२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष: उपलब्धि, विवाद र विश्व प्रभाव

डोनाल्ड ट्रम्पले सन् २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको शपथ लिएका थिए। उनको पहिलो एक वर्षे कार्यकालले विश्व राजनीति, अर्थतन्त्र र सुरक्षा व्यवस्थामा ठुलो प्रभाव पारेको छ।

ट्रम्पले यो अवधिलाई आधुनिक इतिहासको सबैभन्दा सफल पहिलो वर्ष भनेर वर्णन गरेका छन्। उनको प्रशासनले ३६५ दिनमा ३६५ जित भन्दै विभिन्न क्षेत्रमा प्रभावकारी कदमहरूको लामो सूची सार्वजनिक गरेको छ, जसमा ऊर्जा उत्पादन वृद्धि, द्वन्द्वहरूको समाप्ति र अन्तर्राष्ट्रिय सम्बन्धहरूको पुनर्संरचना प्रमुख छन्। तर ट्रम्पको अन्तर्राष्ट्रिय नीतिको समर्थन दर कमजोर अवस्थामा छ। धेरै अन्तर्राष्ट्रिय सर्वेक्षणहरूमा उनको विदेश नीतिलाई असफल ठानिएको छ। उनको प्राथमिकतालाई विश्व स्थिरताका लागि चुनौतीपूर्ण मानिएको छ। अमेरिकाले अन्तर्राष्ट्रिय मामिलामा अलग पहिचान बनाएको छ, जसले सहयोगी राष्ट्रहरूसँगको सम्बन्धमा तनाव बढाएको छ।

ट्रम्पको दोस्रो कार्यकालको सुरुवातले विश्वव्यापी ध्यान खिचेको थियो। पदभार ग्रहण गरेको छोटो समयमै उनले दुई सयभन्दा धेरै कार्यकारी आदेशहरू जारी गरेका थिए। यी आदेशहरूले विदेश नीति, ऊर्जा र अन्तर्राष्ट्रिय व्यापारमा ठुलो परिवर्तन ल्याए। ट्रम्पले आफ्नो पहिलो वर्षलाई अमेरिका प्राथमिकताको आधारमा विश्वव्यापी समृद्धि भनेका छन्। तर जनमत सर्वेक्षणहरूले यो दाबीलाई चुनौती दिएका छन्। अन्तर्राष्ट्रिय सर्वेक्षणमा ट्रम्पको विदेश नीति सफल नभएर असफल छ भन्नेहरूको संख्या धेरै छ।

पहिलो वर्षमा ट्रम्पले अन्तर्राष्ट्रिय संस्थाहरूबाट अमेरिकालाई अलग्याउने नीति अपनाए, जसले विश्वभर नै असर पारेको छ। उनले विकासशील देशहरूमा जाने स्वास्थ्य, शिक्षा र अन्य जरुरी सहायता घटाए। उनका कारण विश्वव्यापी रूपमा सञ्चालित स्वास्थ्य अभियानमा अमेरिकाको भूमिका कमजोर भएको छ। साथै, ट्रम्पको नीतिको सिकार विपक्षी मात्र होइनन्, क्यानडा, युरोपेली संघ र नेटोजस्ता परम्परागत सहयोगी पनि प्रभावित भएका छन्। यसले विश्व सुरक्षा व्यवस्थामा अनिश्चितता निम्त्याएको छ।

घरेलु नीतिहरूको विश्वव्यापी प्रभाव

ट्रम्पको आप्रवासन नीतिले विश्वव्यापी प्रभाव पारेको छ। अमेरिकी गृह मन्त्रालयका अनुसार सन् २०२५ मा ६ लाखभन्दा बढी व्यक्तिहरूलाई देश निकाला गरियो। यसले मेक्सिको, मध्य अमेरिका र अन्य देशहरूमा आर्थिक तथा सामाजिक अस्थिरता पैदा गरेको छ। आप्रवासीलाई नियन्त्रणमा लिन उनले राष्ट्रिय आपतकाल घोषणा गर्दै सेना पनि तैनाथ गरे। ट्रम्पले अमेरिकामा फेन्टानिल जस्ता लागुऔषध तस्करीलाई आधाभन्दा धेरै घटाएको दाबी गरेका छन्। उनले छिमेकी मेक्सिको र क्यानडासँगको सम्बन्धमा तनाव बढाएका छन्।

