१ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

‘पर्सनल स्पेस’

– शोभा ज्ञवाली
‘नागरिक परिवार’को समाज स्तम्भमा म परिवार र समाजभित्रका सूक्ष्म तर परिवार र समाजमा ‘इम्प्याक्ट’ पार्ने विषयमा छलफल गर्ने जमर्को गर्छु । तपाईं हाम्रै घरपरिवारमा तथा समाजमा भइरहेका विषय पस्कन चाहन्छु । समाजमा दबिएर बसेका ‘इस्यू’ लाई बाहिर ल्याउन खोज्नु मेरो उद्देश्य हो । घरपरिवारमा बहसमा ल्याउनुपर्ने धेरै विषय हुन्छन् । तर, एउटा सानो लेखमार्फत सबै विषय समेट्न नसकिने हुनाले कुनै एउटा विषय समातेर तपाईंहामीले भोगेका तथा महसुस गरेका विषयमा छलफल चलाउनु मेरो ध्येय हो ।
परिवारभित्र सबैको स्थान उत्तिकै महत्वपूर्ण हुन्छ । आमाबुबा, छोराछोरी, बुहारी, दाजुभाइ, दिदीबहिनी सबैका बीचमा आत्मीयता र घनिष्ठता भयो भने र एकअर्काका समस्या बुझ्न सकियो भने मात्र परिवार सुखी हुन्छ ।
मैले हालसालै भारतमा भएको एउटा सेमिनारमा भाग लिने अवसर पाएकी थिएँ । सेमिनारमा महिला र पुरुष दुवै सहभागी थिए । सेमिनारका क्रममा हुने टी तथा कफी ब्रेकमा पुरुषहरूबीच चलेको गफले मेरो ध्यान तान्यो । उनीहरू आ–आफ्ना श्रीमतीका गफ गरिरहेका थिए । आफ्नो ‘प्रोफेसन’मा सफलता हासिल गरेका पुरुषहरू पीडित छौँ भन्दै गफिइरहेका थिए । उनीहरू श्रीमतीले अनावश्यक रूपमा आफूहरूलाई निगरानी गर्दा समस्या भइरहेको भन्दै बात मारिरहेका थिए । जसरी छोरीलाई ‘तिमी कमजोर छौ, तिमीलाई कसैको साथ चाहिन्छ’ भनेर सानैदेखि कमजोर बनाउने गरिन्छ, त्यसै गरी छोराहरूलाई सानैदेखि एकदमै बहादुर, एक्लै केही गर्न सक्ने, श्रीमती तथा बच्चाहरूको पालनपोषणलगायत सम्पूर्ण जिम्मेवार छोराले बोक्नुपर्छ भनेर ‘ग्रुमिङ’ गरिएको हुन्छ । छोरा मान्छे साह्रै शक्तिशाली हुन्छ भनेर हुर्काउने गरेका कारण पुरुषहरू पनि पीडित हुने गरेको उनीहरूको निचोड थियो । घरपरिवार, श्रीमती, बालबच्चा, आमाबाउ, समाज आदि भन्दाभन्दै आफ्ना लागि केही गर्ने टाइम नै हुँदैन भन्दै उनीहरू गुनासो गरिरहेका थिए । उनीहरूको छलफल नजिकैको टेबलबाट सुनेका सेमिनारमा सहभागी हामी महिला उनीहरूले गरेको छलफलको विषयलाई लिएर सोच्न बाध्य भयौँ । कतै हामीले पनि श्रीमान्लाई बढी नै चियोचर्चो त गर्ने गरेका छैनौँ भन्दै सोच्न बाध्य बनायो । नेपाल र भारतका बीच धेरै कुरा समान भएकाले उताका पुरुषले भोगेका जस्ता समस्या हाम्रो समाजमा पनि कतिले भोगेका होलान् ? भन्ने जिज्ञासा मनमा उठ्यो ।
छोराको बिहेपछि आमाबालाई ‘छोरा अब बुहारीको भइसक्यो’ भन्ने लाग्छ । बिहेअघि र बिहेपछि कामकाजबाट घर फर्किने समय एकैखालको भए पनि आमाबाउलाई बिहे गरेपछि छोराले आफूहरूलाई भन्दा श्रीमतीलाई बढी ख्याल गरे जस्तो लाग्छ । कामबाट घर फर्किन पनि ढिला गरेजस्तो लाग्छ । बिहेपछि जो कोहीले पनि आफ्नी श्रीमतीको ख्याल त गर्नैपर्छ । सँगै जीवन बिताउन राजी भएर दम्पती भएकाबीच सम्बन्ध सुमधुर हुनैपर्छ । श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान्लाई पर्याप्त टाइम दिनुपर्छ र रेखदेख गर्नुपर्छ । यसका साथै आमाबाप्रति छोराछोरीले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ ।
