा कविता कार्यक्रमबारे देशभरका श्रष्टाहरूलाई थाहा छ जस्तो लाग्छ । कार्यक्रमबारे धेरै भनिरहनु नपर्ला । त्यो एक अविष्मरणीय क्षण थियो मेरा लागि । पहिलो पटक बिराटनगर टेक्ने अवसर पनि यही कार्यक्रमले जुराइदियो । कार्यक्रम पश्चात चिया खाने क्रममा मैले जिज्ञाषा राख्न नपाउँदै नाट्य केन्द्रका अध्यक्ष कवि तथा नाट्यकर्मी भरत गुरागाईले ति भाईबैनीबारे कलम चलाउन सुझाव दिए।  

दोस्रो दिन बिहानै न्यौपानेसँग अनुरोध गरेँ नाटकघरतिर जान । समय निकै कम थियो । नाटकघरमा बसिरहेका भाइ बहिनीसँग छोटो कुराकानी गरेर आइपुगेँ काठमाडौ खाल्डोमा । काठमाडौंमा केही दिनपछि भेट भयो घिमिरे युवराजसँग । मलाई थाहा थिएन युवराजको घर पनि बिराटनगरै हो भन्ने । कुराकानीको सिलसिलामा अर्को राज थाहा भयो । उक्त नाटकघरका योजनाकार रहेछन् उनै घिमिरे । सहयोगी भूमिकामा रहेछन् हालका नाट्य केन्द्रका अध्यक्ष भरत गुरागाई । ग्रामीण परिवेश, पिछडीएको क्षेत्र, शान्त वातावरण, सांस्कृतिक रुपमा मिश्रित समुदाय भएको त्यो ठाउँमा अग्र्यानिक आर्ट गर्न सकिन्छ भनेरै रोजिएको हो उक्त ठाउँ । घिमिरे मार्फतै  आएका हुन अमेरिकी नागरिक ब्रस पार्डेल । नाटकघर बनाउनमा पार्डेलको ठूलो योगदान छ।

भेटका क्रममा युवराजलाई प्रश्न तेस्र्याएँ – ‘ति भाइबहिनीको भविष्यबारे केही सोच्नु भाछ?’

उत्तर आयो – ‘अहिले नै केही सोचेको छैन।’  

केन्द्रका अध्यक्ष गुरागाई पनि चिन्तित देखिन्छन् ति कलाकारको भविष्य बारे । गुरागाईको नेतृत्वमा मञ्चन भइरहेकै छन् बेलाबखतमा नाटक । स्थानीय कलाकारले भूमिका निर्वाह गरिरहेका छन् । त्यहाँका कलाकारहरू पुग्छन् कहिलेकाही नजिकका स्कूलमा र सिकाउँछन् भाइबहिनीलाई नाटक । बिराटनगरको राजवंशी चोकबाट ७ किमि टाढा छ झोराहाट । सहर नजिकैको एक सुन्दर गाउँ । एकान्त परिवेशमा कराइरहेका चराचुरुङ्गीको आवाज सुन्दा लाग्छ कतै यिनीहरूले पनि भूमिका मागिरहेका छन् कि नाटक खेल्न । वास्तबमै ति चराचरुङ्गी पनि झोराहाट नाट्य केन्द्रका असली कलाकार हुन । त्यो ठाउँ र नाटकघरको सुन्दरतामा साथ दिइरहेका । सिकाइ रहेका छन् तिनले पनि जिन्दगीका गीत गुनगुनाउन । उक्त क्षेत्र शान्त र मनमोहक छ । जहाँ बसेर नाटक मञ्चन गरिरहेका छन् केही नाट्यकर्मी भाई बहिनीहरू।

नटकघरका प्राविधिक सुरज माझी पनि त्यतै बस्छन् । कुनै दिन जीवन बरालसँग झोराहाटमा भेट भएको थियो उनको । उनै बरालबाट प्रेरणा पाएर सिकेका हुन लाइट र साउण्ड सिस्टमको काम । सुरजको चाहना बिराटनगरमै जमेर बस्ने छ । उनी भन्छन– ‘सिक्न काठमाडौं जान सकिन्छ । फर्केर यतै आउने हो । नाटकले मात्रै खान पुग्दैन । पार्टटाइम काम अन्य क्षेत्रतिर खोज्छु फुल टाइम यही क्षेत्रमा बिताउने योजना बनाएको छु।

कुराकानीका क्रममा छेवैमा थिइन यशोदा भट्ट र दीक्षा चौधरी । उनीहरू दुबै घरबाटै आउँछन नाटक खेल्न । ति सबै अनुहार चम्किला छन् । जोसिला छन् । जिज्ञाषु छन् । खुलेर आफ्नो कथा भन्न लजाउँछन् सबै । कुनै वियोगान्त नाटकको स्क्रीप्ट जस्तै छ केहीको जीवन।