हालै अमेरिकाको मिनियापोलिसमा आईसीई अधिकारीले एक महिलालाई गोली हानेर हत्या गरेपछि विवाद थप चर्किएको छ। अहिले पनि त्यहाँ विरोध प्रदर्शन जारी छ। उनको कडा अडानका कारण ल्याटिन अमेरिकी देशहरूबाट हुने आप्रवासन घटे पनि त्यसको प्रभावले युरोप र एसियाका आप्रवासन नीतिहरूमा परिवर्तन ल्याएको छ। ब्रुकिङ्स इन्स्टिच्युटका अनुसार यो नीतिले ५० वर्षपछि पहिलो पटक नकारात्मक नेट माइग्रेसन सिर्जना गरेको छ, जसले विश्वव्यापी श्रम बजारमा अमेरिकाको हिस्सा घटाएको छ।

अर्थतन्त्रमा ट्रम्पले विश्वव्यापी करहरू लगाए, जसले सुरुमा अन्तर्राष्ट्रिय बजारमा तीन खर्बभन्दा धेरै अमेरिकी डलरको गिरावट ल्याएको थियो। तर पछि चीन, युरोपेली संघ र अन्य देशहरूसँग व्यापार सम्झौताहरू भए। यसले ऊर्जा मूल्यहरू घटाएको छ, जसको प्रभावले विश्वव्यापी ऊर्जा बजारमा अमेरिकाको हिस्सा बढाएको छ। जीडीपीमा चार दशमलव तीन प्रतिशत वृद्धि भएको छ। तर यसले विकासशील देशहरूमा व्यापार असन्तुलन बढाएको छ।

अर्थशास्त्रीहरूले यो वृद्धिलाई अपेक्षाभन्दा बढी नभएको भनेका छन्। धेरैले मूल्य नियन्त्रणमा ट्रम्पले पर्याप्त काम गर्न नसकेको ठानेका छन्। गत अप्रिल २ मा लिबरेसन डे घोषणा गर्दै उनले विश्वभर लगाइएका करहरूले सेयर बजारमा ठुलो हलचल मच्चाएका थिए। तर पछि यूटर्न लिएर धेरै देशसँग सम्झौता गरी स्थिरता ल्याउन प्रयास गरे। सोही अनुसार चीनसँग सम्झौता हुँदा कर छुट भयो। त्यसले विश्वव्यापी व्यापार नै प्रभावित गर्‍यो।

ट्रम्पले संघीय खर्च कटौती गर्दा अमेरिकामा धेरैले रोजगार गुमाउनु परेको थियो। उनी तानाशाह बनेको भन्दै अमेरिकाका धेरै सहरमा विरोध प्रदर्शन पनि भएका थिए।

स्वास्थ्य नीतिमा उनले विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई फिर्ता लिए, जसले विश्वव्यापी स्वास्थ्य अभियानहरूमा असर पारेको छ। उनले औषधि मूल्य घटाउन अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सम्झौता गरे, तर स्वास्थ्य विशेषज्ञहरूले यी कदमहरूलाई विज्ञान विरोधी भनेका छन्। यसले विकासशील देशहरूमा औषधि पहुँच घटाउनुका साथै महामारी नियन्त्रणमा चुनौती थपेको छ।

