कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्वर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्। सिरुवा पर्वको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले सिरुवा जस्तो मौलिक पर्वको संरक्षण र सम्वर्द्धन गर्दै सबै जातजाति धर्म संस्कृतिको पहिचान स्थापित गर्न प्रतिबद्ध रहेको बताएका हुन्।
नेपालका विभिन्न समुदायले महत्त्वपूर्ण चाडको रूपमा मनाउँदै आएको सिरुवा पर्वले एकआपसमा एकतामा बाँध्दै समन्वय, सहकार्यका माध्यमबाट अघि बढ्न प्रेरित गर्ने मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन्। कोशी प्रदेश एवं देशविदेशमा रहेका नागरिकहरूमा शुभकामना दिँदै कार्कीले कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा यस्ता मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरूलाई समेत आकर्षित गर्ने बताएका छन्।
नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले यसमा हुर्किएको सिरुवा पर्वले सबैलाई सत्मार्गमा हिँड्न प्रेरणा दिने समेत बताएका छन्। मुख्यमन्त्री कार्कीले धर्मसंस्कृति, रितिरिवाज, भाषा, परम्परा र संस्कारलाई जगेर्ना गर्दै अगाडि बढ्न सकेमा मात्र 'समृद्ध नेपाल सुखी नेपाली'को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने समेत उल्लेख गरेका छन्।
नेपालको तराईका विभिन्न जिल्लामा बस्ने समुदायले सिरुवा पर्वलाई विशेष पर्वको रूपमा मनाउने गरेका छन्। सिरुवा पर्वको अवसरमा प्रदेश सरकारले आज कोशी प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
प्रकाशित: २ वैशाख २०८२ ०७:४० मंगलबार





