सिड्नीस्थित बन्डाई बिचमा एक बन्दुकधारी आक्रमणकारीलाई निःशस्त्र पारेर कैयौंको ज्यान जोगाउन सफल अहमद अल–अहमदको विश्वभर प्रशंसा भइरहेको छ। एक यहुदी पर्वका अवसरमा आयोजित कार्यक्रममा दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए र अहमदले ज्यानको बाजी थापेर एकलाई समातेर बन्दुक खोसेका थिए।
सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको भिडियोमा पार्किङ क्षेत्रमा पछाडिबाट सशस्त्र आक्रमणकारीतर्फ गएका उनले आक्रमणकारीलाई समातेर भुइँमा लडाउँदै बन्दुक खोसेर निष्क्रिय पारेको देखिन्छ। भिडियो फुटेजमा निःशस्त्र बनेका ती आक्रमणकारी पछि हट्दै गरेको र अहमदले हतियार जमिनमा राखेको देखिन्छ। सिड्नी निवासी ४३ वर्षीय अहमदले एक फलफूल पसल सञ्चालक हुन्।
आइतबार आयोजित यहुदी पर्वको कार्यक्रममा गोलीकाण्ड भएको थियो। प्रारम्भिक विवरणअनुसार उक्त घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। एक संदिग्ध आक्रमणकारी घटनास्थलमै मारिएका छन् भने अर्का एक गम्भीर अवस्थामा रहेको अस्ट्रेलियका समाचार माध्यमहरूले जनाएका छन्। अहमदका काका–भाइ मुस्तफाका अनुसार घटनाका क्रममा अहमदलाई चार/पाँच वटा गोली लागेको थियो।
मुस्तफाले अहमदलाई हतियार चलाउने कुनै अनुभव नभएको र उनको अवस्था स्थिर रहेको बताएका छन्। ‘उहाँ अस्पतालमा हुनुहुन्छ, भित्र के–कस्तो अवस्था छ ठ्याक्कै थाहा छैन,’ मुस्तफाले भने, ‘हामी उहाँ ठिकठाक हुनुहुन्छ भन्ने आशा गर्छौं। उहाँ नायक बन्नुभएको छ।’
मुस्तफाले अल–अरबी टिभीसँग पनि पुष्टि गरेअनुसार अहमद सिरियाको इदलिब सहरका मूल निवासी मुस्लिम हुन्। उनले घटनापछि अहमदसँग कुरा गरेको र अहमदले ‘सर्वशक्तिमान् अल्लाहले साहस दिएको’ भनेको बताए।
सिड्नीको समुद्री तट बोन्डीमा आयोजित यहुदी कार्यक्रमका लागि सयौं मानिस जम्मा भएका बेला उक्त सामूहिक गोलीकाण्ड भएको थियो। अस्ट्रलियाका राजनीतिक दलका नेताहरूले अहमदको साहसिक कदमको प्रशंसा गरेका छन्।
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका प्रिमियर (सरकार प्रमुख) क्रिस मिन्सले यो घटनालाई ‘अहिलेसम्म आफूले देखेमध्येको सबैभन्दा अविश्वसनीय’ भनेर टिप्पणी गरेका छन्। आफ्नै ज्यान जोखिममा राखेर अन्य सर्वसाधारणमाथि अन्धाधुन्ध गोली चलाइरहेका बन्दुकधारीतर्फ एक्लै गएर समातेर निः शस्त्र पारेका उनलाई ‘नायक’को संज्ञा दिए। ‘उहाँ साँच्चिकै नायक हुनुहुन्छ र उहाँको बहादुरीका कारण आज धेरै मानिसहरू जीवित छन् भन्नेमा मलाई कुनै शंका छैन,’ उनले भने।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले पनि आक्रमणका क्रममा देखिएको नागरिक साहसको प्रशंसा गरे। ‘उनी अस्ट्रेलियालीहरूका नायक हुन् र उनको बहादुरीले धेरैको ज्यान जोगाएको छ,’ अल्बानेजले भनेका छन्।
सिड्नी मोर्निङ हेराल्डले अहमदलाई ‘धेरैको ज्यान जोगाउने नायक’ भनेर सम्बोधन गरेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि उनका कदमलाई निः स्वार्थ र साहसी भन्दै प्रशंसा गरेका छन्। अहमदको कार्यले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा पाएको छ। अमेरिकाको न्युयोर्क सिटीका कम्प्ट्रोलर ब्राड ल्यान्डरले अल–अहमदको ‘असाधारण साहस’को प्रशंसा गरेका छन्। ‘४३ वर्षका, दुई सन्तानका पिता, मुस्लिम व्यक्ति, जसले पर्व मनाइरहेका आफ्ना छिमेकीहरूलाई जोगाउन साहसपूर्वक आफ्नै ज्यान जोखिममा राख्नुभयो। उहाँको उदाहरणबाट गहिरो प्रेरणा पाएको छु,’ ल्यान्डरले सामाजिक सञ्जालमा लेखेका छन्।
ह्वाइट हाउसमा आयोजित क्रिसमस स्वागत समारोहमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि अहमदको प्रशंसा गरे। उनले अहमदप्रति ‘गहिरो सम्मान’ रहेको बताए। ‘अहमद वास्तवमै अत्यन्तै साहसी व्यक्ति हुनुहुन्छ, जसले सिधै अगाडि बढेर एक बन्दुकधारीमाथि जाइलाग्नुभयो र धेरैको ज्यान जोगाउनुभयो,’ ट्रम्पले भने।
अस्ट्रेलियाली प्रहरीका अनुसार घटनामा संलग्न दुई बन्दुकधारी बाबु–छोरा थिए, जसको उमेर क्रमशः ५० र २४ वर्ष हो। स्थानीय सञ्चारमाध्यमले बाबुको नाम साजिद अक्रम र छोराको नाम नविद अक्रम रहेको जनाएका छन्।
साजिद अक्रमको घटनास्थलमै मृत्यु भएको थियो भने नविद अक्रम गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्। उपचारत अहमदको सहयोगका लागि अभियान सुरु गरिएको छ। एक अमेरिकी अर्बपतिले अहमदलाई ‘साहसी नायक’ भन्दै ६५ हजार अमेरिकी डलर दान गरेका छन्।
पर्सिङ स्क्वायर क्यापिटल म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत विलियम एकम्यानले अहमदका लागि खोलिएको ‘गो–फन्ड–मी’ अभियानमा सबैभन्दा धेरै रकम उपलब्ध गराएका हुन्। उक्त अभियानले सोमबारसम्म १० लाख डलरभन्दा बढी रकम संकलन गरिसकेको छ।
(अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशित: १ पुस २०८२ ०९:५५ मंगलबार