विदेश नीति

ट्रम्पले आफ्नो विदेश नीतिलाई अमेरिका पहिलो भनेर घोषणा गरेका थिए। उनले अमेरिकी स्वार्थका लागि सही र गलतको प्रवाह नगरी त्यस्ता धेरै काम गरेका छन्, जुन सामान्य लाग्दैन। उनले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गरेको घटना विश्वमा नयाँ प्रयोगजस्तै हो। उनले मादुरोलाई अमेरिका लगेर भेनेजुएलामा नयाँ सरकार बनाएका छन्। अमेरिका भेनेजुएलाको तेल नियन्त्रणमा लिन खोज्दै छ।

उनको यस कदमले दक्षिण अमेरिकी राजनीतिमा ठुलो परिवर्तन ल्यायो। अब भेनेजुएलाले तीनदेखि पाँच करोड ब्यारेल तेल अमेरिकालाई हस्तान्तरण गर्ने दाबी उनको छ। उनले विश्व तेल बजारमा अमेरिकाको हिस्सा बढाएर एकाधिकार चलाउन खोजेको स्पष्ट हुन्छ। दोस्रो कार्यकालमा नै उनले इरानका आणविक केन्द्रहरूमा हमला गरेर नष्ट गरेको दाबी समेत गरे। यसले मध्यपूर्वमा तनाव चरम उत्कर्षमा पुगेको थियो। पछिल्लो पटक पनि उनले इरानमा अली खामेनीको सरकार परिवर्तनका लागि बल प्रयोग गर्ने बताएका थिए। तर त्यसमा उनलाई सफलता मिलेको छैन।

उनले विश्वमा आधा दर्जनभन्दा बढी द्वन्द्व समाधान गरेको दाबी समेत गरेका छन्। इजरायल र हमासबिच युद्धविराम गराएर बन्धकहरू मुक्त गराएको कुराको श्रेय पनि उनी आफैं लिने गरेका छन्। उनले रोकेका अन्य चर्चित द्वन्द्वहरूमा गत मेमा नै भएको भारत र पाकिस्तानबिच चार दिन चलेको द्वन्द्व पनि समावेश छ। ट्रम्पले ८ युद्धहरू समाप्त गरेको दाबी गर्दै आएका छन्।

तर युक्रेन र रुसबिचको युद्ध अझै समाप्त भएको छैन। उनी अहिले रुस र चीनलाई देखाएर युरोपलाई तर्साउने नीतिमा हिँडेका छन्। उनले फेरि ग्रीनल्याण्डमाथि अमेरिकी दाबी गरिरहेका छन्। युरोपलाई सुरक्षा कवच दिएको दाबी उनले पटकपटक गर्दै आएका छन्। उनले कर लगाउनेदेखि सैन्य कारबाही गर्नेसम्मको धम्की दिएका थिए। यसले युरोपेली सुरक्षामा अनिश्चितता बढाएको छ।

ट्रम्पको नीतिमा बलिया राष्ट्रहरूसँग झुक्ने प्रवृत्ति स्पष्ट छ। चीनलाई लिएर उनले चुनावमा चर्का नारा लगाएका थिए। तर करपछि चीनले पनि जवाफ दिएसँगै नरम भएका उनी सम्झौतामा पुगे। उनले चीनसँग करमा छुट दिएर जाने कुरामा चासो देखाएका छन्। रुससँगको सम्बन्धमा पनि उनी नरम नै देखिन्छन्। तर भारतमाथि अहिले पनि ५० प्रतिशत अमेरिकी कर लागु छ। उनी भारतीय बजारमा अमेरिकी कृषि उत्पादन बेच्न चाहन्छन्। तर भारत त्यसका लागि तयार नभएका कारण समस्या जारी छ।

रुससँग लड्न अमेरिकाबाहेकका युरोपेली देशले रक्षा खर्च बढाउनुपर्ने भनेर दबाब दिइरहेका छन्। तर अब ग्रीनल्याण्ड किन्ने प्रयासमा उनी कर लगाउने वा सैन्य शक्ति प्रयोग गर्ने पक्षमा नभएको बताउँछन्। कर र सैन्य शक्ति प्रयोगको विकल्पबाट उनी यस्तो अवस्थामा पछि हटेका हुन्, जब डेनमार्क, फ्रान्ससहित अन्य युरोपेली देशले एकसाथ जवाफ दिने धम्की दिए।