गुरागाईका अनुसार सुरुवातिका दिनदेखि हालसम्म १२ वटा नाटक मञ्चन भए । जहाँ निर्देशक थिए भरत गुरागाई, प्रयाग न्यौपाने, जीवन बराल, सुदीपजंग कार्की आदि । पछिल्ला दिनमा सयौ जनाको सहयोग प्राप्त भएको बताउँछन् उनी । ७० जना नाट्यकर्मी उत्पादन भैसकेका छन् । कोही वैदेशिक रोजगारीमा गए । कोही बिहे गरेर गए ।
अरू मुलुकमा कला, संस्कृति र साहित्यको क्षेत्रमा राज्यको निकै ठूलो लगानी हुन्छ । यहाँ राज्य चलाउनेहरूलाई छैन कुनै चासो । परेको छैन स्थानीय सरकारको पनि दृष्टि । ब्यक्तिगत तवरले त्यहाँका बिभिन्न दलका राजनीतिकर्मीहरूले सहयोग गरेका छन् । तर दिगो रुपमा नाटक चलाउन र कलाकारको पेशाको सुरक्षाका लागि गर्नु पर्ने हो राज्यले नीति तर्जुमा । १० वर्षका लागि भाडामा लिइएको जमिनमा ०७२ सालमा नाटकघर बने पछि चिनिन थालेको झोराहाटलाई पछिल्लो समयमा गाउँमा कविता कार्यक्रमले अझ चर्चित बनाएको छ । यहाँका कलाकार भाइ बहिनी अधिकांशले १२ कक्षा पास गरेका छन् । नाटकघरको बाहिर बस्ने ठाउँ छ । त्यसका डिजाइनर हुन कुमार आले । त्यतै बसेर आपसमा गफिइरहेका हुन्छन् उनीहरू । उनीहरूको उच्च शिक्षा हासिल गर्ने तीब्र चाहाना छ । नाटक खेलेर दुइचार पैसा कमाउने दिन आउला र ! प्राय यही प्रश्नले राज गर्छ मनमा । कहिलेकाही यही प्रश्नले उदाश तुल्याउछ रे गुरागाईलाई पनि । तर पनि सजिलै ढंगले छुट्ने वाला छैन नाटक मोह  । हिजो आज त सपना पनि नाटक खेलेकै देखिन्छन रे उनीहरु।

भनिन्छ यो धर्ती नाट्यशाला हो, हामी मात्र पात्र । फरक यत्ति हो कसले कुन कोणबाट अभिनय ग¥यो । कुन कुनातिर वियोगले डेरा जमायो । कुन कुनातिर संयोगले डेरा जमायो ।  नाट्य केन्द्रका केही कलाकार भाइ बहिनीको आवाज गुञ्जिरहन्छ कानमा अझै । पाँच कलाकार नाटक घरसँगै  कटेरोमा बस्छन् । कोही खाना पकाउँछन् कोही भाँडा माझ्छन् । आफसे आफ तय हुन्छ कामको तालिका । उनीहरू प्रेमिल वातावरणमा गाइरहेकै छन् जिन्दगीका गीत । आखिर जिन्दगी भन्नु पनि नाटक नै त रहेछ।


अनु श्रेष्ठ

गाउँमा पसल चलाएर गुजारा गरिरहेका छन् उनका आमा बुवा । भाइ र दिदी उनीहरूसँगै बस्छन् । सडक नाटकदेखि मञ्चसम्म बिभिन्न भूमिका निर्वाह गरिसकिन् उनले । ‘सुरुमा आमा बुवालाई मनाउन निकै नै गाह्रो भयो । बीचमा पनि खटपट परि नै रह्यो । बिस्तारै सहज वातावरण बन्दै गयो’, उनले विगत सुनाइन्।  

सधैं जसो चल्दैन नाटक । काम नहुँदा दिक्क लाग्छ । नाटकको नशा यसरी लाग्यो कि अब त्यो क्षेत्र छोड्न सक्दिनन् । बिहेपछि नाटक खेल्न अनुमति नपाउँदा के हुन्छ ? भनी सोध्दा सहज ढंगले भनेकी थिइन – ‘भरसक त्यस्तो अवस्था नआओस् । उस्तै परे श्रीमानलाई नै छोडिदिन्छु।’

नाटकप्रति उनको लगाव कति छ भन्ने सहजै बुझ्न सकिन्छ । नाटकले उनलाई धेरै कुरा सिकाएको छ । कहिलेकाही गाह्रो पनि हुन्छ रे आफ्नो भूमिका निर्वाह गर्न । जीवन बरालले निर्देशन गरेको ‘घरभित्र अर्को घर’ नाटक खेल्दा, डबल भूमिका थियो उनको । एकातिर पहिलेको प्रेमीसँग निर्वाह गर्नु पर्ने भूमिका अर्कोतिर श्रीमानसँगको भूमिका । दर्शकपंत्तिमा थिए आमा बुवा पनि । घरिघरि दृष्टि पथ्र्यो आमा बुवातिर । बेलाबखत ध्यान भड्किन्थ्यो । मनमा प्रश्नहरू उब्जिन्थे रे खै उहाँहरूले के सोच्नु भो होला!