सबैलाई चाहिन्छ ‘पर्सनल स्पेस’
तपाईं श्रीमान् अफिस वा बाहिर कतै गएका बेला कत्तिको फोन गर्नुहुन्छ ? श्रीमान्को व्यावसायिक सम्बन्धलाई लिएर कत्तिको चियोचर्चो गर्नुहुन्छ ? श्रीमान्सँग कुनै पार्टी वा समारोहमा जाँदा अर्को महिलाले तपाईंको श्रीमान्सँग गफ गरिन्, ‘हग’ गरिन्, हातमा तानेर बोलाइन् भने तपाईंलाई कस्तो ‘फिल’ हुन्छ ? यदि तपाईं कुनै पार्टी तथा औपचारिक कार्यक्रममा श्रीमान्सँग हुनुहुन्छ र तपाईंको श्रीमान्ले कुनै महिलासँग केही समय गफ गरेर बिताउनुपर्ने परिस्थिति बन्यो भने त्यसबेला तपाईंको ‘रियाक्सन’ कस्तो हुन्छ ? माथिका प्रश्नहरूमा तपाईं सकारात्मक हुन सक्नुभयो भने मात्र तपाईं र तपाईंको श्रीमान्का बीच समझदारी र विश्वास प्रगाढ रहेको पुष्टि हुन्छ । कतिपयका श्रीमती श्रीमान् अफिस वा काममा भएका बेला पनि तारन्तार फोन गरेर निगरानी गरिरहेका हुन्छन् । पार्टी तथा कुनै कार्यक्रममा अरू महिलासँग श्रीमान्ले गफ गरे भने पनि शंका गर्न थाल्छन् । चिटिक्क परेर अफिस जाँदा पनि शंका गर्ने हुन्छन् । जसले गर्दा श्रीमान् र श्रीमतीका बीच असमझदारी बढाउँछ, अविश्वास पैदा गर्छ र सम्बन्धमा विविध खाले समस्या सिर्जना हुन्छ । श्रीमान् र श्रीमतीका बीचमा पनि ‘पर्सनल स्पेस’ चाहिन्छ । हरेक कुरामा निगरानी गर्ने र शंका मात्रै गर्न थाल्ने हो भने सम्बन्ध अघि बढ्न सक्दैन । अफिस गएका बेला वा काम विशेषले घरबाहिर भएका बेलामा पनि नियन्त्रण गर्न खोज्ने श्रीमतीले श्रीमान्को पर्सनल स्पेस खुम्च्याइरहेकी हुन्छिन् । श्रीमान्को अर्कै महिलासँग ‘अफेयर’ छ, नराम्रा बानीहरू छन् र सँगै बस्न सकिन्न भन्ने लाग्छ भने सम्बन्ध टुंग्याए भइहाल्यो नि !
घरपरिवार, बालबच्चा, श्रीमती सबैको जिम्मेवारी वहन गर्ने पुरुषले उनीहरूको ‘पर्सनल स्पेस’ चाहिँ उपयोग गर्नै हुँदैन भन्ने होइन । साथीभाइसँग बसेर एक÷दुई पेग मदिरा पिएकै निहुँमा, अफिसबाट घर ढिला आयो भनेर वा फोन उठाएन भनेर श्रीमान्लाई झर्कोफर्को गर्ने श्रीमतीले कतै श्रीमान्लाई आफूबाट टाढा त धकेलिरहेकी हुन्न ?  ‘पर्सनल स्पेस’ को उपयोग गर्ने अवसर नै नपाउने हो भने त्यसले सम्बन्धलाई कमजोर बनाउँदै लैजान्छ । त्यसैले व्यक्तिगत चाहना र इच्छाहरूलाई बन्देज लगाउने भन्दा पनि एकापसमा सल्लाह गरेर कसरी दुवै जना सहभागी भएर ती चाहना र इच्छालाई पूरा गर्ने भन्नेतिर ध्यान दिनुपर्छ ।
व्यावसायिक जीवनका सम्बन्धलाई लिएर शंका–उपशंका गर्ने र कसैसँग मीठो बोलेकै निहुँमा घर झगडा हुने स्थिति बन्यो भने त्यसले परिवारलाई छिन्नभिन्न बनाउँछ । स–साना कुरामा पनि ‘कन्ट्रोल’ गर्ने गरियो भने श्रीमान्ले ढाँट्ने र छल्ने अवस्था सिर्जना हुन्छ । कामकाजका सिलसिलामा भएका गतिविधि र सम्बन्धका बरेमा श्रीमान्–श्रीमतीका बीच खुलेर कुराकानी हुन सक्यो भने त्यसले सम्बन्धलाई थप प्रगाढ बनाउँछ ।

 

प्रकाशित: १८ वैशाख २०७४ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App