साथै, हालै युरोपेली संघले अमेरिकासँगको व्यापार समझौता रद्द गर्ने घोषणा गरेको थियो। त्यसपछि उनी आफ्नो कदमबाट पछि हटेका हुन्। तर भेनेजुएलासहित कमजोर राष्ट्रहरूमा सेना प्रयोग गरेका छन्। भेनेजुएला मात्रै नभएर क्युबा, कोलम्बिया, इरानजस्ता देशमा सेना प्रयोगको धम्की दिने गरेका छन्। ट्रम्पले नेटो सदस्यहरूलाई रक्षा खर्च ५ प्रतिशतमा बढाउन दबाब दिए, जसले नेटोमा तनाव बढाएको छ। ग्रीनल्याण्डको अडानले डेनमार्क र युरोपसँग सम्बन्ध बिगारेको छ। अन्तर्राष्ट्रिय तहमा उनलाई गम्भीर लिनेहरूमा कमी आएको छ। धेरैले यसलाई विश्व स्थिरताका लागि जोखिमपूर्ण ठानेका छन्।

उनले इरानमा प्रदर्शनकारीहरूको दमनमा हस्तक्षेप गर्ने धम्की दिएका थिए। तर तीन हजारभन्दा धेरैले ज्यान गुमाउँदा पनि उनले त्यस्तो गरेनन्। बरु इरानसँग तेल खरिद गर्ने देशमाथि थप कर लगाउने घोषणा गरे। उनको नीतिले मध्यपूर्वमा थप तनाव बढाएको छ। ट्रम्पले इजरायलसँग मिलेर इरान समर्थित धेरै लडाकु समूहमाथि सिधा कारबाही गरेका छन् भने कतिमा सहयोग गरेका छन्।

ट्रम्पले गाजा क्षेत्रमा संयुक्त राष्ट्रसंघ (युएन) को विकल्पका रूपमा चर्चा गरिएको अन्तर्राष्ट्रिय संगठन (गाजा पिस एन्ड रिबिल्डिङ अथोरिटी) स्थापना  गरेका छन्। यसले गाजाको पुनर्निर्माण, सुरक्षा व्यवस्था र शान्ति प्रक्रियालाई अमेरिका तथा इजरायलको नेतृत्वमा सञ्चालन गर्ने लक्ष्य राखेको छ। उनले यो नयाँ संरचनामा सामेल हुने देशहरूबाट कम्तीमा एक अर्ब अमेरिकी डलरको योगदान मागेका छन्, जुन रकम गाजाको पूर्वाधार, स्वास्थ्य, शिक्षा र आवास पुनर्निर्माणमा खर्च हुने बताइएको छ। यो बोर्डले गाजा मात्रै नभएर दुनियाँमा भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि काम गर्ने उदेश्य राखेको छ।

शान्ति बोर्डको गठनपछि ट्रम्पले बोर्ड अहिलेसम्मकै सबैभन्दा प्रतिष्ठित संस्था बन्ने विश्वास व्यक्त गरेका छन्। ‘यसले संयुक्त राष्ट्र संघले गर्नुपर्ने धेरै काम गर्नेछ,’ ट्रम्पले भनेका छन्, ‘र, हामी संयुक्त राष्ट्र संघसँग काम गर्नेछौं। तर शान्ति बोर्ड विशेष हुनेछ। हामी शान्ति प्राप्त गर्नेछौं।’

प्रभाव र भविष्य

ट्रम्पको एक वर्षले अमेरिकालाई अन्तर्राष्ट्रिय मामिलामा अलग बनाएको छ। उसका सहयोगी कम हुँदै गएको स्पष्ट देखिन्छ। एक्लो भए पनि अथाह शक्तिका कारण विश्व राजनीतिमा अनिश्चितता बढाएको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकाललाई अमेरिकाको सुनौलो युग भनेका छन्। तर यो विश्वका लागि पनि हो कि केवल अमेरिकाका लागि समयले बताउनेछ।

