शुक्रबार अपरान्हदेखि देशको मौसममा बदली भएसँगै देशभर नै चिसो बढेको छ।
यसबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सावधानी अपनाउन सबैसँग अनुरोध गरेको छ। चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको हो।
शुक्रबार रातिदेखि नै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा निरन्तर हिमपात भएकाे छ। शनिबार काठमाडौँसहितका जिल्लामा बिहानैदेखि घाम देखिएको छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार ठाउँठाउँमा वर्षा र तराईमा शीतलहरकाे डर छ। आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात भएकाे छ।
चिसोबाट बच्न न्यानो कपडा लगाउनुहोस्। तातो झोलिला खानेकुरा खाने गर्नुहोस्, जसले शरीरलाई भित्रबाट न्यानो बनाउँछ। घरमा सावधानीपूर्वक हिटर प्रयोग गर्नुहोस्। झ्याल–ढोका बन्द गर्नुहोस् तर अक्सिजन आउजाउ गर्ने ठाउँ राख्नुहोस्। हल्का व्यायामले पनि शरीरलाई तातो पार्छ। जाडोमा विशेष गरी बच्चा र वृद्धवृद्धाहरूलाई ध्यान दिनुहोस्।
प्रकाशित: १३ पुस २०८१ १२:४६ शनिबार