राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालमा भूकम्पबाट मानवीय क्षति नभएको जानकारी दिएको छ।
मङ्गलबार (आज) बिहान ६:५० बजे छिमेकी देश चीनको तिब्बत केन्द्रबिन्दु बनाएर गएको ७.१ म्याग्नीच्यूडको भूकम्पबाट नेपालमा मानवीय क्षति नभएको प्राधिकरणले विज्ञप्तिमार्फत जानकारी दिएको हो।
यद्यपि, उत्तरपूर्वी जिल्लाका केही भवन-संरचना भने भत्किएको प्राधिकरणले जनाएको छ। 'केही संरचनाहरूमा सामान्य क्षति पुगेको खबर प्राप्त भएका छन्। क्षतिको विवरण संकलन भइरहेको छ,' विज्ञप्तिमा भनिएको छ।
तिब्बतमा भने ठूलै भौतिक तथा मानवीय क्षति पुगेको छ। त्यहाँ अहिलेसम्म ९५ भन्दा बढीको मृत्यु भइसकेको जनाइएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार र राहत वितरणमा हरसम्भव जुट्न राज्यका अवयवहरूलाई निर्देशन दिइसकेका छन्।
प्रकाशित: २३ पुस २०८१ १५:२१ मंगलबार