ट्रम्पको नीतिले उनका सहयोगीलाई चीनसँग नजिक हुन बाध्य बनाएको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले हालै चीन भ्रमण गरेका थिए। हालै डाभोसमा विश्व आर्थिक मञ्चमा बोल्दै उनले अमेरिकाको कडा आलोचना गरेका थिए। अब अमेरिकाको मनपरी मान्य नहुने उनको भनाइ थियो।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले पनि अमेरिकी नीतिको खुलेरै विरोध जनाए। उनले विधिको शासन हुनुपर्ने भन्दै अमेरिका अलग हिँडेको दाबी गरेका थिए। चीनले पनि जंगलको राज अब मान्य नहुने कुरा स्पष्ट पारेको छ। सो अवसरमा म्याक्रोँले युरोपले चिनियाँ लगानीका लागि थप बाटो खुला गर्नुपर्ने बताएका थिए। कार्नी चीनसँग इलेक्ट्रिक गाडीमा कर छुटलगायतका धेरै सहमति गरेर आएका छन्। निकट दिनमा बेलायतका प्रधानमन्त्री किअर स्टार्मर पनि चीन जाने तयारीमा छन्।

यसअघि पुगेका जापान, दक्षिण कोरिया, अस्ट्रेलियाजस्ता अमेरिकाका निकट सहयोगी देशहरूले चीनसँग सम्बन्ध बनाउन थालेका छन्। चीनसँग लामो दुस्मनी राखेको भारत पनि अमेरिकी नीतिका कारण नजिक हुन खोजिरहेको छ। ट्रम्पको कदमले विकासशील देशहरूमा व्यापार असन्तुलन बढाएको छ। अन्तर्राष्ट्रिय सहायता घटाउँदा अफ्रिका र एसियामा प्रभाव परेको छ, जसले गरिबी र अस्थिरता बढाएको छ। स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनबाट फिर्ताले महामारी नियन्त्रणमा चुनौती थपेको छ। यसले विश्वव्यापी स्वास्थ्य सुरक्षालाई कमजोर बनाएको छ।

ट्रम्पको ग्रीनल्याण्ड नीतिले नेटो र युरोपेली संघसँग तनाव बढाएको छ, जसले विश्व सुरक्षा व्यवस्थामा परिवर्तन ल्याएको छ। भविष्यमा ट्रम्पको नीतिले विश्वव्यापी व्यापार युद्ध बढाउने सम्भावना छ। यसबिच नोबेल शान्ति पुरस्कारमा दाबी गर्ने उनले पुरस्कार नपाएपछि निरन्तर दुखेसो गर्दै आएका छन्।

अमेरिकामा यौन अपराधी जेफ्री एपस्टाइन जोडिएको फाइलका कारण पनि उनको लोकप्रियता घटाएको छ। उनले चुनावमा गरेको वाचा अनुसार फाइलका सबै दस्ताबेजहरू पूर्ण रूपमा सार्वजनिक गर्न सकेका छैनन्। यसरी पहिलो वर्ष ट्रम्पको नीतिलाई विश्वव्यापी रूपमा सन्तोषजनक मानिएको छैन।

तर अमेरिकामा उनले के कति गरेका छन्, त्यसको नतिजा सन् २०२६ मा हुने मिडटर्म चुनावमा स्पष्ट देखिनेछ। मिडटर्म चुनावमा आफ्नो पार्टीले हारेमा आफूविरुद्ध तेस्रो पटक महाभियोग लगाइने चेतावनी पनि दिइसकेका छन्। ट्रम्पको पहिलो वर्षले विश्वलाई नयाँ युगमा धकेलेको छ, तर यसको परिणाम के हुन्छ भन्ने कुरा समयले निर्धारण गर्नेछ। एजेन्सीको सहयोगमा

प्रकाशित: ८ माघ २०८२ १८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App