उनी आफुलाई सम्हालिहाल्थिन्।  


निराशा ढुंगेल

कसले राखिदिए यस्तो नाम?

खै न्वारनकै नाम रे, मुस्कुराउँदै भनिन् उनले । विद्यालयमा सरहरूले नि अर्कै नाम राख्न भन्थे रे । उनले मानिन् । अहिले त युनिक लाग्छ यही नाम । झोराहाटबाट गाडीमा आधा घण्टा लाग्छ उनको घर पुग्न । उनी नाटकघरमै बस्छिन्  । घरमा बुवा आमा र हजुरआमा छन् । बुढा बुवा बिरामी पनि छन् । आमा मजदुरी गर्छिन् र परिवार पाल्छिन । कमजोर घरायशी अवस्थाले भावुक बनाउँछ । बेलाबखत घरको याद आउँछ । हेर्दा वा सुन्दा सामान्य लाग्ने भए पनि कुनै कुनै घटना अविष्मरणीय बनिदिन्छन् जिन्दगीमा।

प्रयाग न्यौपानेले निर्देशन गरेको ‘पर्खाल’ नाटक सुरु हुने दिन छोरीको भूमिका हेर्नकै लागि आइपुगेकी थिइन आमा । उनी थिइन रुनु पर्ने भूमिकामा । उनको भूमिका हेर्दै बरबर्ती आँसु झारिरहिन आमाले । आमाले आँसु बगाएको देखेपछि निकै सहज भएछ उनलाई पनि रुन । नाटकको कुनै सम्वाद सुन्नु परेन । पटकथा सम्झिनु परेन । घरिघरि आमाको मुहार हेर्दा पुग्ने भयो । धक खोलेर रोइरहिन उनी।

नाटक सिध्दिने बित्तिकै बाहिर निस्केकी आमाले भेटिनन् उनलाई । लगत्तै अर्को शो सुरु हुनेवाला थियो । आमा भेट्न बाहिर जान पाइनन् उनले पनि । आँसु पुछ्दै हिँडिन रे आमा घरतिर । त्यसपछि टेकेकी छैनन आमाले नाटक घरको आँगन।  


सुनिता कट्टेल

नाटकघरमै बस्ने सुनिताको घरमा बुवा, आमा दिदी र दाइ छन् । केही वर्ष अघि ट्रयाक्टरबाट लडेर खुट्टा भाँचिएका बुवा सक्दैनन् काम गर्न । दिदी र दाइ पढिरहेका छन् । बुवाले मन नगर्दा पनि आमाको सपोर्टले यो क्षेत्रमा प्रवेश गरिन उनी । ‘भरत सर र राम सर स्कुलमा तालिम दिन आउनु भयो । उहाँहरूसँगै सिकेँ केही कुरा । बिस्तारै तानिएकी हुँ यो क्षेत्रमा’, उनले सुनाइन्।

थिएटर बनेको तीन चार महिना पछि प्रवेश गरेकी हुन नाटकमा । यही वर्ष बाह्र कक्षा पास भइन् उनी । अबको शैक्षिक गोरेटो कसरी तय गर्ने भन्ने कुराले पिरोलीरहेको छ उनलाई । नाटकमा रुचि भएकै कारण अरु साथीसँगै पुग्छिन उनी केही बिद्यालयमा । अनि सिकाउँछिन भाइबहिनीहरूलाई नाटक खेल्न । बिद्यार्थीहरूले कानेखुसी गरेर नाटक ! नाटक भनेको सुन्दा निकै खुसी लाग्छ उनलाई । उनी भन्छिन्, ‘आफ्नै जिन्दगीका कथाहरूलाई समेटर स्क्रीप्ट लेख्न मन लाग्छ । तर आफ्नैबारे देखाउन गाह्रो लाग्छ । खै कसरी देखाउनु र आफ्नै भोगाइका पलहरूलाई ।’

उनलाई रमझममा जान मन लाग्दैन । त्यही वतावरणमा बस्न मन छ । पेशा छोड्ने कुराको त कल्पनासम्म पनि गर्न सक्दिनन् । तर सबैको मनमा उब्जिने एउटा साझा प्रश्न छ, यही पेशा मात्र अँगालेर खान लाउन पुग्दैन । खै भोलि कसरी दिने होला निरन्तरता?

प्रकाशित: १ मंसिर २०७५ ०९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App