२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

अब मिलेर काम गर्ने बेला आएको छ: राजु पाण्डे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद राजु पाण्डेले देशको परनिर्भरता र सार्वजनिक सेवाको दुरवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षा र स्वास्थ्यमा देखिएको असमानता अन्त्य हुनुपर्ने जोड दिएका हुन्।

देशमा सीमित साधनस्रोत रहेको र सम्पूर्ण उपभोग्य वस्तुहरू आयात गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए। हरेक घरबाट परनिर्भरता हटाउने आवाज उठ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

बेरोजगारी समस्याका कारण युवाहरू खाडी लगायतका मुलुकमा जानुपर्ने बाध्यता अन्त्य गर्न स्वदेशमै रोजगारी सिर्जना र आत्मनिर्भरताको बाटो तय गर्नुपर्ने उनले बताए।

शिक्षा क्षेत्रमा रहेको चरम असमानतालाई लिएर उनले असन्तुष्टि पोखे। शिक्षामा जनताको सहज र सीधै पहुँच हुनुपर्ने भए पनि पहुँचवालाले मात्र राम्रो शिक्षा पाउने अवस्था रहेको उनले सुनाए।

पाण्डेले थपे, ‘केही वर्गका मानिसहरूले राम्रो बोर्डिङ स्कुल र कलेज पढ्न सक्ने, तर भुइँमान्छेले पढ्नै नपाउने अवस्था छ। शिक्षामा रहेको यो विभेदको अन्त्य गरिनुपर्छ।’

निर्वाचनको समयमा राजनीतिक दलहरूबीच सैद्धान्तिक र कार्यक्रमिक प्रतिस्पर्धा भए पनि अब मिलेर काम गर्ने बेला आएको उनले बताए।

फागुन २१ गतेसम्म मात्र दलहरूबीच प्रतिस्पर्धा रहेको स्मरण गराउँदै उनले अब विकास निर्माणमा सबै पार्टी मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: २६ फाल्गुन २०८२ १६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App