देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायम छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। पहाडी क्षेत्रका केही ठाउँ र बाँकी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी क्षेत्रमा मौसम सफादेखि आंशिक बदली रहनेछ।
कोशी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँ र बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ, महाशाखाले जनाएको छ। रासस
प्रकाशित: २३ वैशाख २०८२ ०६:४२ मंगलबार