निर्वाचन आयोगले चैत पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी प्रतिवेदन रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित दल तथा व्यक्तिहरू समेटिएको प्रतिवेदन चैतको पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरिएको आयोगले जनाएको छ।
प्रत्यक्षतर्फ १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ। प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको छ भने नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाल कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार महावीर पुन पनि विजयी भएका छन्।
समानुपातिकतर्फको मतगणना मंगलबार साँझसम्म सक्ने आयोगको तयारी छ। समानुपातिक प्रणालीतर्फ कुल १ करोड ७७ लाख ७११ मत खसेको थियो। समाचार तयार पार्दासम्म करिब १ करोड साढे ५ लाख मत गणना भइसकेको छ।
यदि आजै मतगणना सकिएमा बुधबार (फागुन २७) राजनीतिक दलहरूलाई आफ्नो भागमा परेका समानुपातिक सांसदहरूको सूची पठाउन आयोगले पत्राचार गर्नेछ। प्रतिनिधिसभा निर्वाचनसम्बन्धी कानुनअनुसार दलहरूलाई सूची पठाउन तीन दिनको समय दिनुपर्ने व्यवस्था छ। त्यसअनुसार आयोगले फागुन ३० गतेसम्मको समय दिनेछ। फागुन महिनामा ३० दिन मात्र भएकाले दलहरूले चैत १ गतेसम्म समानुपातिकतर्फ आफ्नो भागमा परेको सांसदहरूको सूची आयोगलाई बुझाउने छन्।
त्यसपछि आयोगले दलहरूले पठाएको सूचीमा कुनै त्रुटि भए–नभएको तथा संविधान र कानुनअनुसारको क्लस्टर मिलेको–नमिलेको अध्ययन गर्नेछ। यदि त्रुटि भेटिएमा सम्बन्धित दललाई सच्याउन दुई दिनको समय दिएर पुनः पत्राचार गरिने आयोगले जनाएको छ।
त्रुटि सच्याएर सूची आएपछि आयोगले कानुनअनुसार सबै प्रक्रिया मिलेको सुनिश्चित गरी छिटोमा चैत ३ गते र ढिलोमा चैत ५ गतेसम्म समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ।
त्यसपछि एक–दुई दिनभित्र अन्तिम प्रतिवेदन तयार गरी राष्ट्रपतिलाई बुझाइने आयोगले जनाएको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार चैतको पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरिएको छ।
प्रकाशित: २६ फाल्गुन २०८२ १७:२४ मंगलबार





